प्लाष्टिकजन्य फोहोर व्यवस्थापनको लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्ने

काठमाडौं, ५ भदौ । प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्न सहमत भएका छन् ।

नेपाल उद्योग परिसंघको वातावरण समिति तथा प्लाष्ट नेपाल फाउण्डेशनको सहकार्यमा भाद्र ४ गते काठमाण्डौंमा आयोजित प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यास सम्बन्धी अन्तक्र्रियामा यस्तो सहमति भएको हो ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले औद्योगिक उत्पादनले वातावरणमा पार्ने प्रभावको मुल्याङ्कन र त्यसका नकारात्मक असर कम गर्न तीनै तहका सरकार तथा सरकारी निकायहरु र निजी क्षेत्रले मिलेर काम गर्नु पर्ने समय आएको बताए ।

वन तथा वातावरण मन्त्रालयले यसमा पहल लिन सुझाव दिदै उद्योग मन्त्री यादवले त्यस्तो पहललाई लिएर अघि बढ्न उद्योग मन्त्रालय तयार रहेको बताए । प्लाष्टिकको उपयोग कम गर्न, गुणस्तरीय प्लाष्टिकको उपयोग बढाउन र प्लाष्टिकजन्य फोहोरको पुनःप्रयोग गर्ने उद्योग स्थापनामा सघाउन मन्त्रालयतयार रहेको पनि मन्त्री यादवले बताए ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दिगो विकासलाई केन्द्रमा राखेर प्लाष्टिकको प्रयोग कम गर्ने तथा पुनःप्रयोगका लागि प्रोत्साहन गर्ने नीति लिएको बताए ।

त्यस्तै काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोरको पुनःप्रयोग तथा व्यवस्थापनका लागि निजीसँग सहकार्य गर्न महानगर तयार रहेको बताए ।

सोहि अवसरमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघ र यसमा आवद्ध उद्योगी–व्यवसायीहरुले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेको बताए । अध्यक्ष मोरले भने, ‘हाम्रै लगानीमा रहेको होङ्सी शिबम् सिमेण्ट उद्योगले फोहोर प्रशोधनबाट १२ मेगावाट ऊर्जा निकालेर उपयोग गरेको छ, वातावरणमा ध्यान दिँदा उत्पादनमूल्यमा समेत बचत भएको छ । प्लाष्टिकको हकमापनि प्लाष्टिक पुनःप्रशोधितगर्ने उद्योगले आयातलाई कम गरेर अर्वौ रुपैयाँ विदेश जान रोकि विदेशीमुद्रा सञ्चितिमा सहयोग पु¥याउन सक्छन् ।’

कार्यक्रमका स्रोत व्यक्तिको रुपमा बोल्दै एसियाली दिगो विकास अभियानका प्रमुख नोरम्यान चुवाले प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सिंगापुर, चीन र अन्य एसियाली मुलुकले अपनाएका असल अभ्यास बारे विस्तृत जानकारी गराए ।

त्यस्ता असल अभ्यासलाई नेपालले समेत सिकेर प्लाष्टिकको प्रयोगबाट उत्पन्न हुने वातावरणीय ह्रास कमगर्न सक्ने उनको भनाइ थियो । प्लाष्टिक तथा प्लाष्टिक जन्य फोहोर व्यवस्थापन तथा यसको पुनःप्रशोधनका लागि नयाँ लगानीको अवसर रहेकोले सरकार र निजी क्षेत्रले साझेदारी गर्न पनि प्रमुख चुवाले सुझाव दिए ।

परिसंघको वातावरण समितिका उप–संयोजक कुशल हरजनिले प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर संकलनदेखि व्यवस्थापनमा नयाँ–नयाँ उद्यमी र स्टार्टअपहरु बारे जानकारी गराए ।

कार्यक्रममा परिसंघका उपाध्यक्षहरु, वातावरण समितिका संयोजक शरद टिवडेवाला, निजी क्षेत्रका प्रतिनिधि उद्योगि व्यवसायीहरु तथा सरकारका विभिन्न निकायका प्रमुखहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here