काठमाडौं । वाणिज्य बैंकहरु औसतमा खराब कर्जा (नन प्रर्फमिङ लोन) घटाउन सफल भएका छन् । गत आर्थिक वर्षमा असारमसान्तमा वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात १.१५ प्रतिशत रहेको छ ।
सबैभन्दा धेरै खरब कर्जा हुनेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको २ प्रतिशत रहेको छ । गत वर्ष कर्जा घटाउन सफल पनि सोही बैंक भएको छ । यस बैंकले एक वर्षमा ३ बाट १ प्रतिशतले घटाएको छ ।
चौथो त्रैमासिकको वित्तीय विवरणले बैंकहरु खराब कर्जा नियन्त्रणमा केन्द्रित भएको देखाएको छ । कोरोनाको प्रभाव लामो समय पर्ने र त्यसको लागि बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई समेत हानि गर्ने अनुमान थियो।
सोही कारण नेपाल राष्ट्र बैंकले लगातार दुई वर्षको मौद्रिक नीतिमा कोराना प्रभावितहरुलाई पुनर्कर्जा, कर्जाको पुनर्संरचनाजस्ता सुविधाहरु प्रदान गरेको थियो। तर चालू आर्थिक वर्षको मौद्रिक नीतिले भने त्यसलाई हटाइदिएको छ।
नेपाल बैंकमा १.९० प्रतिशत खराब कर्जा अनुपात छ । त्यस्तै अर्को सरकारी बैंक कृषि विकास बैंकको खराब कर्जा १.६८ प्रतिशत छ।
नेपाल एसबिआई बैंकको खराब कर्जा अनुपात सबैभन्दा थोरै ०.१५ प्रतिशत रहेको छ । एनसीसी बैंकको खराब कर्जा १.९३ प्रतिशत रहेको छ । गत वर्षमा सबैभन्दा धेरै नबिल बैंकको ०.७ प्रतिशतले खराब कर्जा बढेको छ ।
यसैगरी, कृषि विकास बैंक,बैंक अफ काठमान्डू,सिभिल बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन बैंक, ग्लोबल आइएमई बैंक,नबिल बैंक,नेपाल बैंक,इन्भेष्टमेन्ट बैंक,एनएमबी बैंक,प्राइम कमर्सियल बैंक,प्रभु, सिद्धार्थ र सनराइज बैंकको खराब कर्जा १ प्रतिशत बढी रहेको छ ।
एभरेष्टको ०.२४, हिमालयनको ०.७७, कुमारीको ०.९६, लक्ष्मी ०.८९, माछापुच्छ्रे ०.८४,मेगा ०.७४, एनआइसी ०.४९, सानिमा ०.३५ र स्ट्याण्डर्ड चाटर्ड ०.५९ प्रतिशत कर्जा खराब रहेको बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणहरुले देखाउँछ ।
असारमसान्तसम्म आइपुग्दा बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६९ अर्ब २८ करोड ३० लाख ५१ हजार छ । प्रति बैंक औषतमा १ खर्ब ६० अर्ब ३५ लाख ७० हजार रुपैयाँ बराबरको रहेको छ ।
यस आधारमा वाणिज्य बैंकहरुमा ४७ अर्ब ९४ करोड ६७ लाख रुपैयाँ बराबरको खराब कर्जा रहेको देखिन्छ । बैंकले लगानी गरेको रकम ऋणिले तिर्न नसक्ने अवस्थालाई खराब कर्जामा गणना गरिन्छ । गत वर्षमात्र बैंकहरुले साढे ५ खर्ब रुपैयाँ विस्तार गरेका थिए ।
कुनै बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा कम छ भने त्यसलाई सामान्य मानिन्छ भने त्योभन्दा धेरै भए बैंक तथा वित्तीय संस्था नै संकटमा पर्नसक्ने जोखिम रहने बताइन्छ ।
वित्तीय संस्थाको लगानी कति जोखिममा छ भन्ने जानकारीका लागि त्यो संस्थाको खराब कर्जा कति छ भनेर हेरिन्छ ।





















