नेपालमा ४३ प्रतिशत बालबालिका कुपोषित, ११ लाख पुड्का

youth foundation

काठमाडौं, २८ असोज । नेपालमा पाँच वर्षमुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे वा मोटा रहेको युनिसेफले बताएको छ ।

छ महिनादेखि दुई वर्ष सम्मका करीब ४५ प्रतिशत बालबालिकाले मात्र आठ खालका खाना समूहमध्ये कम्तीमा पाँच समूहको खाना खाइरहेका छन् ।

यो उमेर समूहका अधिकांश बालबालिकाले अन्न र गेडागुडी खाने गरेका छन् भने अण्डा वा माछा वा मासु खानेको संख्या एक तिहाइ मात्र रहेको विश्वका बालबालिकाको अवस्था २०१९ः बालबालिका, खाना र पोषण (द स्टेट अफ द वल्र्डज चिल्ड्रेन २०१९ः चिल्ड्रेन, फुड एण्ड न्युट्रेसन) को निश्कर्ष छ ।

उसका अनुसार नेपालमा ११ लाख बालबालिका पुड्का अर्थात् होचा छन् भने करीब २ लाख ९० हजार ख्याउटे अर्थात् दुब्ला छन् ।

त्यसैगरी, १३ लाखबालबालिका —अर्थात् दुईमध्ये एक जनामा— भिटामिन ए र आइरनजस्ता आवश्यक पोषक तत्वको कमी छ । करीब ३६ हजार बालबालिका बढी तौलका वा मोटा छन् ।

युनिसेफले विश्वमा पाँच वर्षमुनिका तीनमध्ये कम्तीमा एक बालबालिका—वा २० करोडभन्दा धेरै—कम पोषण वा अधिक पोषणको शिकार भएको जनाएको छ ।

६ महिनादेखि दुई वर्ष उमेरका तीनमध्ये झण्डै दुई बालबालिकालाई उनीहरुको शरीर र मस्तिष्कको विकासका लागि चाहिने खाना खुवाइएको छैन जसले उनीहरुको मस्तिष्क विकास, सिकाइ, प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्ने र संक्रमण बढ्ने र कतिपय अवस्थामा मृत्यु समेत हुने जोखिम देखिएको छ ।

‘पछिल्ला केही दशकमा प्राविधिक, सांस्कृतिक र सामाजिक विकासका बाबजुद हामीले सबैभन्दा आधारभूत तथ्यमा ध्यान दिन बिर्सेका छौंः यदि बालबालिकाले कमसल खाना खान्छन् भने उनीहरुको जीवन पनि त्यस्तै हुन्छ,’ युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भनेका छन् । ‘करोडौं बालबालिका अस्वस्थ खानामा बाँचिरहेका छन् किनभने उनीहरुसँग राम्रो खानाको छनोट छैन । हाम्रो कुपोषणको बुझाइ बदल्नुपर्ने भएको छः कुपोषण बालबालिकाले पर्याप्त मात्रामा खान पाउने मात्र नभई सही खाना खाने पनि हो । यो आजको हाम्रो साझा चुनौति हो ।’

प्रतिवेदनले बालबालिकाको जीवनको शुरुवाती दिनबाट नै कमसल खानाको अभ्यास शुरु हुने गरेको मा चिन्ता व्यक्त गर्दै त्यसले भविष्यमा डरलाग्दो असर पार्ने चेतावनी दिएको छ । स्तनपानले जीवन जोगाउन सक्ने भए पनि, नेपालका ६६ प्रतिशत बालबालिकालाई मात्र पूर्ण स्तनपान गराइन्छ भने नवजात शिशुहरुलाई फर्मुला खुवाउने चलन बढ्दै गइरहेको छ ।

३८ प्रतिशतले पाउँदैनन तरकारी

६ महिना पुगेपछि बालबालिकालाई नरम वा ठोस खानेकुरा खुवाउन शुरु गरिन्छ तर धेरै बालबालिकालाई शुरुमै गलत खानेकुरा खुवाउन शुरु गरिनेप्रति प्रतिवेदनले चिन्ता व्यक्त गरेको छ । नेपालका ३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि दुई वर्षको अवधिमा कुनै फलफुलवा तरकारी खान पाउँदैनन् । दुई तिहाइ बालबालिकाले अण्डा, माछा वा मासु खाँदैनन् ।

बालबालिका हुर्किदैं गर्दा उनीहरुलाई दिइने वा उनीहरुले खाने अस्वस्थकर खानेकुरा पनि निकै चिन्ताजनक छ । अनुपयुक्त बजारीकरण र विज्ञापनले शहरसँगै ग्रामिण क्षेत्रमा तयारी खानेकुरा र अत्याधिक गुलियो पेय पदार्थ जस्ता प्रशोधित खानेकुराको खपत बढिरहेको छ ।

उदाहरणका लागि, न्यून तथा मध्यम आय भएका विद्यालय जाने उमेरका किशोरकिशोरीमध्ये ४२ प्रतिशतले दिनमा कम्तीमा एक पटक कार्बोनेटेड गुलियो पेय पदार्थ पिउने गरेको तथ्यांक छ भने ४६ प्रतिशतले सातामा कम्तीमा एक पटक तयारी खानेकुरा खाने गरेका छन् । उच्च आय भएका देशका किशोरकिशोरीमा यो संख्या क्रमशः ६२ प्रतिशत र ४९ प्रतिशत छ ।

मोटोपनको अनुपात दोब्बर

फलस्वरुप संसारभर नै बालबालिका र किशोरकिशोरीेमा बढी तौल र मोटोपनाको मात्रा बढिरहेको छ । सन् २००० देखि २०१६ सम्मको अवधिमा, ५ देखि १९ वर्ष उमेरका बालबालिका र किशोरकिशोरीमा यो अनुपात दोब्बर बढेको छ । अहिले यो उमेरका ५ मध्ये १ बालबालिका र किशोरीकिशोरीमा मोटोपना देखिएको छ । सन् १९७५ को तुलनामा यो उमेर समूहका बालिकाहरु १० गुणा र बालकहरु १२ गुणा मोटोपनाबाट प्रभावित हुने गरेका छन् ।

नेपालमा, बालबालिका र किशोरकिशोरी (५ देखि १९ वर्ष) मा हुने मोटोपना पछिल्लो चार दशकमा २९ गुणाले बढेको छ । आज, नेपालका यो उमेर समूहका १३ मध्ये १ जनामा मोटोपना छ । बढि तौल र मोटोपना आर्थिक अवस्था र घरको खाद्य सुरक्षासँगै बढ्ने गर्दछ । यसका अर्थ, आर्थिक रुपले सम्पन्न र शहरका परिवारहरुमा मोटोपना हुने सम्भावना धेरै रहन्छ ।

प्रतिवेदनका अनुसार, सबै खालका कुपोषणको सबैभन्दा ठूलो भार गरीब र सिमान्तकृत समुदायका बालबालिका र किशोरकिशोरीमा छ । सबैभन्दा गरीब परिवारका ५ मध्ये १ ले मात्र स्वस्थ विकासका लागि चाहिने खानेकुरा पर्याप्त मात्रामा खान पाउँछन् ।

प्रतिवेदनले जलवायुसम्वन्धी विपद्हरुले गम्भीर खाद्य संकट सिर्जना गर्ने कुरालाई पनि ध्यानाकर्षण गराएको छ । उदाहरणका लागि, खडेरीका कारण कृषिमा ८० प्रतिशत नोक्सानी र क्षति पुग्दछ र यसले बालबालिका र परिवारका लागि उपलब्ध खानेकुरासँगै त्यो खानाको गुणस्तर र मुल्यमा पनि नाटकीय प्रभाव पार्दछ ।

कुपोषण कम गर्ने उपाय

सबै खालका कुपोषणको बढ्दो संकटलाई सम्वोधन गर्नका लागि, युनिसेफले सरकार, निजी क्षेत्र, दातृ निकाय, अभिभावक, परिवार र व्यापारिक समुदायलाई निम्न उपायहरु अवलम्बन गर्न भनेको छ ।

१. अस्वस्थ खानेकुराको माग घटाउन पोषण शिक्षा सुधार गर्ने र कानूनको प्रयोग गरी परिवार, बालबालिका र किशोरकिशोरीलाई पोषिलो खानाको माग गर्न सशक्त बनाउने ।

२. स्वस्थ, उपयुक्त र पहुँच गर्न सकिने खानाको प्रावधानलाई प्रोत्साहन गर्दै खाद्यपदार्थ उत्पादक र आपुर्तिकर्तालाई बालबालिकाको हितमा काम गर्न लगाउने ।

३. सही र बुझ्न सजिलो हुने लेबलको प्रयोग गर्दै र अस्वस्थकर खानेकुराको बजारीकरणमा कडा नियन्त्रण गर्दै बालबालिका र किशोरकिशोरीका लागि स्वस्थ खाद्य वातावरण सिर्जना गर्ने ।

४. स्वास्थ्य, खानेपानीतथा सरसफाइ, शिक्षा र सामाजिक सुरक्षाजस्ता सहयोगी संयन्त्रको परिचालन गरी सबै बालबालिकामा पोषणको प्रतिफलविस्तार गर्ने ।

५. कार्ययोजनालाई मार्गदर्शन गर्न र प्रगति विश्लेषण गर्न उच्चस्तरीय तथ्यांक र प्रमाणको संकलन, विश्लेषण र प्रयोग गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here