आर्थिक मन्दी कायमै, समग्र बजार माग ३६ प्रतिशतले घट्यो

काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा सुधार आइरहेको बताए पनि एक अध्ययनले भने आर्थिक मन्दी कायमै रहेको देखाएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले चालु आर्थिक वर्ष पहिलो त्रैमासको आर्थिक स्थितिका विषयमा गरेको सर्वेक्षणले अर्थतन्त्रमा सुधार नआएको देखाएको हो ।

सीएनआईले सोबार सार्वजनिक गरेको सर्वे अनुसार चालु आवको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको देखिएको हो ।समग्र बजार माग खस्किएको छ भने कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको देखाएको अध्यक्ष राजेश कुमार अग्रवाले बताए । साथै, उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको उनले बताए ।

सरकारले २ वर्ष यता शिथिल अर्थतन्त्र पछिल्लो समय सुधारोन्मुख अवस्थामा रहेको बताए पनि सर्वेले भने त्यस्तो नदेखाएको उनले बताए । १०० बढी उद्योगमा गरिएको सर्वेक्षणले सुधार आएको नदेखिएको उनले बताए ।

राष्ट्र बैंक र सरकारले अर्थतन्त्रको बाह्य क्षेत्रको तथ्यांकमा आएको सुधारलाई मात्र आधार बनाएर समग्रमा सुधार आयो भनिएको सर्वेमा उल्लेख छ । ‘सरकारले अर्थतन्त्रमा सुधार आइरहेको छ भनेको छ । तर, ग्राउन्ड रियालिटीमा त्यस्तो देखिएन । आर्थिक मन्दी कायमै देखिएको छ,’ अध्यक्ष अग्रवालले भने ।

सीएनआईले तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरेको हो हो । सर्वे अनुसार आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कुल ३६.९३ प्रतिशतले संकुचनमा आएको छ ।

गत वर्ष औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो। यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको सर्वेक्षणले देखाएको छ ।

सीएनआईको सर्वे अनुसार उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकोमा चालु वर्षको सोही अवधिमा थप ७.४६ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा कुल कारोबार ३०.५४ प्रतिशतले घटेको छ ।

अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गतवर्ष जस्तै यस वर्ष पनि उद्योगी व्यवसायीको मनोबल कमजोर बनेको देखिएको छ । गत वर्षमा ६९.४४ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेकोमा चालु वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशतले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको सर्वेले देखाएको छ ।

क्षेत्रगत रुपमा सिमेन्ट उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६ प्रतिशत संकुचन आएको छ। अघिल्लो वर्षको सोही समयमा यो ४०.१७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८/७९ संगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कुल ४४.५७ प्रतिशतले गिरावट आएको देखिन्छ ।

सीएनआईको सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षमा ८३.३३ प्रतिशत सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएकोमा चालु आवमा ६२.५० प्रतिशतले आफ्नो लगानी योजना स्थगित गरेको बताएका छन् ।

निर्माण क्षेत्रमा समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६.२० प्रतिशतले घटेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२.५९ प्रतिशतले संकुचन आएको सर्वेले देखाएको छ । यसैगरी यस क्षेत्रका उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष ४३.७१ प्रतिशतले घटेकोमा चालु वर्षमा थप २०.८० प्रतिशतले घटेको देखिन्छ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसीजी क्षेत्रको माग २.५० प्रतिशतले बढेकोमा चालु वर्षमा १७.७० प्रतिशतले गिरावट आएको देखिएको छ। यसरी अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्र समेत यस वर्ष नकारात्मक देखिएको सीएनआईको सर्वेको निष्कर्ष छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल १५.६४ प्रतिशतले घटेको छ भने कारोबार १८.५० प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा समग्र कारोबार रकममा ८.५२ प्रतिशतले संकुचन आएको छ । सर्वेक्षण अनुसार अघिल्लो आवको पहिलो त्रैमासमा ४९.६७ प्रतिशतले यस क्षेत्रका उद्योगी तथा व्यवसायीले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु वर्षमा ५० प्रतिशत व्यवसायीले लगानी योजना स्थगित गरेको जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here