काठमाडौं, १ कात्तिक । विश्व बैंकले शैक्षिक गरीबी घटाउन विकासशील मुलुकहरुलाई सहयोग गर्ने घोषणा गरेको छ ।
केही मुलुुकहरुले शैक्षिक क्षेत्रको सुधारमा पछिल्ला केही दशकमा उल्लेख्य प्रगति गरे पनि अधिकांश विकासशील मुलुकहरुको अवस्था नाजुक भएको भन्दै उसले सन् २०३० सम्ममा शैक्षिक गरीब आधामा झार्ने घोषणा गरेको छ ।
पढ्न नसक्ने वा सामान्य कथा बुझ्न नसक्ने दश वर्ष वा त्यो भन्दा माथिका मानिसहरुको प्रतिशतलाई शैक्षिक गरीबी (लर्निङ पोभर्टी) भनिन्छ ।
विश्व बैंक र युनेस्को इन्स्टिच्युट अफ स्टाटिस्टिकले संयुक्तरुपमा विकास गरेको डाटाबेसले न्यून र मध्यम आय भएका मुलुकहरुका करीब ५३ प्रतिशत बालबालिकाले प्राथमिक तहको शिक्षा पूरा गरे पनि सामान्य पाठ राम्रोसँग पढ्न र बुझ्न असमर्थ रहेको तथ्य पत्ता लगाएको छ । गरीब देशहरुमा त्यस्तो संख्या ८० प्रतिशतसम्म रहेको अनुमान गरिन्छ ।
अशिक्षासरह नै मानिने यस्तो कमजोर शिक्षाले शैक्षिक, आर्थिक तथा दीगो विकासका लक्ष्य प्राप्तिलाई झनै चुनौतिपूर्ण बनाएको छ ।
केन्या, इजिप्ट र भियतनामजस्ता केही मुलुुकले शैक्षिक सुधारमा उल्लेख्य प्रगति गरेका छन् र त्यस्तो उपलब्धी हासिल गर्न सकिन्छ भन्ने पनि प्रमाणित गरेका छन् ।
केन्याले शिक्षक र शिक्षालाई प्रविधिमैत्री बनाएको छ, हरेक बालबालिकाको हातमा पाठ्यपुस्तक समयमै पठाएको छ र विद्यार्थीको तह सुहाउँदो पाठ्य सामग्री विकास गरेको छ ।
त्यसैगरी, इजिप्ट मा सरकारले सम्पूर्ण पाठ्यक्रम र मूल्यांकन प्रणाली नै परिवर्तन गरेको छ । विद्यार्थीहरुको मूल्यांकन परीक्षामा मात्र होइन, वर्षैभर भइरहन्छ जसले उनीहरुलाई सिक्न प्रेरित गर्छ नकि सर्टिफिकेट लिन ।
त्यस्तै, भियतनामले पाठ्यपुस्तकलाई सर्बसुलभ बनाएको छ भने शिक्षक र विद्यार्थीको अनुपस्थिति घटाउन विभिन्न उपाय अपनाएको छ ।
तर, अरु धेरै मुलुकहरुमा प्रगतिको दर ज्यादै कम भएको विश्व बैंकले बताएको छ ।
शैक्षिक गरीबी आधाले घटाउने कुरा संभव त छ तर त्यसका लागि राजनीतिक, आर्थिक र व्यवस्थापकीय प्रतिवद्धताहरुको आवश्यकता पछ, बैंककी ग्लोबल एजुकेशन निर्देशक जाइम सावेद्रा भन्छिन् ।
तर, सामाजिक तथा आर्थिक विकासका लागि लर्निङ पोभर्टीलाई शून्यमा झार्नु ज्यादै जरुरी छ । यस कार्यमा बैंकले न्यून र मध्यम आय भएका मुलुकहरुलाई तीन क्षेत्रमा सघाउने भएको छ ।
पहिलो हो साक्षरता नीति निर्माण जसमा राजनीतिक तथा प्राविधिक प्रतिवद्धता लिने देखि योजनाका लागि बजेट व्यवस्थापन, पाठ्यक्रम, शिक्षकको तालीम, पाठ्यपुस्तकको उपलब्धता आदि छन् ।
दोस्रोमा सम्पूर्ण शिक्षा प्रणालीको सुधारका लागि नयाँ उपाय अपनाउने छ । यसमा शिक्षक र विद्यार्थी दुवैलाई प्रोत्साहन गर्ने, कक्षाकोठाको आधुनिक व्यवस्थापन गर्ने, सुरक्षित र समावेशी स्कुल बनाउने कुरा समेटिएका छन् ।
त्यसैगरी, तेस्रोमा अनुसन्धानको कुरा छ जसले सिकाई प्रक्रियालाई अझ प्रभावकारी र गतिशिल बनाउने कुराको खोजी गर्नेछ ।