किन मनाइन्छ श्रीराम-जानकी विवाह महोत्सव, आम व्यक्तिको विवाहभन्दा फरक के ?

काठमाडौं । जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठले श्रीराम-जानकी विवाह अर्थात विवाह पञ्चमी महोत्सव धुमधामका साथ मनाएको छ ।

मार्गशीर्ष शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान् श्रीराम र जानकीको विवाह भएको सम्झनामा रामानन्दाचार्य सेवा पीठको मूल गद्दी श्रीराम तारक ब्रम्हपीठ चतरा र श्रीरामानन्दाचार्य सेवा पीठको विभिन्न शाखाहरुमा विशेष कार्यक्रम गरि विवाह पञ्चमी महोत्सव मनाइएको हो ।

परमपूज्य जगद्गुरू श्रीरामानन्द्चार्य स्वामी रामकृष्णाचार्य (महायोगी सिद्धबाबा) पीठाधिश्वर रहेको श्रीराम तारक ब्रम्हपीठ चतरा र महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान काठमाडौं,पोखरा,चितवन,सुर्खेत,विराटनगर, विदेशमा रहेको शाखाहरु भारत,अष्ट्रेलिया,अमेरिका, बेलायत लगायतका पीठमा विशेष कार्यक्रम भएको थियो ।

सो अवसरमा नेपाल तथा विदेशमा अवस्थित विभिन्न स्थानमा रहेका आश्रमका शाखाहरुमा आश्रमका पदाधिकारीहरू,उल्लेखिय संख्यामा स्थानीय तथा भक्तजन एवं साधकजनहरू साथै धार्मिक, सामाजिक, राजनीतिक तथा वौधिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रम जगद्गुरु रामानन्दाचार्य सेवापीठको फेसबुक पेज मार्फत लाइभ प्रशारण भएको थियो । भगवान् राम र सीताको विवाह महोत्सव कार्यक्रममा विभिन्न पक्वान, मिष्ठान्नको ५६ भोग लगाइ दिव्य प्रसाद भण्डारा समेत गरिएको थियो ।

कार्यक्रममा महायोगी सिद्धबाबाले विवाह पञ्चमी महोत्सवमा श्रीराम जानकी विवाह उत्सव किन मनाइन्छ भनेर प्रकाश पारेका थिए ।

सम्पूर्ण जीवको कल्याणार्थ रहेको विवाह पञ्चमीको अवसरमा उनले आफ्ना दिव्य वाणीहरू मार्फत सत्संगमा सविस्तार व्याख्या गरेका थिए ।

श्रीराम जानकी विवाहको बारेमा घर-घरमा, सम्पूर्ण जनमानसमा ज्ञात भएता पनि राम जानकी विवाह उत्सव किन मनाइन्छ ? आम व्यक्तिको विवाह तथा श्रीराम जानकी विवाहमा फरक के छ ? र राम जानकी को हुन् ? आदी प्रश्नहरू माथि प्रष्ट पारेका थिए ।

जुन देशमा श्रीराम जानकीको विवाह भयो, त्यस देशमा यस्तो दिव्य उत्सव राष्ट्रव्यापी रूपमा नमानिनु अत्यान्त दुःखको कुरा हो महायोगी सिद्धबाबाले भने । सामान्य रूपले विचार गर्दा सामान्य सांसारिक जीवनमा गृहस्थ जीवन बिताउनेहरु पनि प्रतिवर्ष वर्षगांठ मनाउँछन ।

जबकी संसारिक विवाह मानसिक बन्धन मात्र हो। तब पनि व्यक्तिहरु प्रतिवर्ष वर्षगांठ मनाउँछन् । परब्रह्म परमात्मा श्रीराम र उनको अभिन्न शक्ति श्री जानकीजी सदा-सर्वदा एकैसाथ नित्य रहनेवाला तत्व हुन यी भिन्न होइनन ।

श्रीराम भन्दा भिन्न श्रीकिशोरीजी रहन सक्नुहुन्न र श्री किशोरीजी भन्दा भिन्न श्रीरामजी रहन सक्नुहुन्न फेरी उहाँहरूको पनि विवाह हुन्छ त ? भन्ने जिज्ञाशा आउँन सक्छ ।

परब्रह्म परमात्माले जीवमात्रको कल्याण हेतुले जगतको श्रृष्टि गर्नुभयो । भक्तिको दृष्टीबाट यो जगत लीला जगत हो । ज्ञान तथा बन्धनको दृष्टीबाट यो जगत अविद्या अर्थात मायाको जगत्‌ हो । त्यसैलाई लिला विभूति भनिन्छ ।

यो एकपाद लिला विभूति हो । भगवानले एकपाद लिला विभूतिको प्रकट गरेर अनि ‘लोकानाम घ्यास्तये’ जीवको कल्याणार्थ स्वयं परब्रहम र अहलादिनी शक्ति एकपाद लिला विभूति भित्र साधारण मनुष्यकै भाँती अवतार ग्रहण गर्नुहुन्छ र सामान्य मनुष्यले इश्वरत्वको प्राप्ती कसरी गर्ने भन्ने मार्ग प्रशस्त गर्नका साथै भगवत भक्तिमा,अनुरागमा,प्रेममा डुबेका भक्तहरूका लागी अनि ब्रह्म र जीवको प्रेमास्पदको रस प्रदान गर्नुहुन्छ त्यो हो माधुर्य रस । यो सम्पूर्ण जगत माधुर्य रस मै ओतप्रोत छ ।

माधुर्य रसकै एउटा साना हिस्साहरू हुन वात्सल्य रस,दास्य रस,शान्तरस,साख्य रस । यी रसहरू मिलरनै माधुर्य रस बन्दछन । ‘शान्त रस,दास्य रस, वात्सल्य रस, साख्य रस ,माधुर्य रस अनि प्रमिकान्ती माधुर्य रस यी षड-माधुर्यताबाट जीव इश्वरत्वमा परिणत हुन्छ ।

अर्थात् भगवानका भक्तजन‌हरु, भगवानको लिला आस्वादनबाट आफ्नो आत्मकल्याण गर्दछन् । यो उपासनाको घडी हो उपासनाको दिन हो । नेपालमा यसको प्रथा त्यसमा पनी पहाडी क्षेत्रमा त नगन्य रूपमा नै छ ।

मिथिलाको पञ्चकोशी क्षेत्र भित्र केवल जनकपुर मन्दिर, जानकी महलसँग जोडीएको मन्दिरसँग मात्र उत्सव‌हरू गर्ने गरिन्छ ।

परन्तु यो त राष्ट्रीय पर्व हो । श्रीराम जानकी विवाहका धेरै वटा सम्बन्धहरू रहेका छन । जीवात्माले परमात्माको लीलाको रसास्वादन गरेर शिवत्व प्राप्त गर्ने एउटा पाटो हो भने अर्को हाम्रो सामाजिक, व्यावहारिक, सांस्कृतिक, धार्मिक,भाइचारा आदिको सम्बन्ध एवं छिमेकी राष्ट्र र नेपालबीचको आपसी सम्बन्ध यी सम्पूर्ण कुराहरुलाई राम जानकी विवाहले जोड्दछ ।

श्रीराम-जानकी विवाहले विश्वलाई जोड्दछ , हरेक प्राणीलाई जोड्दछ । उपासनाको दृष्टीले भक्तहरुका लागि रसास्वादन हो ,व्यावहारको दृष्टिले जगत‌का लागि पति-पत्नीकोवीचमा हुनुपर्ने एउटा माधुर्य सम्बन्ध रस हो, भने समाज‌ साथै छिमेकी दुइ देशको प्रगाढ सम्बधका लागि सांस्कृतिक आदन-प्रदान हो ।

यसकारण विवाह पञ्चमी राष्ट्रीय पर्व हुनुपर्दछ, राष्ट्रव्यापी विवाह पञ्चमीको उत्सव हुनुपर्दछ ।

वैर-विरोध मेटाएर व्यक्तिले उत्साहमय जीवन बनाउनुपर्दछ । यसलाई उपासनाको रूपमा मनाउनु पर्दछ । भगवानको सुन्दर झांकीलाई सजाएर विभिन्न प्रकारका पकवानहरु भोग लगाएर समस्त भक्तजनहरू बसेर प्रेम विवाह सम्बन्धी,माधुर्य सम्बन्धि किर्तन गाए नृत्य गरेर त्यसैगरी श्रीरामचरीतमानसको बालकाण्डको दोहा नम्बर ३१३ देखी ३६१ सम्म जानकी मंगल विवाह प्रसंगको सुमधुरतापूर्वक पाठ गर्नुपर्दछ ।

यसो गर्नाले जीवन भित्र इश्वरको कृपा,प्रेम,माधुर्यता,स्वहार्दता,स्नेह,करुणा,दया आदि जस्ता सत्गुणहरूको प्रवेश हुन्छ ।

यस प्रकार श्रीराम जानकी विवाह महोत्सवले समाजमा आत्मीयता,व्यक्ति-व्यक्तिमा आपसी भाइचारा, सेवापरायणता आदि जस्ता सद्‌गुणहरूको वृद्धि हुन्छ ।

व्यक्तिको दुर्गुणको नश हुन्छ,क्रोध,हिंसा,मिथ्या,भय,ममता,मोह,अहंकार,दम्भ यस्ता दुर्गुणरुपी विकारहरूको को विवाह पञ्चमीको उत्सव मनाउनाले नास हुन्छ र प्रत्येक व्यक्ति भित्र प्रेमको जागरण हुन्छ ।

हरेक प्राणीमा प्रेम छ परमात्मा ‘रसोवैसः’ प्रेम स्वरूप हुनहुन्छ । परमात्माको प्राप्ती हेतु केवल प्रेम चाहिन्छ । ‘रामै केवल प्रेम पीयारा’श्रीरामजी न जाती, न लिङ्ग ,न देश,न रूप न त विद्यानै हेर्नुहुन्छ। भगवान त केवल उस भक्तको भाव हेर्नुहुन्छ ।

‘भाववस्य भगवन्ता’,’रसोवैसः’सातो अस्मीन परम प्रेमरुपश्च । भगवान प्रेम रूप हुनुहुन्छ र जगत पनि प्रेम चाहान्छ । संसारमा प्रेम नचाहाने कुनै पनी प्राणी छैनन ।

प्राणीमात्र नभएर जडहरूपनी आपसमा प्रेम चाहान्छन् । उनिहरू सजातीय र विजातियको क्रमले आफ्नो समुदायमा पुग्छन । त्यसकारणले राम जानकी विवाह महोत्सव प्रत्येक व्यक्ति भित्र करुणा , प्रेम , दया, सत्य, इमान्दारीता निष्ठा जगाउने भगवानको कृपा प्रसाद रूपी अती दिव्य पर्व भएको सिद्धबाबाले प्रष्ट पारे ।

हाल मधेसको राजधानी जनकपुरधाम, त्रेतायुगमा मिथिलाको राजधानी थियो । मिथिलाका राजा थिए जनक । उनले पुत्री जानकीको विवाह भागवान श्रीरामसँग जनकपुरधाममै गरेका थिए ।

सोही मान्यताका आधारमा जनकपुरमा सप्ताहव्यापी विवाह पञ्चमी आयोजना गरेर सांकेतिक रूपमा सीता-रामको विवाह गर्ने चलन छ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले पुत्री जानकीको स्वयंम्वरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा पुत्र भागवान श्रीरामले तीनटुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन श्रीराम र जानकीको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।

जानकी मन्दिरमा हुने सिता-राम विवाह अर्थात् स्वयंम्वरमा अदृष्य रुपमा देवीदेवताको समेत सहभागिता हुने विश्वास जनमानसको छ । त्यसैले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा लाखौं श्रद्धालु र साधुसन्त सहभागी हुन्छन् ।

श्रीराम तारक ब्रम्हपीठ चतरा, हिमालय क्षेत्रदेखि मरूभूमिय प्रदेशसम्मका भौगोलिक कठिनाइ र वातावरणीय प्रतिकूलतामा पनि अविचलित रही तपस्यारत रहेर झण्डै ४०० वर्षदेखि विकीर्ण अवस्थामा रहेको सुरत शब्दयोग अर्थात् हिमालयन सिद्धमहायोगलाई आफ्ना गुरूजनहरूको कृपा र आफ्नो तपोबलबाट साङ्गोपाङ्ग रूपमा प्राप्त गर्नु भएका महायोगी सिद्धबाबा पीठाधिश्वर रहनुभएको विश्व वराहसंस्कृतिको उद्गम स्थल कौशिकी नदीको वत्सल्यमय काखमा अवस्थित ठाउँ हो ।

जगद्गुरू महायोगी सिद्धबाबा पिठाधिश्वर रहेका नेपालको एकमात्र आचार्य पीठको रूपमा परिचित आध्यातमिक उर्जाद्वारा भरिएको श्रीराम तारकब्रह्म पीठले यस अघि पनि विभिन्न उत्सवहरू मनाइ लगभग ४०० वर्ष यता प्रायः विलुप्त भएको हिमालयन सिद्धमहायोगको माध्यमबाट हरेक मानवमा देवत्व जगाइ आत्मकल्याण , समाजमा आपसी भाइचारा ,हराउँदै गएको संस्कार,संस्कृतिको जागरण , देश , समाज तथा मानवकल्याणको लागि एकमात्र उपाया भगवद् उपासना रहेको कुरा समाजलाई मार्गदर्शन गरिरहेका छन् ।

साथै विभिन्न मठ मन्दिरको जीर्णोद्वार ,सामाजिक सेवा , मानवसेवा आदि कार्यहरू गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here