नवराज कुँवर
अध्यक्ष क्यान महासंघका
नेपाल कम्प्यूटर महासंघ (क्यान) को अध्यक्षमा निर्वाचित भएसँगै नवराज कुँवरले सूचना प्रविधि क्षेत्रको विकास र व्यवसाय प्रवद्र्धनका लागि पहल थालेका छन् । विश्वले प्रविधिमा गरेको विकास र पाएको सफलताबाट नेपाल अझै लाभान्वित हुन सकेको छैन ।
सरकारले सूचना प्रविधिको प्रयोग गरी आर्थिक उन्नति हासिल गर्न र सरकारको पारदर्शिता विकास गरी सुशासन कायम गर्न हालैमात्र डिजिटल नेपाल फ्रेमवर्क पनि तयार गरेको छ ।
यस अवस्थामा सूचना प्रविधि क्षेत्रमा मुलुककै अग्रणी संस्था क्यान महासंघको भूमिका के हुन्छ, नजिकिंदै गरेको क्यान इन्फोटेकको तयारी कस्तो छ र महासंघको अगामी योजना के छ भन्ने विषयमा क्यान महासंघका अध्यक्ष नवराज कुँवरसँग क्लाउड पत्रिका डटकमका जितेन्द्र खनालले कुरा गरेका छन्ः
नेपालमा आईटी उद्योगको आकार कति छ ?
पछिल्ला दिनमा हेर्ने हो भने नेपालका प्रमुख सहरहरुमा आईटी उद्योगहरु व्यापक रुपमा खुलेको देखिन्छ । यी सबै कुराहरुले तथा नेपालीको प्रविधि प्रतिको रुची तथा लगावको कारण आईटी उद्योगको आकारमा वृद्धि हुँदै गएको छ । तर अंकमै यति छ भनेर भन्न सकिने अवस्था भने छैन ।
नेपालमा आईसिटी क्षेत्रमा मुख्य सम्भावनाहरु के के हुन् ?
हामीले विश्वलाई हेर्ने हो भने जुन राष्ट्रले प्रविधिको प्रयोग गरेका छन्, तीनले विकासमा फड्को मारेका छन् । त्यस दृष्टिकोणबाट हेर्ने हो भने सम्भावना धेरै छ । हामीले शिक्षाको विकासको कुरा गरौं वा स्वास्थ्य, पर्यटन, आधुनिक कृषिको कुरा गरौं, यी सबै क्षेत्रमा प्रविधिलाई माध्यमहरुको रुपमा प्रयोग गर्ने हो भने सबैको विकासले तिब्र गति लिन सक्छ ।
यसका साथै रोजगारीको हकमा पनि सूचना प्रविधिमा अपार संभावना छ । सरकारले आफ्नो नीति तथा योजनामा पनि सूचना तथा प्रविधिलाई सूचकको रुपमा राखेको छ । पछिल्लो पटक सरकारले डिजीटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको छ । यसलाई नै सही रुपमा लागू गर्न सक्ने हो भने यस क्षेत्रमा सम्भावना धेरै छ ।
ती सम्भावनाबाट लाभ लिनको लागि मुख्य अड्चन के के छन् ?
त्यसमा दुई वटा मुख्य अड्चन छन् । एउटा सरकारको नीति र अर्को त्यसलाई कार्यान्वयन गर्ने मानिसको सोच । सरकारले ल्याएका कतिपय नीति राम्रा हुँदा-हुँदै पनि असल कार्यान्वयनको अभावमा मुलुक, व्यवसायी र जनता लाभान्वित हुन सकेका छैनन् । त्यसका लागि सरकार र निजी क्षेत्र दुवैमा इमान्दारी आवश्यक छ ।
ब्रोडब्याण्ड इन्टरनेटमा लागेको कर घटाउन मन्त्रीपरिषदले निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको छैन् । किनहोला ?
यो हामीले बारम्बार उठाएको कुरा हो । सूचना प्रविधिको विकासका लागि हामी रगतको रुपमा ब्रोडब्याण्डलाई हेर्छौं । हामीले सरकारलाई कम दरमा ब्रोडब्याण्ड इण्टरनेट उपलब्ध गराउन दबाब पनि दियौं ।
विभिन्न समयमा यसलाई घटाउने भन्ने निर्णय पनि भएको छ । तर, हामीले देखेको र भोग्दै आएको दुःखलाग्ने कुरा के भने नेपालको मन्त्रालयहरुमा नै तालमेल छैन् ।
त्यसकारण पनि यसको कार्यान्वयन नभएको हो की भन्ने लाग्छ । सञ्चार मन्त्रालयले एउटा नीति बनाउँछ, त्यसको लागि टेलिकम, विद्युत प्राधिकरण सबैसँग सहमति गर्नुपर्ने हुन्छ । रोड विभागसँग पनि सहकार्य गर्नुपर्ने हुन्छ ।
यस्ता सरोकारवाला संस्थावीच राम्रो सहकार्य नहुँदा समग्र सूचना प्रविधि क्षेत्रको विकासमा बाधा पुगेको छ । एउटाले निर्णय गर्यो अर्कोले कार्यान्वयन नगर्ने भएकोले समस्या देखिएको जस्तो लाग्छ ।
सरकारले हालैमात्र डिजिटल नेपाल फ्रेमवर्क तयार गरेको छ, त्यसमा क्यान महासंघले कसरी सघाउन र सहकार्य गर्न सक्छ ?
मुख्य त क्यान महासंघको काम भनेको यसको लागि वातावरण निर्माण गर्ने हो । सरकाले लिएको डिजिटल नेपाल सम्बन्धी फ्रेमवर्कमा जति पनि एजेण्डा छन् तीमध्ये ५० प्रतिशतमा क्यान महासंघले सरकारलाई सहयोग गर्न सक्छ । चाहे त्यो तालिमदिने कुरामा होस्, वा प्राविधिकहरु उपलब्ध गराउनेहोस्, त्यसमा हामीसँग विज्ञता र दक्षता छ ।
सरकारले ल्याएको ई—हाटमेला हाम्रो इन्फोटेक जस्तै छ । त्यसकारण सरकारलाई सहयोग गर्न सक्ने धेरै क्षेत्रहरु छन् । हामी सरकारसंग बसेर यो विषयमा छलफल गर्छौं । त्यसबारेमा हामी सरोकारवाला सँग पनि छलफल र अन्तरक्रिया गर्दैछौं ।
सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा राखेको भने पनि खासै लगानी आकर्षित गर्न सकेको देखिएन् । यस विषयमा मुलुक कहाँ चुक्यो ?
यसमा सबैभन्दा ठूलो समस्या भनेको प्रविधि आएपछि मात्रै नीति बनाउने बानी हो । सामान्यतया नीति बनेपछि प्रविधि बन्ने वा भित्राउने भएपनि सूचना प्रविधिको क्षेत्रमा यो कुरा लागु भएको पाइंदैन् ।
सरकार आफै प्रविधि आएपछि प्रविधि हेरेर मात्रै नीति बनाउने गरेको छ । यसले गर्दा समस्या परेको छ । सरकारले समयमा नीति बनाउन कहिल्यै सकेन । यो आउँदै छ, यो हुँदै छ भनेपछि तुरुन्त निर्णय गर्न सकेको भए प्रभावकारी हुन्थ्यो ।
तर, प्रविधिको छलाङ आउछ, ती सामग्रीहरु बजारमा पुगिसकेका हुन्छन् र त्यसलाई हेरेर धेरै पछि नीति बनाउँदा तालमेल नमिलेको जस्तो देखिएको हो ।
सरकारले सूचना र प्रविधिको नीतिलाई खुल्ला र सहज बनाउन सक्यो भने यस क्षेत्रको विकास छिट्टो हुनसक्छ ।
सूचना प्रविधि क्षेत्रका धेरै कम्पनीहरु अनौपचारिक रुपमा सञ्चालनमा भएकाले पनि यस क्षेत्रको विकासले गति लिन नसकेको भन्ने पनि सुनिन्छ नि ?
विकासलाई दुई तरिकाले हेर्नुपर्छ । एक त विदेशको विकास हेरेर नेपालमा विकास नै भएन भन्न मिल्दैन। किनभने हाम्रो यहाँको भौगोलिक अवस्था हिमाल, पहाड, तराईले बनेको देश हो । यहाँ विविधता छ, यस्तो विविधता भएको स्थानमा यस्तै प्रकारका नीति लिएर जानुपर्छ ।
हिजोका दिनमा निजी क्षेत्रबाट सूचना प्रविधिको विकासमा धेरै कामतथा प्रयासहरु भए, सरकारले पनि यस विषयलाई विशेष प्राथमिकतामा राखेर हेरेको छ ।
हामीले पूर्वाधारको विकास मात्रै गर्न सक्यौं भने आगामी ५-७ वर्षमा विकास आफै हुन्छ ।
म स्वयम् सरकारलाई के आग्रह गर्छु भने एउटा राम्रो र उपयुक्त नीति निर्माण गरेर काम गर्ने वातावरण गर्न सकेमा विकास आफै हुन्छ । निजी क्षेत्रलाई त सहज रुपमा व्यवसाय गर्ने र विस्तार गर्ने वातावरण चाहिएको हो ।
सबै प्रदेश र गाउँपालिकामा इन्टरनेट पुगेको छैन् यसको नीतिनिर्माण गर्ने त सरकारले हो नी । त्यसपछि मात्रै निजी क्षेत्रले त्यहाँ इन्टरनेट पुर्याउने र विस्तार गर्ने हो । सस्तोमा कसरी पुर्याउने, ग्राहक र सेवा कसरी विस्तार गर्ने भन्ने कामत निजी क्षेत्रको हो । त्यसकारण पनिसरकाले असलनीतिनिर्माण गर्नुपर्छ ।
इन्फोटेक फागुन २ गतेबाट गर्ने निर्णय गर्नुभयो, इन्फोटेक व्यापारिक थलो मात्रै बन्यो, नयाँ प्रविधि ल्याउने भन्दापनि व्यापार गर्ने नाफा कमाउने मात्रै भयो भन्ने आरोप लाग्ने गरेको छ नि ?
यसमा हामीले बुझ्नुपर्ने कुरा के हो भने प्रतिस्पर्धा जहिले पनि दुई वटाको बीचमा हुन्छ । एउटैमा प्रतिस्पर्धा हुनै सक्दैन । मान्छेका व्यक्ति पिच्छे अनुभवहरु फरक-फरक हुन्छन् ।
नेपालमा इन्फोटेक जस्तो मेला मलाई लाग्छ आजसम्म कसैले पनि गरेको छैन् । कतिपय अवस्थामा ठाउँको अभाव, नीतिअभाव, कानूनको अभावपनि भएको होला । हाम्रो प्रयास भनेको त हामी अन्तर्राष्ट्रिय ब्राण्डहरुलाई नेपाल भित्राउने हो ।
तर त्यसमा पनि व्यवसायीहरुले अनेकौं समस्याहरु झेल्नु परेको छ । बाहिरबाट हेर्दा हामीजति सजिलैसंग भन्छौं,भित्र व्यवस्थापन गर्न त्यत्तिकै गाह्रो हुन्छ ।
हामीले भृकुटीमण्डप जस्तो साधुँरो स्थानमा मेला गर्नुपरेको छ । सानो ठाउँ भएको कारण व्यवस्थापन गर्न यत्तिकै अप्ठ्यारो छ । हामीले हरेक पटक त्यहाँको भाडा तिर्नुपर्छ र त्यो रकमहरेक वर्ष बढीरहेको छ । हामीले ६ दिनको मेलागर्दा झण्डै ५० लाख रुपैयाँ त भाडा तिर्नुपर्छ ।
जति सम्म नयाँ प्रविधि आएन भन्ने कुरा छ, यसमा हिजो इन्फोटेक मात्रै एक मात्र माध्यम थियो जसले सूचना तथा प्रविधिका सामग्रीहरु राख्छ । तर आज इन्टरनेट छ,सामाजिक सञ्जाल छन् जसले मानिसहरुलाई सबै प्रविधिहरुको बारेमा पहिले नै थाहा हुन्छ । यसैकारण पनि नयाँ सामग्री छैनन् जस्तो लागेको हुन सक्छ । तर, हाम्रो अध्ययनले भने यसलाई बढेको देखाउँछ ।
पछिल्ला केही मेलाहरुका तुलना गर्ने हो भने स्टल, अवलोकन गर्ने मानिसहरुको संख्या, व्यापार सबै बढेको छ । मोबाइल मेला छ भने मानिसमा हिजो पनि यही मोवाइल आज पनि यही मोवाइल भन्ने हुन्छ तर, मोवाइलमा के-के परिवर्तन भए, नयाँ कुरा के आयो भन्ने धेरैलाई मतलब हुँदैन ।
त्यसैले मानिसहरुले नयाँ कुरा केही आएन भनेको पनि हुनसक्छ । एउटा हार्डवेयरमा यताको सामानउता जाडेर ल्यायो भने नयाँ देख्छन् तर सफ्टवेरमा के-के नयाँ कुरा आयो भन्ने बुझ्न खोज्दैनन् । यसका साथै कतिपयले नयाँ प्रविधि मेलाको स्टलमा मात्रै देखाउछौं भन्छन्, त्यसैले पनि हामीले अहिले नै यो यो नयाँ छन् भन्न सक्दैनौं ।
उपत्यका बाहिर पनि इन्फोटेक गर्दै हुनुहुन्छ, कस्तो अपेक्षा गर्नुभएको छ ?
हाम्रो लक्ष्य भनेको नै तल्लो भन्दातल्लो स्तरका जनतामा प्रविधि र सूचना प्रवाह गर्नु हो । हामीले गरेका काम हरु राम्रो रहेछ भन्ने कुरा सरकारले ल्याएको पनि ई–हाट बजारको अवधारणाबाट पनि प्रष्ट हुन्छ । ई–हाट बजार भनेको त इन्फोटेक नै हो नि ।
हामीले काठमाडौंमा भएको सूविधालाई ग्रामिण भेगसम्म पुर्याउनको लागि उपत्यका बाहिर पनि इन्फोटेक गर्न लागेका हौं । आगामी वर्षहरुमा उपत्यका बाहिर गरिने इन्फोटेकको संख्या बढाउँदै लान्छौं ।
इन्फोटेकको विषयमा म के भन्न चाहन्छु भने हामीले यो इन्फोटेकमा विदेशको मात्रै नभएर स्वदेशका उत्पादनहरु पनि राख्ने योजना बनाएका छौं । उपत्यकामा मात्रै १सय देखि १ सय ५० सम्म आईटी कलेजहरु छन् । ति कलेजका विद्यार्थीहरुले के गरेका छन्, त्योबाहिर आएको छैन् ।
त्यस्ता विद्यार्थीलाई हौसला स्वरुप एउटा छुट्टै स्टल निर्माण गरेर उनीहरुले उत्पादन गरेको सामग्रीहरु राख्ने वातावरण निर्माण गर्छौं । यसका साथै सरकारले आफूलाई आवश्यक पर्ने सफ्वयेर विदेशबाट ल्याउनुपर्ने बाध्यता छ ।
हामीले यो इन्फोटेकको माध्यमबाट नेपालमा पनि यो छ है भन्ने जानकारी सरकारलाई जानकारी दिने छौं । जो यो उद्योगमा लागेको छ उनीहरुलाई तिमी हरुको क्षेत्र यो हो है भनेर एउटा माध्यमको रुपमा इन्फोटेक लाई प्रस्तुत गर्छौं ।