नेपालमा पहिलो पटक आमाको दूध राख्न मिल्ने ‘ ह्युमन मिल्क बैंक’ सञ्चालन

तस्बिर: युनिसेफ

काठमाडौं, ३ भदौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा वृहत्त स्तनपान व्यवस्थापन केन्द्र (ह्युमन मिल्क बैंक) सञ्चालनमा आएको छ ।

अस्पतालको ६३ औं वार्षिकोत्वसको अवसरमा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले वृहत्त स्तनपान व्यवस्थापन केन्द्र उद्घाटन गरेकी हुन् । यो नै नेपालको पहिलो (ह्युमन मिल्क बैंक) हो ।

मिल्क बैंकको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ह्युमन मिल्क बैंकले नवजात शिशुको मृत्युदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

नेपाल सरकार र युनिसेफको सहयोगमा सञ्चालनमा ल्याइएको मिल्क बैंकबाट मासिक एक हजार शिशु लाभान्वित हुनसक्ने अस्पतालले जनाएको छ ।

बैंकले बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका लागि समय नपुगि जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउँनेछ।

आमाहरूले दान गर्ने दूध सुरक्षितरूपमा राखेर शिशुलाई खुवाउन मिल्ने गरी खोलिएको स्तनपान व्यवस्थापन केन्द्र सरकारले अघिल्लो वर्ष अवधारणा ल्याएको थियो ।

वृहत्त स्तनपान व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि आमाको दूध खान नसक्ने, दूध नै नआउने आमा, आमाले खुवाउन नसक्ने समस्यालाई समाधान गर्न सहयोग गर्नेछ ।

नेपालको एकमात्र ठूलो रिफरल स्त्रीरोग अस्पताल हो परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल । जहाँ वार्षिक २२ देखि २४ हजार डेलिभरी हुन्छ । अस्पतालमा मासिक २ हजार डेलिभरी हुने गरेका छन् जसमा ३५ प्रतिशत शल्यक्रियाबाट बच्चा जन्मिने गरेका छन् ।

मिल्क बैंकमा आफ्नो शिशुलाई खुवाएर बढी भएको दूध आमाहरूले दान गर्न सक्नेछन् । यसरी दान गर्दा आमाहरूको विभिन्न स्वास्थ्य परीक्षण गरेपछि पम्पको माध्यमबाट दूध निकालिनेछ ।

तुरुन्तै दान गर्ने दूधलाई बोतलमा संकलन गरी फ्रिजमा राखिनेछ भने लामो समयसम्म राख्ने दूध माइनस २० डिग्री सेल्सियस तापक्रममा राखेर ६ महिनासम्म पनि प्रयोग गर्न सकिने अस्पतालले जनाएको छ । विभिन्न कारणले आमाको दूध खान नपाएका शिशुहरूलाई खुवाइनेछ ।

दूध दान गर्ने आमाहरूले ६ महिनाभित्र प्रमुख तीन परीक्षण एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोलरेटरी टेस्ट(भिडिआरएल) र हेपटाइटिस बी सर्फेस एन्टिजेन टेस्ट (एचबीएसजी) परीक्षण गरेको हुनुपर्छ ।

त्यसपछि स्वस्थ्य आमाबाट ब्रेस्ट मिल्क पम्पको माध्यमले आमाको दूध संकलन गरिन्छ । बैंकमा इलेक्ट्रिक र म्यानुअल पम्प उपलब्ध हुनेछ ।

संकलन गरिएको दूधमा कुनै रोगव्याधि नरहेको परीक्षणबाट सुनिश्चिततापछि पास्चराइजेसन गरेर एक सय मिलिलिटरको बोतलमा राखिन्छ ।

त्यसपछि माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा राखिने उक्त बोतल आमाको दूध नपाएका शिशुलाई उपलब्ध गराइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here