युवा स्वरोजगार कर्जा युवाकै पहुँच वाहिर, आवश्यक पर्नेले भन्दा पहुँचवालाले पाएको गुनासो

काठमाडौं, ३१ जेठ । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या बढ्दो छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार हालसम्ममा १ लाख ४६ हजार २४२ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

हालसम्ममा २ खर्ब ५६ अर्ब ३६ करोड ९९ लाख ५६ हजार रुपैयाँ कर्जा उपयोग गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यो तथ्यांक बैशाख मसान्तसम्मको हो ।

२०७५ सालदेखि सरकारले सुरु गरेको सहुलियतपूर्ण कर्जाको लागि २०७९ बैशाख मसान्तसम्म ब्याज अनुदानमा १५ अर्ब ७३ करोड ४१ लाख रुपैयाँ बढी खर्च भएको छ ।

अर्थ मन्त्रालयले ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जाको कार्यविधि तयार गरी राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरिहेका छन् ।

बिनाधितो ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजमा करोडौं रुपैयाँसम्म कर्जा पाउने भएपछि आवश्यकता हुनेले भन्दा बढी निजी स्वार्थका साथ खोलिएका ठूला व्यवसायिक फार्महरुले मात्र यस्तो कर्जा बढी उपयोग गरेको पाइन्छ ।

यस्तो कर्जा उपयोग गर्ने १ लाख ४६ हजार ऋणीमध्ये व्यवसायिक ठूला फार्मका २ हजार ३४ जनाले १ करोड रुपैयाँभन्दा बढी ऋणी उपयोग गरेका छन् ।

सहुलियतपूर्ण कर्जाकार्यविधि अनुसार हाल बिना धितो र धितो सहित व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय शिक्षा, भूकम्प पिडित निजी आवास निर्माण, कपडा उद्योग र सिटीइभिटी तालिमको आधारमा दिने गरी १० वटा शिर्षकमा कर्जा प्रवाह भइरहेको छ ।

यो अन्तर्गत युवा लक्षित ‘शिक्षित युवा स्वरोजगार कर्जा’, ‘विदेशबाट फर्केका युवा परियोजना कर्जा’, छन्। यी कर्जा नै युवाहरुको पहुँच बाहिर रहेको छ ।

विदेशबाट फर्केका युवा परियोजना कर्जा’, हालसम्म ९५५ जनाले पाएका छन् भने युवा स्वरोजगार कर्जा २७ जनाले पाएका छन् ।

युवावर्गलाई आकर्षित गर्न ल्याइएको सहुलियत कर्जा कार्यक्रममा युवा वर्गको सहभागिता नगन्य मात्रामा भेटिएको छ।

स्वदेशमै लगानी गरी जीविकोपार्जन गर्न चाहने युवा वर्गलाई लक्षित गरी सरकारले ५ प्रतिशत ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको थियो।

तर, यो सुविधाको उपभोग गर्ने युवा जमातको संख्या भने निक्कै कम छ। शिक्षित युवा स्वारोजगार शीर्षकमा ब्याज अनुदानमा सहुलियत कर्जामा लिनका लागि तोकिएको मापदण्ड पूरा गर्न नसक्दा युवाले कर्जा नलिन सकेको सरोकारवाला बताउँछन् ।

उक्त कर्जा लिनको लागि सक्कल प्रमाणपत्र नै बैंकमा धितो राख्नु पर्ने व्यवस्था रहेको छ ।

युवाहरुलाई भविष्यका लागि प्रगतिमा अघि बढ्न अन्य निकायमा आफ्नो शैक्षिक प्रमाणपत्रको सक्कल प्रमाणपत्रको आवश्यकता धेरै पर्ने हुँदा नै उनिहरु यसतर्फ आर्कषित भएको हुनसक्ने देखिन्छ ।

शैक्षिक प्रमाण पत्र धितो कर्जा प्रमाण पत्र पेश गर्ने वित्तिकै सहजै पाउन सकिन्छ भन्ने होइन । यसका लागि पनि निश्चित मापदण्ड पुरा गरेको हुनुपर्छ । सबैभन्दा पहिले ‘प्रोजेक्ट डिजाइन’ पेश गर्नुपर्छ ।

उक्त कार्ययोजनाप्रति बैंक सन्तुष्ट भएमा मात्रै आवश्यक प्रक्रिया अघि बढ्छ । त्यसैले सोचिए जस्तो सहज रुपमा कर्जा पाउन सकिने छैन् । किन भने बैंकले कर्जा प्रवाह गर्दा जोखिम पक्षलाई राम्रोसँग अध्ययन गर्छ । प्रोजेक्ट चित्त बुझ्दो हुनुपर्छ । अनि, मात्र कर्जा पाउन सक्ने सम्भावना रहन्छ ।

यो ऋण सबैले पाउन कठिन देखिन्छ । प्रमाणपत्र मात्र होइन, ऋण खर्च गर्ने योजना पनि पेश गर्नुपर्छ जुन अधिकांशसँग हुँदैन ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋण उठाउने जिम्मा आफै लिनु भन्छ, बैंकले तपाईंको ऋण तिर्ने क्षमता हेर्छ । खासमा रु। २५ लाखसम्म भनेपनिऋण लिनेको क्षमता ३ लाख छ भने पाउने त्यत्तिनै हो ।

प्रमाणपत्र धितो राखेर लिइने कर्जा उपयोग गर्न कार्यविधिले निश्चित क्षेत्र छुट्याएको छ। आफूलाई मनलागी योजना बनाए कर्जा पाइँदैन। बैक तथा वित्तीय संस्थाले पनि कार्यविधिले तोकेका व्यवसायको लागि मात्रै कर्जा प्रवाह गर्छन्।

राजनीतिक पहुँच र आफन्तवादको सहयोग पाएका सीमित वर्गले मात्रै यस्ता युवा लक्षित ऋण कार्यक्रम उपभोग गर्दै आएको आरोप लाग्दै आएको छ ।

रोजगारका लागि विदेशीने नागरिकलाई स्वदेशमै रोक्नुका साथै उद्यमशिलता विकास गर्ने उद्देश्यले सरकारले विदेशबाट फर्केका युवा कर्जा कार्यक्रम ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here