काठमाडाैं । नेपाली मुद्रा पछिल्लो समय अमेरिकी डलरको तुलनामा निकै कमजोर देखिएको छ ।
काश्मिर तनाव र चीन–अमेरिका व्यापार युद्धको कारण भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर भएको मानिन्छ ।
भारतसँग नेपालको स्थिर विनिमय दरको कारण डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएपछि त्यसको सिधा असर नेपाली अर्थतन्त्रमा पनि पर्छ ।
बुधवार नेपाली बजारमा १ डलर बराबर १ सय १४ रुपैयाँ ६८ पैसा रहेको छ । आखिर किन डलरलाई किन विश्वव्यापी मुद्रा मानिन्छ ? किन डलर विश्वभर नै यति धेरै बलियो छ ? डलरको माग किन यतिधेरै छ ? यसका साथै प्राय विश्वभर नै विदेशी मुद्रा भण्डारण गर्दा किन डलरमा नै राखिन्छ ?
माथिका यी प्रश्नको उत्तरबाट हामी डलर कति बलियो छ भन्ने थाहा पाउन सक्छौं ।
अमेरिकी मुद्रा डलरले आफ्नो पहिचान विश्वव्यापी मुद्राको रुपमा बनाइसकेको छ । अन्तराष्ट्रिय व्यापारको लागि डलर र यूरो सबैभन्दा धेरै चल्तिका मुद्रा हुन् ।
विश्वभर रहेका केन्द्रीय बैंकहरुमा हुने विदेशी मुद्रा भण्डारमा ६४ प्रतिशत अमेरिकी डलर हुन्छ ।
यस्ता कारणहरुले गर्दा डलर अन्तराष्ट्रिय मुद्राको रुपमा परिचित छ । डलर विश्वव्यापी मुद्रा हो र यो उसको मजबुती र अमेरिकी अर्थव्यवस्थाको तागतको प्रतिक हो ।
इन्टरनेशनल स्ट्याण्डर्ड अर्गजाइजेशन लिस्ट अनुसार अहिले विश्वभर १ सय ८५ प्रकारका मुद्रा रहेका छन् । तर, यी मध्ये धेरै प्रकारका मुद्राको कारोबार आफ्नो देशभित्र मात्रै हुने गरेको छ ।
कुनैपनि देशको मुद्रा विश्वका कतिवटा देशहरुमा प्रचलनमा छ भन्ने कुराको अनुमान उक्त देशको अर्थव्यवस्था र शक्तिमा निर्भर रहन्छ ।
विश्वको दोस्रो शक्तिशाली अन्तराष्ट्रिय मुद्राको सूचीमा रहेको यूरो विश्वभर रहेका केन्द्रीय बैंकको विदेशी मुद्रा भण्डारणमा १९.९ प्रतिशत छ ।
अमेरिकी डलरको शक्ति र विश्वभर सर्वस्वीकार्यताले अमेरिकी अर्थव्यवस्था कतिसम्म शक्तिशाली छ भन्ने कुरा प्रमाणित गर्छ । कुल डलरको ६५ प्रतिशत अमेरिका भन्दा बाहिर प्रयोग हुने गर्छ ।
विश्वभर हुने व्यापारमा ८५ प्रतिशत व्यापार अमेरिकी डलरमा हुन्छ । त्यस्तै विश्वभर प्रवाह हुने ऋणमा ३९ प्रतिशत ऋण डलरमा प्रवाह हुन्छ । यसकारण विदेशी बैंकहरुलाई अन्तराष्ट्रिय व्यापारको लागि डलर अनिवार्य मुद्राको रुपमा आवश्यक हुन्छ ।
डलर कसरी बन्यो शक्तिशाली ?
सन् १९४४ मा ब्रेटनवुड्स सम्भौता भएसंगै डलर शक्तिशाली मुद्रा बन्ने क्रम शुरु भएको थियो । यसभन्दा अघि मानिसहरु सुनलाई सबैभन्दा शक्तिशाली मानक मान्ने गर्थे ।
न्यू हेम्पसायरको ब्रेटनवुड्समा विश्वभरका सबै विकसित देशका प्रतिनिधिले भेटवार्ता गरेर अमेरिकी डलरको तुलनामा सबै मुद्राको विनिमय दर तय गरे । त्यस समय अमेरिकाको साथमा सबैभन्दा धेरै सुनको भण्डार थियो । यस सम्झौताले अरु देशलाई पनि सुनको सट्टा आफ्नो मुद्राले डलरलाई समर्थन गर्ने अनुमति दियो ।
सन् १९७० को सुरुवातमा धेरै देशहरुले डलरको सट्टा सुनको मागको बढी गर्न थाले किनभने उनीहरुलाई मुद्रास्फितीसँग लड्ने आवश्यकता थियो ।
त्यो समयमा राष्ट्रपति निक्सनले फोर्ट नोक्सको आफ्नो सबै भण्डार समाप्त गर्ने अनुमति दिनुको सट्टा डलरलाई सुनबाट अलग बनाइदिए ।
त्यतिखेर सम्म डलर संसारको सबैभन्दा महत्वपुर्ण र सुरक्षित मुद्रा बनिसकेको थियो ।
सन् २००९ मार्चमा चीन र रुसले एक नयाँ विश्वव्यापी मुद्रा बनाउने माग गरे । उनीहरु चाहन्थे कि एक यस्तो रिजर्भ मुद्रा बनाइयो जुन कुनै एक देशको भन्दा बिल्कुलै फरक होस् र लामो समयसम्म स्थिर रहन सक्षम होस् । यस प्रकार क्रेडिटमा आधारित राष्ट्रिय मुद्राको प्रयोगबाट हुने वाला नोक्सान हटाउन सकियोस् ।
चीनलाई चिन्ता छ कि यदि डलरको मुद्रा स्फिती तय भएमा उसको खर्बौं डलर कुनै काममा रहदैन । यो त्यतिखेर मात्रै हुन सक्छ जब अमेरिकी कर्जा तिर्नको लागि युएस ट्रेजरीले नयाँ नोट छाप्छ । चीनले अन्तराष्ट्रिय मुद्रा कोषबाट डलरको सट्टा नयाँ मुद्रा बनाउने माग गरेको थियो ।
सन् २०१६ को चौंथो त्रैमाससम्ममा चीनको युयान विश्वको एक अर्को ठूलो रिजर्भ मुद्रा बनेको थियो । २०१७ को तेस्रो त्रैमास सम्म विश्वभरको केन्द्रिय बैंकमा १०८ अर्ब डलर थियो । यो एक सानो सुरुवात हो तर भविष्यमा यसको वृद्धि जारी रहनेछ ।
यसै कारण चीन चाहन्छ कि उसको मुद्रा विश्वव्यापी मुद्रा बजारमा व्यापारको लागि पूरै तरिकाले प्रयोग होस् । यस्तो होस् जसरी डलरको सट्टा युआनलाई विश्वव्यापी मुद्राको रुपमा प्रयोग होस् । यसको लागि चीनले आफ्नो अर्थव्यवस्थालाई सुधारिरहेको छ ।
सन् २००७ मा फेडरल रिजर्भका अध्यक्ष एलेन ग्रिनस्प्यानले भनेका थिए कि यूरोले डलरको स्थान लिनसक्छ । सन् २००६ को अन्तिमसम्म विश्वभरका केन्द्रिय बैंकको कुल विदेशी मुद्रा भण्डारमा यूरो २५ प्रतिशत भएको थियो जबकी डलर ६६ प्रतिशत थियो । विश्वका कैयौंं इलाकामा यूरोको प्रभुत्व पनि छ ।
यूरो यसकारण पनि बलियो छ किनभने यूरोपियन यूनियन विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थामा एक हो ।
(बिबिसी हिन्दीबाट अनुदित)