जुससहित सबै चिनीयुक्त पेय पदार्थ सेवन असामयिक मृत्युको खतरा !

काठमाडौं । सबै घरमा हल्का पेय पदार्थका नाममा विभिन्न गुलियो पेय पदार्थ राखिन्छ । चिनीयुक्त पेय पदार्थहरुमा एकदम थोरै वा कुनैपनि पौष्टिक तत्व हुँदैन भने क्यालोरी चाहिँ अधिक हुने गरेको छ जसकारण पनि यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको बताइन्छ ।

तर, डब्बामा प्याक गरिएका जुस,चिनीयुक्त पेय पदार्थ खानु असामयिक मृत्युको खतरा भएको अध्ययनले देखाएको छ ।

एक नयाँ अध्ययनले १०० प्रतिशत फलफुलको जुस भनिएका बोतलका पेय पदार्थले समेत असामयिक मृत्युको खतरा बढाउने पत्ता लगाएको छ ।

अध्ययनले पूर्ण रुपमा फलफुलको जुस भएको र कुनै कृत्रिम चिनीयुक्त पदार्थ नमिसाइएको ‘नो एडेड सुगर’ भनेका पेय पदार्थसमेत फलदायक नहुने पत्ता लगाएको हो ।

चिनीयुक्त पेय पदार्थले विशेषगरी बालबालिकामा मोटोपना बढाउने र मधुमेहको जोखिम पनि वृद्धि गर्ने गरेको देखाएको छ । यसअघिका अनुसन्धानले पनि सफ्ट ड्रिङ्क र जुस मुटु सम्बन्धी रोगसँग सम्बन्धित रहेको देखाएको थियो ।

अध्ययनका अनुसार मोटोपना, मधुमेह र रगतमा बोसोजन्य पदार्थ वृद्धि हुनु अत्याधिक चिनी सेवन गर्नुसँग सम्बन्धित छन् ।

यसरी फलफुलका जुस अन्य ड्रिङ्कको तुलनामा राम्रो मानिएपनि बालबालिका र तौल नियन्त्रण गर्न चाहने व्यक्तिहरुले यसको सेवन सिमित रुपमा गर्नुपर्ने बताइएको छ ।

अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स र डाएटरीको सुझाव अनुसार १ देखि ६ वर्षका बालबालिकाले दिनमा ५.२ मिलि–लिटर जुस मात्र सेवन गर्नुपर्छ ।

यसकारण पनि यिनमा हुने कृत्रिम चिनीको बढी खपतले मृत्यु दरको जोखिमलाई प्रभावित गर्न सक्ने बताइएको हो । १३ हजारभन्दा धेरै मानिसमा हालै गरिएको अध्ययनले फलफुलकै भनिए पनि प्याक गरिएका जुस पिउँदा अकालमै ज्यान जाने जोखिम ९ देखि ४२ प्रतिशतले बढाइदिने देखाएको सीएनएनले जनाएको छ ।

जसमा दैनिक १० प्रतिशत वा सो भन्दा बढी क्यालोरीका चिनीयुक्त पेय पदार्थ सेवन गर्ने मानिसमा मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने जोखिम ४४ प्रतिशत रहेको र ५ प्रतिशत भन्दा कम पेय पदार्थ सेवन गर्नेको तुलनामा अन्य स्वास्थ्य समस्याका कारण चाँडै मृत्यु हुने खतरा पनि १४ प्रतिशत रहेको पाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here