नारायणगढ-मुग्लिन सडक, यी ठाउँमा पहिरोको उच्च जोखिम

काठमाडौं । वर्षायाम सुरु भएसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले हैरानी बनाउन थालेको छ ।

दुई वर्ष अघि स्तरोन्नति गरिएको सो सडकखण्डमा सडक विस्तार र पुल निर्माणका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जान खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको हो ।

निरन्तर पहिरो खसिरहँदा पन्छाउन समेत समस्या हुने गरेको छ । भित्ता कटानका क्रममा बनेका अग्ला डाँडा र यसअघि नै भएका अग्ला पहाडमाथिबाट ठूला ढुंगासहित पहिरो खस्दा सडक खुलाउन कठिन हुने गरेको छ । जसकारण हजारौं सवारीसाधन र यात्रु बीचबाटैमा अलपत्र पर्ने गरेका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला क्षेत्र पहिराको दृष्टिकोणले उच्च जोखिममा देखिएको छ । विगत तीन वर्षयता वर्षात्को समयमा मौरीखोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर रमेशकुमार पौडेलका अनुसार विगत वर्ष अहिलेको अवस्था र अध्ययनलाई हेर्दा सो स्थानमा पहिराको जोखिम उच्च छ । विश्व बैंकका पहिरो विज्ञसहितको प्राविधिक टोलीले दुईपटक आएर अवस्थाको अध्ययन गरेर फर्किएको छ ।

पुल भएको ठाउँमा माथि डाँडाबाट पहिरो खस्ने गर्दछ । गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडा रहेको देखिएको थियो । डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिरोको जोखिम बढ्दै गएको छ ।

सोही क्षेत्रमा सन् २००३ मा जाइकाले पहिरो रोक्नका लागि काम गरेको थियो । पछि पहिराले तत्कालीन समयमा गरेको काम बगाएको थियो । सो सडकखण्डमा पहिराको समयमा काम गरेका ई शिव खनालका अनुसार भू–गर्भविद्ले गरेको अध्ययनमा सो क्षेत्रको झन्डै ७०० मिटर लम्बाइ क्षेत्र पहिरामा संरचना बनेकाले चलायमान छ ।

यसै कारण जुनसुकै बेला पहिरो खस्न सक्ने विज्ञहरूले आकलन गरेको खनालले जानकारी दिए । सो सडकको ४ किलो र १८ किलोमा पनि पहिराको उच्च जोखिम देखिएको छ । ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएको छ ।

यस्तै सेती दोभान र सिमलताल पनि पहिराको जोखिममा रहेको छ । सडकका १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्ता काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here