अर्थतन्त्रका समस्याबारे बैंकर्षले गरे अन्तर्राष्ट्रिय मुद्रा कोषसँग छलफल

काठमाडौं, १९ मंसिर । नेपाली अर्थतन्त्रका चुनौतीबारे बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग छलफल गरेको छ ।

परिसंघले शुक्रबार आईएमएफका नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग छलफल गरेको हो । उच्च ब्याजदर, लगानी योग्य रकमको अभाव लगायतका विषयले वित्तीय संस्थाहरूमा चुनौती सिर्जना हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै परिसंघले नेपालको आर्थिक एवम् बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आईएमएफका प्रतिनिधिसमक्ष आग्रह गरेको छ ।

आईएमएफका नेपाल प्रतिनिधि टेरेसाले अहिले नेपालको मात्र नभई विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको उल्लेख गर्दै संयूक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खल्बलिँदा ब्याजदर उच्च भई मुद्रास्फिति बढेको बताइन् ।

‘वर्तमान विषम परिस्थितिलाई सहज बनाउनका लागि सबै देशहरुले आफ्नो मौद्रिक नीतिमार्फत सावधानीपूर्वक परिस्थितिसँग सामना गर्न तयार हुनुपर्नेछ,’ उनले भनिन्, ‘नेपालको अर्थतन्त्र विश्वका दुई ठूला अर्थतन्त्र र बजार भएका भारत र चीनको बीचमा रहेकाले नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व वृद्धि, आन्तरिक उपयोगमा प्रोत्साहन र विशिष्ट विशेषता भएका मौलिक उत्पादनहरुको निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने देखिन्छ ।’

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले बैंक तथा वित्तीय संस्थाहरुको नन–फण्डेड आम्दानी कम हुँदै गएको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो उत्पादन र लगानीका क्षेत्रहरु आफै पहिचान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले कम उत्पादनमूलक क्षेत्रमा अत्यधिक लगानी भएको कारण पनि नेपालको उत्पादन प्रणाली र कृषि क्षेत्र कमजोर रहेको टिप्पणी गर्दै त्यसको प्रत्यक्ष असर आयातमा परेको बताए ।

‘उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारसहित उत्पादकत्व अभिवृद्धि, नेपाली उत्पादनहरुको उपभोगलाई प्रोत्साहन र मौलिक उत्पादनहरुको निर्यात प्रवर्द्धनमा जोड दिने खालका नीतिगत सुधार गर्न सकेमा मात्र आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा बदल्दै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग पुग्ने देखिन्छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here