हवाई टिकट काट्दा गरिब घोषणा गरे छूट मिल्ने

काठमाडौं, ११ असोज । वायुसेवा कम्पनीहरुले एक अनौठो निर्णय गरी सरकारलाई अलमलमा पारिदिएका छन् । बिहीबार वायुसेवा संचालक संघ (आयोन)ले एक निर्णय गर्यो ।
विपन्न जेष्ठ नागरिकलाई ५० प्रतिशत छूट ।

झट्ट सुन्दा यो निर्णय जति आकर्षक लाग्छ, यस भित्रका शर्त सुन्दा भने सरकार र खासगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई ५० प्रतिशत छूट योजनालाई नै गिज्याइरहेको भान हुन्छ ।

आयोनका अनुसार आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिनेछन् । छूट हवाई अपर लिमिटमा मात्र उपलब्ध हुनेछ ।

अर्थातः धनगढीको भाडा अपर लिमिटमा करीव ११ हजार हाराहारी रहेको छ । जेष्ठ नागरिकले छूट पाउँदा करीव ५५ सय हुन आउँछ ।

तर, अफ सिजनमा वायुसेवा कम्पनीले ५ हजारमै समेत धनगढी उडाइदिन्छन् । यसको मतलव छूट भन्दा फूल भाडा सस्तो पर्ने भयो ।

अर्कोतर्फ एउटा कम्पनीले ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिक र साना विमानस्थलमा प्रतिदिन एक जनालाई मात्र यो सुविधा दिनेछन् ।

अर्थातः एउटा कम्पनीबाट दिनमा दुई जना जेष्ठ नागरिकले मात्र छूट पाउनेछन् । यो छूट दिनु र नदिनु कुनै अर्थ रहने कुरा भएन ।

जेष्ठ नागरिकले छूट पाउन भने हवाई कम्पनीको काउन्टर मै उपस्थित भई आफू विपन्न भएको स्वघोषणा गर्नुपर्ने शर्त कम्पनीहरुले राखेका छन् ।

म गरिब छु, मलाई छूट देउ भनेर याचना गरेपछि मात्र हवाई कम्पनीले दैनिक ठूला विमानस्थलमा २ र साना विमानस्थलमा १ जनालाई लागि छूट दिने गरि छूट घोषणा गरेका छन् ।

यसले जेष्ठ नागरिकको अपमान त गरेको छ नै सरकारको घोषणालाई नै अलमलमा पारिदिएको छ ।

बरु आयोनभन्दा अगाडी नेपाल एयरलाइन्सले सबै जेष्ठ नागरिकलाई ५० प्रतिशत छूटको घोषणा कार्यान्वयन गरिसकेको छ ।

श्री एयरलाइन्सले पनि ८५ वर्षमाथिका नागरिकलाई हवाई भाडामा ५ सय मात्र लिने र ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई प्रति उडान २ सीटमा छूट दिने घोषणा गरेको छ ।

यो घोषणा धेरै सम्मानजनक देखिन्छ । कम्पनीहरुले छूट योजना भने आइतबारदेखि लागु हुने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here