राष्ट्रिय सभा सदस्य निर्वाचन: दलले पाए चुनाव चिन्ह, कसलाई के ?

काठमाडौं, ९ पुस । ११ वटा राजनीतिक दल राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुँदैछन् । निर्वाचन आगामी माघ ९ गते हुँदैछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरे अनुसार निवेदन दिएका ११ दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ ।

आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्य, नेपाली काँग्रेस रुख, समाजवादी पार्टी पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिह्न प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हलो, राष्ट्रिय जनमोर्चा गिलास, नेपाल मजदुर किसान पार्टी मादल, नेपाल सङ्घीय समाजवादी पार्टी बस, नेपाली जनता दल गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्र्याक्टर निर्वाचन चिह्न प्राप्त गरेको आयोगले मंगलबार जनाएको छ ।

यसैबीच आयोगले उक्त निर्वाचनका सन्दर्भमा सात जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ ।

आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिएका छन् ।

त्यस्तै जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ । न्याय परिषद्को परामर्शमा आयोगले उनीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

सार्वजनिक कार्यतालिका अनुसार पुस १७ गते मतदाता नामावली प्रकाशित हुनेछ । सोही दिन मतदाता नामावली उपर दावी–विरोधको उजुरी दिने समय तोकिएको छ ।

पुस १८ गते उजुरी उपर छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने पुस २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।

सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ ।

मनोनयन भएका उम्मेदवारको नामावली भने २३ गते बिहान १० देखि दिउँसो १ बजेसम्म प्रकाशित गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।
यस्तै, २४ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय तोकिएको छ ।

२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । माघ ९ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदानको कार्यतालिका छ । मतदानपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादी पार्टीका १ र एक जना सरकारबाट मनोनित सदस्यको कार्यअवधि २१ फागुनमा सकिदैछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here