उठ्नै सकेन निर्यात, टप सय देश मध्ये तीनसँग मात्र नाफाको ब्यापार

काठमाडौं, २५ असार । राजनीतिक स्थिरता, ऊर्जाको आपूर्ति र बन्द हड्तालको अन्त्य भइ व्यावसायिक वातावरण अझ राम्रो बनेको भने पनि नेपालको निर्यात व्यापारमा त्यसको संकेत देखिन सकेको छैन । नेपालले अन्तरराष्ट्रिय ब्यापारबाट लाभ लिन सकेको छैन ।

चालु आर्थिक वर्षको ११ महिना सकिंदा सम्ममा नेपालको ब्यापार घाटा १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ पुगेका छ । सो अवधिमा आयात १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने निर्यात ८७ अर्ब ८३ करोड रुपैयाँमात्र छ ।

भन्सार बिभागको तथ्यांक अनुसार चालु वर्षमा नेपालको निर्यात १८.१८ प्रतिशतले बढेको छ भने आयात १७.४५ प्रतिशतले उकालो लागेको छ । तर, अंकमा हेर्दा नेपालको आयात करीब १ खर्ब ९३ अर्ब रुपैयाँले बढेको छ भने निर्यात भने १३ अर्ब ५० करोड रुपैयाँले बढेको छ ।

यो सँगै नेपालको आयात–निर्यात अनुपात १४.९ पुगेको छ । अर्थात नेपालले १ रुपैयाँको वस्तु निर्यात गर्दा करीब १५ रुपैयाँको वस्तु आयात गरिरहेको छ । मुलुकको आयात निर्यात व्यापारमा निर्यातको हिस्सा ६.३ प्रतिशत छ भने आयात ९३.७ प्रतिशत रहेको छ ।

१ सय ५५ भन्दा बढी मुलुकसँग व्यापार गरेको मुलुकले २२ मुलुकसँग मात्र नाफाको कारोबार गरेको छ । अझ सबैभन्दा बढी ब्यापार हुने १ सय मुलुक मध्ये नाफाको कारोबार हुने देश त तीन मात्र छन् । ठूला १ सय ब्यापार साझेदार मध्ये निर्यात बढी हुने मुलुक नर्वे (५८ औं स्थान), स्लोभेनिया (९५) र अफगानिस्तान (१००) छन् ।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले करीब १५ करोड रुपैयाँ बराबरका वस्तु नर्वेबाट आयात गरेको छ भने १६ अर्ब ४८ करोड रुपैयाँको बस्तु निर्यात गरेको छ । नर्वेसँगको ब्यापार नाफा १ करोड ५१ लाख रुपैयाँ छ ।

त्यसैगरी स्लोभेनियासँगको ब्यापार १ करोड १५ लाख रुपैयाँ र अफगानिस्तानसँगको ब्यापार १ करोड ४६ लाख रुपैयाँले नाफामा छ । नेपालले २ करोड ३७ लाख रुपैयाँ बराबरको सामान स्लोभेनिया पठाएको छ भने २ करोड २८ लाख रुपैयाँ बराबरको सामान अफगानिस्तान पठाएको छ ।

कुल ४६ मुलुकसँग नेपालको निर्यात ब्यापार शून्य छ अर्थात त्यताबाट यहाँ वस्तु आइरहेका छन् तर नेपालबाट भने सामानजाँदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here