काठमाडौं-तराई/मधेश द्रुतमार्गको डिजाइन परिवर्तन, पहिरो रोकथाममा हुने खर्च जोगिने

काठमाडौं । उपत्यकालाई निजगढसँग जोड्ने काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फाष्ट-ट्रयाक) आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्गको डिजाइन नेपाली सेनाले परिवर्तन गरेको छ।

फास्ट ट्रयाक निर्माण गरिरहेको नेपाली सेनाले धेरै पहिरो जाने ३ ठाउँमा सडकको सट्टा सुरुङमार्ग बनाउन प्रस्ताव गरेको हो । पहिले प्रस्तावितका तुलनामा अब सुरुङको संख्या बढे पनि पहिरो रोकथाममा हुने खर्च जोगिने दाबी गरिएको छ।

नयाँ डिजाइनअनुसार निर्माण भए आयोजनाको लागत २ अर्ब रुपैयाँले कम हुने साथै पहिरोको जोखिम समेत हट्नेछ। हाल फास्ट ट्रयाकमा ३ वटा सुरुङमार्ग निर्माण भइरहेका छन् । प्रस्तावित ३ सुरुङ बनेमा सुरुङमार्गको संख्या ६ वटा पुग्नेछ । सुरुङमार्गको कुल लम्बाइ ८.६ किलोमिटर पुग्नेछ ।

हाल आयोजना अन्तर्गत ६.४ किलोमिटरको ३ वटा सुरुङमार्ग निर्माण भइरहेको छ । मकवानपुरको महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर सुरुङ खन्ने काम भइरहेको छ ।

महादेवडाँडामा हालसम्म ४३८ मिटर सुरुङ खनिसकिएको सेनाले जनाएको छ । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले २१ अर्ब ६१ करोड रुपैयाँमा पाएको छ ।

आगामी आर्थिक वर्षका लागि काठमाडौं-तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) का लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

अघिल्लो वर्षको बजेटमा यस आयोजनालाई ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। आयोजनाका अनुसार ठेक्का व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बजेट आवश्यक थियो। त्यही अनुसार चालु आर्थिक वर्षका लागि सरकारले ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here