बैंकको ५८ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमा, सबैभन्दा धेरै १७ प्रतिशत ओभरड्राफ्टमा

काठमाडौं १३, साउन । चालू आर्थिक वर्षको ११ महिनासम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये आधाभन्दा बढी अनुत्पादक क्षेत्रमा प्रवाह भएको छ ।

राष्ट्र बैंकको अनुसार ओभरड्राफ्ट, रियल स्टेट, मार्जिन प्रकृति र हायर पर्चेज गरी चारवटा क्षेत्रमा ५८ प्रतिशत ऋण लगानी भएको छ । यी क्षेत्रलाई राष्ट्र बैंकले पनि अनुत्पादक भनेर परिभाषित गर्दै आएको छ ।

गत जेठसम्म बैंक तथा वित्तीय संस्थाले कुल २८ खर्ब ५० अर्ब रुपैयाँ ऋण लगानी भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब १९ प्रतिशतले बढेको हो ।

गत वर्षको ११ महिनासम्म ओभरड्राफ्ट, रियल स्टेट, मार्जिन प्रकृति र हायर पर्चेज क्षेत्रमा १६ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यो बैंक तथा वित्तीय संस्थाको कुल ऋण प्रवाहको ५८.५४ प्रतिशत हो । तीमध्ये सबैभन्दा धेरै १० खर्ब ६४ अर्ब रुपैयाँ ओभरड्राफ्ट तथा चालु पुँजी (वर्किङ क्यापिटल) शीर्षकमा प्रवाह भएको छ ।

ओभरड्राफ्ट शीर्षकमा प्रवाह भएको ऋण बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको १७.१ प्रतिशत हो । गत वर्षको सोही अवधिमा यस्तो कर्जा कुल कर्जाको १९.१ प्रतिशत थियो ।

हाल प्रतिग्राहक ५० लाखभन्दा बढी ओभरड्राफ्ट लिन नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्तो सीमा ७० लाख थियो । कुल कर्जाको करिब ३० देखि ४० प्रतिशत कर्जा घरजग्गामा गएको राष्ट्र बैंकले जनाएको छ ।

गत जेठसम्म रियल स्टेट क्षेत्रमा ३ खर्ब ७७ अर्ब रुपैयाँ ऋण लगानी भएको छ । यो सोही अवधिको कुल कर्जा प्रवाहको ९.८ प्रतिशत हो । गत वर्ष यो क्षेत्रका कुल ऋण प्रवाहको करिब १७ प्रतिशत ऋण लगानी भएको थियो ।

सेयर बजार लगानी मार्जिन प्रकृतिको कर्जामा बैंक तथा वित्तीय संस्थाले ४३ अर्ब रुपैयाँ लगानी गरेका छन् । गत वर्षको तुलनामा यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब ३.५ प्रतिशत विन्दुले बढी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here