निजी सवारी भाडामा प्रयोग नगर्न निर्देशन,निशानामा टुटल-पठाओ

काठमाडौं, ४ मंसिर । यातायात व्यवस्था विभागले निजी सवारीसाधनलाई सार्वजनिक सवारीसाधनको रुपमा प्रयोग नगर्न निर्देशन दिएको छ ।

निजी सवारीसाधनले सार्वजनिक सवारीको रुपमा यात्रु चढाएर पैसा असुलिरहेको गुनासो बढिरहेको बेला विभागले मंगलवार एक विज्ञप्ती जारी गर्दै निजी सवारीसाधनलाई सार्वजनिक सवारीको रुपमा प्रयोग नगर्न निर्देशक जारी गरेको हो । जसको निशानामा टुटल-पठाओ परेका छन् ।

यसअघि पनि र्दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले गैरकानूनी काम गरेको भन्दै विवाद आएको थियो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाण पत्र प्राप्त सवारीलाई निजी सवारी भनिने व्यवस्था छ ।

त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट उल्लेख गरिएको छ ।

व्यवस्था ऐन २०४९ को दफा १२ मा कुनै एक कामको लागि दर्ता भएको सवारीसाधन अन्य कामको लागि प्रयोग गर्न नपाईने व्यवस्था छ । दुईपाग्रे सवारी साधनमा भाडाका यात्रु बोक्ने पठाओ र टुटल नेपाल जस्ता मध्यस्थकर्ता कम्पनीहरू नेपालमा कानूनतः अवैध रहेको देखिन्छ ।

उक्त ऐनमा टेकेर विभागले निजी सवारीसाधनलाई यात्रु चढाएर भाडा असुल्ने कार्य नगर्न निर्देशन समेत दिएको छ ।

हाल नेपालमा टुटल, पठाओलगायत ‘राइड सेयरिङ’ कम्पनीले निजी सवारीसाधनलाई सार्वजनिक सवारीको रुपमा यात्रु चढाएर पैसा असुलिरहेको विभागले जानकारी दिएको छ ।

कानूनको उल्लंघन गरी निजी सवारी साधन सार्वजनिक यातायात सेवाको रुपमा प्रयोग/सञ्चालन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने विभागले जनाएकाे छ।

काठमाडौं उपत्यकामा मोबाइल एप प्रयोग गर्ने उपभोक्ताको सङ्ख्या बढेपछि भाडामा यात्रु बोक्ने मोटरसाइकलहरूको सङ्ख्या धेरै बढेको पाईन्छ ।

सार्वजनिक यातायातको अव्यवस्थाले गर्दा राजधानीमा धेरै नेपाली युवाहरूले यो सेवा प्रयोग गर्ने र सवारीसाधन भएकाहरूले फुर्सदमा केही आयआर्जन गर्ने गरेका छन् ।
ट्राफिक प्रहरीले करिब १ वर्षअघि टुटल तथा पठाओलाई गैरकानूनी रुपमा मोटरसाइकल भाडामा यात्रु बोक्न प्रयोग गरेको भन्दै कारबाही सुरु गरेको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा कारबाही नर्गन भनेपछि अबैध कार्यले वैधता पाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here