इन्फोटेकमा भविष्यको प्रविधिको प्रदर्शनी गर्दैछौंः रञ्जितकुमार पोद्दार

देशकै ठूलो सूचना प्रविधिसम्बन्धी मेला काठमाडौंको भृकुटीमण्डपमा आज मंगलबार देखि शुरु हुँदै छ । २८औं संस्करणको सो प्रदर्शनीको उद्घाटन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान साढे १० बजे गर्ने कार्यक्रम छ । यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा तथा स्टार्टअपलाई विशेष प्रवद्र्धन गर्ने उद्देश्य आयोजकको छ । छ दिनसम्म चल्ने प्रदर्शनीलाई इन्फोडेभलपर्स र डिएच फाइबर नेटले प्रायोजना गरेका छन् । सो इन्फोटेकको बारेमा आयोजक कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघका अध्यक्ष रञ्जितकुमार पोद्दारसँग क्लाउडपत्रिकाले गरेको कुराकानीः

क्यान इन्फोटेक हेर्न भनेरै अवलोकनकर्ता यहाँसम्म किन आउने ?

प्रविधि एक मात्र यस्तो चिज हो जुन आजको भोलि परिवर्तन हुन्छ । त्यसैले प्रविधिमा हरेक दिन नयाँ कुरा आइरहेको हुन्छ । बाहिरबाट उस्तै देखिएपनि भित्रीरुपमा सफ्टवेयरहरु अपडेट भइरहेका हुन्छन् ।

उदाहरणका लागि मोबाइल फोनलाई लिन सकिन्छ, फोनको बाहिरी आवरणमा धेरै परिवर्तन नभए पनि त्यसका फङ्सनहरु दिनदिनै परिस्कृत हुन्छन् । त्यसैले इन्फोटेकमा अवलोकनकर्ताले नयाँ प्रविधि नै हेर्न सक्नेछन् ।

खासगरी विश्वमा हालसालै प्रयोगमा आएका तथा सृजना गरिएका प्रविधि जुन हामीले सञ्चारमाध्यम तथा युट्युब अथवा सामाजिक सञ्जालमा हेरिरहेका हुन्छौं, तर प्रत्यक्ष अनुभव गर्न पाएका हुँदैनौ, त्यस्ता उत्पादन वा सेवा हेर्नका लागि क्यान इन्फोटेक आउनुपर्छ । पछिल्लो समय इनोभेट गरिएका त्यस्ता हार्डवेयर तथा सफ्टवेयरहरुका बारेमा यहाँ प्रत्यक्ष रुपमा अनुभव र अवलोकन गर्न पाइने छ ।

अवलोकनकर्ताले भौतिकरुपमा नै अनुभव गर्न पाइने विशेष नयाँ प्रविधि चाहीँ के हुनेछ क्यान इन्फोटेकमा ?

यहाँका हरेक स्टलमा नयाँ प्रविधि नै देख्न सकिने छ । विद्यार्थीहरुको पेभिलियनमा उनीहरुले तयार गरेका हार्डवेयर तथा सफ्टवेयरहरु हुन्छन् । उनीहरुले के कस्ता प्रविधि प्रयोग गेर कस्ता सामग्री तयार गरेका छन् त्योे हेर्न सकिन्छ ।

त्यस्तै व्यसायीहरुले छुट्टै सामग्री प्रदर्शन गर्नेछन् । यद्यपि सबै प्रदर्शकले केके राख्नेबारे राम्रोसँग खुलाएका छैनन् । तर जतिपनि स्टल रहनेछन् त्यसमा प्रविधिका नविनतम उदाहरण नै हुनेछन् । हामीलाई सफ्टवेयर हार्डवेयर कलेज तथा एप भनेर मात्र खुलाएका छन् । त्यसैले इन्फोटेक शुरुभए पछि मात्र त्यहाँ के के रहने छन् भनेर भन्न सकिन्छ ।

इन्फोटेकको एउटा विशेषता भन्नु प¥यो भने के भन्नुहुन्छ ?

प्रविधि आफैमा नयाँ हुने भएकाले हरेक स्टलको आफ्नै किसिमको आकर्षण रहने छ । हामीले पुराना प्रविधि सकभर नराख्ने नै भनेका छौ । तर आज काम नलाग्ने देखिए पनि भविष्यमा उपयोग गर्न मिल्ने प्रविधिलाई विशेष प्राथमिकता राखेका छौं ।

विशेष आकर्षणको कुरा गर्दा स्वास्थ्यसँग सम्बन्धित स्मार्ट हेल्थ नेपाल जेसिआई गोदावरीको व्लड डोनेसनसम्बन्धी एप प्रदर्शनमा राखिने छ । सो एप डाउनलोड गरेपछी आफूलाई रगत आवश्यक परेको अवस्थामा सो एपको सहयोग लिएर सहजै रगत प्राप्त गर्न सकिनेछ ।

यस पटकको सम्मेलनलाई विशेष प्राथमिकता दिइएको छ भन्ने सुन्नमा आएको छ नी ?

हामीले हरेक बर्षको क्यान इन्फोटकमा विभिन्न विषयगत सम्मेलनहरु आयोजना गरिन्छन् । पहिले दुई दिनको सम्मेलन मात्र आयोजना गर्दै आएका थियौं । यसपटक भने सबै भिजिटरहरुले सहभागिता जनाउन पाउन भन्ने उद्देश्यले हरेक दिन दुई घण्टा सेमिनार आयोजना गर्ने तयारी गरेका छौं ।

सम्मेलनमा के कस्ता विषयमा छलफल गरिने छ ?

सम्मेलनको मुख्य उद्देश्य आमजनातामा सचेतना जगाउनु हो । साइवर सेक्युरिटी, बालबालिकामा अनलाइन दुरुपयोगको बारे चेतनालगायत विषयमाथि सम्मेलनमा छलफल गरिने छ । त्यहाँ नयाँ प्रविधिको बारेमा पनि जानकारी दिइने छ ।

विश्वमा पछिल्लो समय विकसित भएका प्रविधि जस्तो च्याटजीपीटी, मेटाभर्सलगायतका रचनात्मक प्रभाव तथा सयस्या र समाधानका खोजीका सम्भावनाबारे छलफल गरिने छ ।

अपाङ्गता भएका व्यक्तिलाई विशेष सुविधा दिने भनेर भन्नु भएको थियो । त्यो कस्तो सुविधा हो ?

अपाङ्गता भएका व्यक्तिहरुलाई इन्फोटेकमा नि:शुल्क स्टल राख्न दिएका छौं । विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरले कसरी सूचना प्रविधिको उपयोग गर्न सक्छन् तथा सूचना प्रविधिका साधनको प्रयोग गरेर कसरी जीवन सहज बनाउन सक्छन् भन्नेजस्ता कुराबारे जानकारी दिने हाम्रो उद्देश्य हो । त्यसैगरी उनीहरुको मनोवल उच्च बनाउने उदेश्य पनि आयोजकको हो ।

विगतमा क्यान इन्फोटेक उपत्यका बाहिर पनि आयोजना गर्ने गरिएको थियो नि ?

काठमाडौंमा मात्र होइन अब प्रदेशतिर पनि चाँडै यस्ता मेला आयोजना गर्ने छौ । त्यसका लागि मिति तय भइसकको छ । फागुनको ६ गते देखि बीरगञ्जमा, फागुन १३ गते धनगढी, फागुनको २६ गते कास्की, चैत २ गते बागमतीको हेटौंडामा प्रदर्शनी आयोजना गर्ने तय भइसकेकोे छ । त्यहाँ पनि यहाँको जस्तै नै प्रदर्शनी गरिने छ । अझ त्यहाँका स्थानीय आविष्कार वा प्रडक्टलाई विशेष प्राथमिकतामा राख्ने छौं ।

मेलामा अन्तराष्ट्रिय सहभागीता के कस्तो छ ?

यहाँ चीन तथा भारतका स्टलहरु राखिने छन् । चीन तथा भारतका स्थानीय उत्पादन तथा आविष्कारका साथै अन्तराष्ट्रिय प्रविधिका उपजहरु अवलोकन गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here