गोदावरी पुष्प मेलाः दुई दिनमा २१ हजारको अवलोकन, ३७ लाखको कारोबार

काठमाडौं, ३ कात्तिक । काठमाडौंको जावलाखेल खेल मैदानमा सञ्चालिन गोदावरी फूल मेला दुई दिनमा २१ हजारले अवलोकन गरेका छन् ।

चार दिने ‘१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७६’ कात्तिक १ गतेबाट सुरु भएको हो ।

तिहार र छठको अवसर पारेर आयोजना गरिएको यस मेलामा सर्वसाधारण र पुष्प पारखीको भीड देखिन्छ । मेला सुरु भएको पहिलो दिन अर्थात कात्तिक १ गते ६ हजार जनाले प्रदर्शनी अवलोकन गरेको कार्यक्रम संयोजक जेबी तामाङ्गले बताए ।

‘तिहार र छठको अवसर पारेर सुरु गरिएको यो मेलामा पुष्प पारखिहरुको घुँईचो नै लागेको छ’ उनले भने ‘पहिलो दिन ६ हजार जनाले मेला अवलोकन गरेकोमा दोस्रो दिन १५ हजार भन्दा धेरै मानिसहरु यहाँ आएका छन् ।’

दुई दिनमै ३७ लाखको फूल बिक्री

कार्यकम संयोजक तामाङ्गका अनुसार मेलामा ३७ लाख रुपैयाँ बराबरको फूलका विरुवा बिक्री भएका छन् ।

‘मेला सुरु भएको दुई दिनमा नै करीब ३७ लाख रुपैयाँ बराबरको फूल विक्री भएको छ,’ उनले भने ‘यो माग र उपभोक्ताको फूलप्रतिको मोहले व्यवसायीहरु उत्साहित भएका छन् ।’

मेलामा कस्ता कस्ता फूल ?

मेलामा गोदावरी, सयपत्री, मखमली, मनि प्लान्ट जस्ता फूलहरु समावेश गरिएका छन् ।

यसका साथै पुष्प व्यवसाय गर्न, घरआँगन बगैंचा सजाउन चाहिने सबै प्रकारका फूलहरु मेलामा रहेका छन् । यसका साथै बगैंचा र गमला तथा आगनमा रोपिएका फूलहरु गोडमेल गर्न आवश्यक पर्ने औजारहरु पनि मेलामा पाइन्छन् ।

देश बाहिरका १६ नयाँ प्रजातिका गोदावरी फूल

यो मेलाको शिर्षकमा पनि गोदावरी फूल समावेश गरिएको कारण गोदावरी प्रजातीका फूलहरु यस मेलाको मूख्य आकर्षक भएको संयोजकम तामाङ्गले बताएका छन् ।

‘यो मेलामा हामीले गोदावरी फूललाई मुख्य आकर्षणको रुपमा राखेका छौं,’ उनले भने, ‘अन्य देशहरुबाट माउबोट आयात गरी उत्पादन गरिएको करिब १६ नयाँ प्रजातीका गोदावरी फूलले मेलालाई अझै आकर्षित बनाएको छ ।’

पुष्प व्यवसायमा आत्मनिर्भर बन्दै नेपाल

नेपालमा वि.सं २०११ सालबाट नै सामान्य रुपमा सुरु भएको पुष्प व्यवसायले पछिल्लो समय राम्रो बजार पाएको तामाङ्ग बताउछन् ।

केही समयसम्म फूलको लागि पूर्णरुपमा भारतमा मात्रै निर्भर रहेपनि अहिले आएर केही मागको आपूर्ति स्वदेशी फुलबाटै हुने गरेको छ ।

‘पुष्प व्यवसायको बजार विस्तार हुँदै छ,’ उनले भने, ‘त्यसका साथै उत्पादन पनि बढेकाले विस्तारै हामी आत्मनिर्भरताको मार्गमा अगाडि बढिरहेका छौं ।’

४३ जिल्लामा ७ सय पुष्प व्यवसायी

आर्थिक वर्ष २०७५÷७६ सम्म आईपुग्दा नेपालका ४३ जिल्लाका ७ सय भन्दा धेरै मानिसहरु पुष्प व्यवसायमा लागेका छन् ।

हाल नेपालमा १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्प खेती हुँदै आएको छ जसमा ४३ हजार ५ सय भन्दा धेरै मानिसहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजगारी पाएका छन् ।

पुष्प व्यवसायले आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

कात्तिक ४ गतेसम्म चल्ने उक्त मेलामा ३५ हजार भन्दा धेरै मानिस आउने र ५० लाख रुपैयाँ भन्दा धेरैको कारोबार हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here