घट्न थाल्यो तरकारीमा विषादी प्रयोग,महिनामा १/२ वटा तरकारीमा मात्रै विषादी

जितेन्द्र खनाल

काठमाडौं, ६ कात्तिक । कालिमाटीमा भित्रने गरेको तरकारीहरुमा विषादीको मात्रा कमी आउन थालेको छ ।

कृषकहरु सजग बन्दै गएपछि केहि समय अघि व्यापक चर्चा पाएको विषादीको प्रयोगमा कमी आउन थालेको कालिमाटी फलफूल तथा तरकारी बजारका विषादी परिक्षण शाखाका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेले बताए ।

केही समय अघि तरकारीमा धेरै मात्रामा बिषादीको प्रयोग भएको भन्दै उपभोक्ताहरु तरकारी किन्न पनि डराउने गर्थे, तर वर्तमान समयमा भने यस्तो समस्या धेरै कमी आएको घिमिरेको भनाई थियो ।

‘हामी प्राय दैनिक रुपमा नै विषादी जाँच गछौं’ उनले भने ‘वर्तमान समयमा तरकारी खानको लागि डराउनु पर्ने स्थिती छैन् ।’

महिनामा १/२ तरकारीमा मात्रै विषादी प्रयोग
अधिकृत घिमिरेका अनुसार वर्तमान समयमा कालिमाटी तरकारी बजारमा आएका तरकारीहरुमा महिनामा १/२ वटा तरकारीमा मात्रै मापदण्ड विपरीत विषादी प्रयोग हुने गरेको पाईएको छ ।

‘पछिल्लो समय भदौ १८ गते काभ्रेबाट आएको बोडीमा मापदण्ड विपरीत विषादी प्रयोग भएको पाईएको थियो’ उनले भने, ‘हामीहरु दुई प्रकारका विषादी मात्रै परिक्षण गछौं र कालिमाटीमा आएका तरकारीमा ति दुई प्रकारका विषादी प्रयोग धेरै कम मात्रामा भएको पाईएको छ ।’

यी तरकारीमा अझै केही मात्रामा विषादी प्रयोग

बाली अधिकृत घिमिरेका अनुसार अझैपनि केही तरकारीमा भने विषादी प्रयोग हुने गरेको छ । खासगरी जाँच गर्दा काभ्रेको बोडी र धादिङ्गको काउली र करेलामा केही विषादीको मात्राहरु देखिएको छ ।

‘धेरै मात्रामा त होईन्, केही मात्रामा भने धादिङ्ग र काभ्रेको तरकारीमा विषादी पाईएको छ’ उनले भने ‘यो मात्रा पनि घट्दो क्रममा छ ।’

भारतबाट आएको केरा र आलुमा विषादी

भारतबाट आउने गरेको केरा र आलुमा विषादी प्रयोग हुने गरेको पाईएको अधिकृत घिमिरेले बताए । खासगरी केरा पकाउनको लागि र आलु नकुहियोस् भन्नको लागि विषादीको प्रयोग हुने गरेको उनको भनाई छ ।

‘भारतबाट आएका केरा र आलुमा पनि केही मात्रामा विषादी प्रयोग हुने गरेको पाईएको छ’ उनले भने ‘केरा पकाउन र आलु नकुहियोस् भन्नको लागि विषादी प्रयोग गरिने रहेछ ।’

सजग बन्दैछन् कृषक

अधिकृत घिमिरेका अनुसार कृषकहरु पनि सजग बन्दै गएका छन् । केही समय अघि व्यापक रुपमा चर्चा पाएको तरकारीमा विषादी प्रयोगका समाचारले कृषकहरु पनि झस्किएको उनको भनाई थियो ।

‘विषादी मानव स्वास्थ्यको लागि हानीकारक छ भन्ने कुराको ज्ञान कृषकहरुले पनि बुझ्न थालेका छन्’ उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here