तरकारी र फलफूलमा हानिकारक विषादीको प्रयोग, जोखिम के हुन्छ ?

काठमाडौं । फलफूल र तरकारीमा विषादीको प्रयोगले बेलोबला चर्चा पाइरहन्छ ।

आयातित मात्रै नभई नेपालभित्रै उत्पादन हुने तरकारी र फलफूलमा पनि विभिन्न विषादीका अवशेष हानिकारक तहमा रहेका विभिन्न अध्ययनहरूले देखाएका छन् ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालाले देशका विभिन्न भागमा गरेको परीक्षणमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको मात्रा भेटिएको जनाएका छन् ।

केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी, बुटवल, अत्तरिय, नेपालगञ्ज, झापा र सर्लाही कार्यालयमार्फत स्थानीय बजारको तरकारी र फलफूलमा विषादी परीक्षण गरेको थियो ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले भने अन्य मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा भैरहवा, नेपालगञ्ज, विराटनगर, तौलिहवा, सर्लाही र धनुषा लगायतका ७ वटा नाकामा विषादी परीक्षण गरेको थियो ।

नेपाली बजारमा भारत लगायतका मुलुकबाट आयात हुने आँपमा स्वास्थ्यलाई हानिकारक आर्सनिक हेभीमेटल राख्ने गरेको पाइएको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा आँप आयात हुने प्रमुख ७ नाकामा गरेको विषादी परीक्षणमा विषादीको मात्रा पाइएको हो ।

आँपमा यस्तो विषादीको अवशेष ०.७५ पीपीएम एमजी प्रतिकिलो पाइएको परीक्षणले देखाएको छ ।

प्रयोगशालाले फलफूल तथा तरकारीमा गरेको २२ हजार ७७५ नमुना परीक्षणमा २०३ वटा नमुनामा विषादीको मात्रा भेटिएको छ ।

जसमध्ये १४१ वटा नतिजा केही समय राखेर खान मिल्ने अवस्थाको थियो भने ६२ वटा नमुनामा विषादीको मात्रा अत्यधिक पाइएको थियो ।

केन्द्रकाअनुसार विषादी रुकावट प्रतिशत ३५ भन्दा तल भए ती वस्तु उपभोग्य मानिन्छन् । यस्तै ३५ देखि ४५ भए ती वस्तु केही समय पर्खेर उपभोग गर्नु पर्छ भने विषादीको मात्रा ४५ भन्दा बढी भए त्यसलाई नष्ट गर्नुपर्ने मानिन्छ ।

अफ सिजनको काउली र बन्दामा मापदण्डभन्दा बढी मात्रामा विषादी पाइएकोले त्यो लटको नै नष्ट गरिएको केन्द्रले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here