काठमाडौं, २७ पुस । पूँजीगत खर्चको अवस्था र राजश्व संकलन सुस्त बन्दै गएको छ ।
चालू आर्थिक वर्षको पाँच महिनाको राजश्व संकलनको स्थिति हेर्दा सरकार आफैंले निर्धारण गरेको लक्ष्य भेट्टाउन कठिन हुने देखिन्छ ।
भन्सार राजस्व असुली लक्ष्यभन्दा करीब ४ प्रतिशतले कमी देखिएको छ । चालू आर्थिक बर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेको छ ।
तर, पछिल्लो ६ महिनामा ३ खर्ब ६६ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ । भन्सार विभागले मंसिरसम्ममा २ खर्ब ८ अर्ब २७ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
गत आवको मंसिरसम्ममा १ खर्ब ५९ अर्ब ६ करोड ८५ लाख रुपैयाँ राजस्व असुल भएको थियो । यो चालू आवमा संकलन भएको राजस्वभन्दा ३.६८ प्रतिशतले बढी हो ।
बजेटमा निर्धारित लक्ष्य अनुसार समानुपातिक रुपमा राजश्व संकलन गर्ने हो भने प्रतिमहिना कूल लक्ष्यको ८.३३ प्रतिशत अर्थात ९२ अर्ब ६६ करोड ९४ लाख राजश्व संकलन गर्नुपर्दछ ।
सरकारले यो आवमा करमार्फत १० खर्ब ९ अर्व र गैरकरमार्फत १ खर्ब २ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।
हालसम्म करमार्फत ३ खर्ब ४२ अर्ब र गैरकरमार्फत २३ अर्ब ३४ करोड रुपैयाँ कर उठेको छ । सरकारले आयकरमार्फत पछिल्लो ५ महिनामा १ खर्ब ५० अर्ब ८१ करोड रुपैयाँ उठाएको छ । गत बर्षको सोही अवधिमा सरकारले आयकरवापतको १ खर्ब ५६ अर्ब आयकर उठाएको थियो ।
सरकारले चालू वर्षको मंसिर २१ गतेसम्ममा कर शीर्षक अन्तर्गत २ खर्ब ६३ अर्ब ५७ करोड ३६ लाख र गैरकर शीर्षक अन्तर्गत १७ अर्ब २७ करोड ५५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ भने अन्य शीर्षकबाट १२ अर्ब ८९ करोड ९४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
पूँजीगत खर्चको अवस्था झनै नाजुक
आर्थिक वर्ष पछिल्लो ६ महिनामा पनि पूँजीगत खर्चमा कुनै सुधार देखिएको छैन् । चालू आर्थिक बर्षमा १६ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको सरकारले ६ महिनामा जम्मा ३ खर्ब ७१ अर्ब रुपैयाँ मात्रै खर्च गरेको छ ।
तथ्यांक अनुसार पूँजीगत खर्च १२ प्रतिशत हुँदा वित्तीय खर्च भने ९ प्रतिशत भएको छ । यस्तै ९ खर्ब ५७ अर्बको लक्ष्य लिईएको चालु खर्च पनि लक्ष्यको ३१ प्रतिशत मात्रै भएको छ ।