नेपाल क्लियरिङ हाउसले ल्यायो ‘कनेक्ट आरटीजीएस’ कार्यान्वयनमा

काठमाडौं, ३० मंसिर । नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीलाई कार्यान्वयनमा ल्याएको छ।

कनेक्ट आरटिजिएस प्रणाली जडान गरी एनसिएचएलले २४ बैंकमार्फत आरटिजिएस प्रणाली कार्यान्वयनमा ल्याएको हो। आरटीजीएस प्रणालीमा भुक्तानी कारोबार प्रविष्ट गर्न तथा बैंकको बैंकिङ सिस्टमसँग अटोमेटेड गर्न बैंकहरूले ‘कनेक्ट आरटीजीएस’ लाई गेटवेको रुपमा प्रयोग गर्ने छन् ।

अधिकांश बैंकले आरटीजीएस कार्यान्वयनका लागि एनसीएचएललाई इन्टिग्रेसन पार्टनरको रुपमा नियुक्त गरेका थिए, जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङका लागि आवश्यक सिस्टमहरू तथा बैंकहरूलाई स्वसञ्चालन सम्बन्धी सहयोग एनसीएचएलले गरेको छ ।

आरटीजीएस प्रणालीमार्फत ठूलो मूल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबार सदस्य बैंक र वित्तीय संस्थाबीच गरिन्छ । आरटीजीएस प्रणाली सामान्यतया तत्काल फन्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छ्यौट सम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ ।

नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आरटीजीएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रको लागि एक महत्त्वपूर्ण कोशेढुंगाको रुपमा लिइएको छ । आरटीजीएस प्रणाली तथा यसमा गरिने कारोबारको वृद्धिको लागि एनसीएचएलद्वारा प्रदान गरिएको ‘कनेक्ट आरटीजीएस’ बैंक तथा वित्तिय संस्थाको बैंकिङ प्रणालीसँग इन्टिग्रेट गराई आरटीजीएस प्रणालीमार्फत भुक्तानी कारोबार फर्छ्यौटलाई टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ सदस्यहरू जस्तै सरकारी तथा अर्धसरकारी संस्था, पीएसपी/पीएसओ र अन्य सेवा प्रदायकलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारको स्थापना तथा सञ्चालनमार्फत समग्र बैंकिङ क्षेत्रलाई सहयोग पुर्‍याइरहेको छ ।

एनसीएचएलको ‘कनेक्ट आरटीजीएस’ एक थप प्रणाली हो, जसले उद्योगलाई न्यून शुल्कमा सहयोग पुर्‍याउँदै आएको छ । एनसीएचएलसँग उपलब्ध भएका पूर्वाधारलाई विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डको अनुपालनसहित ‘कनेक्ट आरटीजीएस’ बैंक र वित्तीय संस्थाका लागि न्यून मूल्यमा कार्यान्वयनमा ल्याइएको हो ।
उक्त प्रणाली पहिलो चरणमा ‘क’ वर्गका बैंकका लागि प्रदान गरिएको छ भने नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात यसलाई ‘ख’ तथा ‘ग’ वर्गका वित्तीय संस्थालाई पनि उपलब्ध गरिने छ ।

एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीमध्ये विद्युतीय चेक क्लियरिङ, अन्तर बैंक भुक्तानी प्रणाली, ‘कनेक्ट आरटीजीएस’ इ–पेमेन्ट प्रणाली र नेसनल पेमेन्ट इन्टरफेस सञ्चालन गर्दै आइरहेको छ । जसअन्तर्गत ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्था र २० भन्दा बढी पीएसपीएस/पीएसओएस लगायत गैरबैंकिङ संस्था सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here