काठमाडौं, ९ मंसिर । ‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन त्रिपुरेश्वरस्थित रंगशालाबाट वर्षको पहिलो दिन जनवरी १ मा हुने भएको छ ।
पर्यटन, संस्कृति तथा नागरिक उड्डडयन मन्त्रालयले विशेष समारोहका साथ भब्य रुपमा उद्घाटन गर्न लागेको जानाकारी दिएको हो ।
मन्त्री योगेश भट्टराईले सोमबार नेपाल भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उक्त बारेका जानाकारी दिएका हुन् ।
उद्घाटनका दिन राजधानीमा प्रचारप्रसारका लागि बोर्डहरु राखिनेछ । भने, विभिन्न ठाउँबाट सस्कृति झल्कने विभिन्न झाँकी,र्याली सञ्चालन गरिनेछ र ती सबै रंगशालामा पुग्नेछन् ।
उद्घाटन कार्यक्रममा सहभागी हुने सबैलाई नेपाली कागजमा भ्रमण वर्ष सफल बनाउनका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइने मन्त्री भट्टराईले बताए ।
उद्घाटन राष्ट्रपतिबाट,प्रधानमन्त्रीको सम्बोधन
नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट हुने भएको छ । दशरथ रंगशालामा हजारौं मानिसहरुको बीचमा राष्ट्रपति भण्डारीले उद्घाटन गर्नेछिन् ।
भ्रमण वर्षको उद्घाटनमा ४० वटा देशका पर्यटनमन्त्री, सम्पूर्ण निजामति तथा सरकारी कर्मचारी, सबै प्रदेशका कार्यकारीहरु, मन्त्रिहरु तथा सम्पूर्ण क्षेत्रबाट मानिसहरु सहभागी गराइनेछ ।
पर्यटन वर्ष सफल पार्न सम्पूर्ण साझेदारहरुलाई प्रचारप्रसारमा समेत सहयोग गर्न पर्यटनमन्त्री योगेश भट्टराईले आग्रहसमेत गरेका छन् । उद्घाटन सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अहिलेसम्मकै ठूलो सांगीतिक कार्यक्रम
नेपाल भ्रमण वर्षको उद्घाटन हुने दिन जनवरी १ तारिखको दिन बिहानैदेखि देशैभरि कार्यक्रम सुरु हुनेछन् । बिहानै पशुपतिमा १ सय ८ शंख बजाएर भ्रमण वर्षको उद्घोष हुनेछ । बौद्ध र स्वयम्भूमा सयौं बौद्ध भिक्षूहरुले विशेष मन्त्रोच्चारण गर्नेछन् ।
३ बजे रंगशाला पुग्नेगरी काठमाडौंका विभिन्न स्थानबाट विभिन्न संस्थाका झाँकी र र्याली दशरथ रंगशालामा पुग्नेछन् । पर्यटनसँग सम्बन्धित संस्थाका साथमा सात वटै प्रदेशका सांस्कृतिक झाँकी र र्याली पनि रंगशालामा पुग्नेछन् । कार्यक्रम समारोहमा १ सय वटा लाखे नाँच देखाउने तयारी छ ।
भ्रमण वर्षको ७ दिनअघि सातै प्रदेशका पर्यटकीय स्थल वराहक्षेत्र, जानकी मन्दिर, पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, पञ्चकोशी र शैलेश्वरीबाट ल्याइएका पर्यटन टर्चलाई राष्ट्रपतिसमक्ष बुझाउने पनि कार्यक्रम रहेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले विशेष कला प्रदर्शन गर्नेछन् भने कुटुम्ब, नेपत्थ्यलगायतका देशका चर्चित सांगितिक समूहले अहिलेसम्मकै ठूलो सांगितिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।
बैठकका निर्णयहरु
–मुल आयोजक समिति सदस्यहरुले एक साता भित्रमा आफूले के–के गर्ने भन्ने स्पष्ट कार्यक्रम ल्याउनु पर्ने
–प्रचार सामाग्री त्रिभूवन विमास्थलमा राखिने ।
विदेश जाने विद्यार्थी वा कामदार तथा अन्यले नेपाल भ्रमण वर्षको प्रचार हुने सामाग्री उपलब्ध गराउने ।
विद्यार्थी भए पढ्न गएको कलेजका प्रमुखलाई केही न केही नेपालको उपहार दिनुपर्ने वा कामदार भए आफु कार्यरत कम्पनीको कार्यकारी प्रमुखलाई उपहार दिनुपर्ने
–सवै राजनीतिक दलहरुसंग साझा कार्यक्रमको लागि पहल गरिने ।
–प्रदेश सभाले पनि पर्यटन वर्षको उद्घाटनको चाजोपाजो मिलाएर यसको जानकारी पन्ध्र दिनभित्र भ्रमण वर्ष सचिबालयमा पठाउने ।
–नेपाल भित्र उत्पादन हुने कुनै पनि उत्पादनको प्याकेटको बाहिरी भागमा नेपाल भ्रमण वर्षको लोगो राख्न सबैलाई आग्रह गरिने ।
–नेपाल भ्रमण वर्ष २०२० मूख्य आयोजक समितिमा रहनु हुने विभिन्न संघसंस्था वा व्यक्तिले विदेश भ्रमण गर्दा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको ’boutमा प्रस्तुतीकरण गर्ने ।
–सार्वजनिक स्थललाई झकिझकाउगरी सौन्दर्य बनाउन पहल गर्ने ।
–उपत्यका भित्रका स्थानिय निकायसंगको सहकार्यमा सरसफाई थालिने ।
–दुबईको बुर्ज खलिफा लगायत विश्वको गगनचुम्नी भवनमा नेपाल भ्रमण वर्षको लोगो देखाउन एनआरएन र नेपाली राजदूताबाससंग समन्वय गर्ने ।
–नेपाल भ्रमण वर्षको आधिकारिक गीतमार्फत भ्रमण वर्षको प्रवद्र्धन गर्ने ।