सिंहदरबारको पश्चिम भागको पनि रेट्रोफिटिङ गरिने

काठमाडौं, १९ चैत्र ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ (प्रबलीकरण) गरेर संरक्षण गर्ने बताएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखाएकाले पश्चिम भागको रेट्रोफिटिङ गर्ने गरी प्रकृया अघि बढाएको जानकारी दिए ।

सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा रेट्रोफिटिङ कार्य भइरहेको छ ।
अध्ययनले सिंहदरबारको मुख्य पर्खालहरुमा ठूलो क्षति नभएको, प्रयोग भएका ईंटाहरु बलियो रहेको, केही काठहरु भने फेर्नुपर्ने देखाएको छ ।

ज्ञवालीका अनुसार पुरातात्विक सम्पदा संरक्षणको अवधारणा अनुसार सिंहदरबारको रेट्रोफिटिङ गरिने छ । रेट्रोफिटिङको डिजाइन समेत प्राप्त भइसकेकाले प्रकृया छिट्टै अघि बढ्ने पनि उनले जानकारी दिए ।

प्रतिनिधिसभा रहेको संसद्को पुरानो भवनलाई भत्काएर नयाँ बनाउन सुझाव आएको जानकारी दिँदै ज्ञवालीले पुरानो भवनलाई रेट्रोफिटिङ गरेर संरक्षण गर्ने कि नयाँ संरचना बनाउने त्यसबारे सुझाव दिन पनि सांसद्हरुलाई आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयबाट स्टेट हलका रुपमा कार्यक्रम अघि बढाउन सुझाव आएको उनले बताए ।

सांसद गणेश पहाडीले संसदको पुरानो भवनलाई रेट्रोफिटिङ गर्नु भन्दा भत्काएर अन्तराष्ट्रियस्तरको बनाउन सुझाव दिए ।

बुधबार बसेको विकास तथा प्रविधि समितिको बैठकले निजी आवास पुनर्निर्माण आगामी आर्थिक वर्षमा सक्ने तयारी गरेकोमा प्राधिकरणलाई यसै वर्ष सम्पन्न गर्न निर्देशन दिएको छ ।

‘निजी आवास पुनर्निर्माण पक्रिया यसै वर्ष सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रम रहेकोमा प्राधिकरणको लक्ष्य अर्को आवमा सम्पन्न गर्ने गरी तय गरेको बुझिएको हुँदा समितिको गम्भीर ध्यानाकर्षण भएकोले सो प्रक्रिया चाँडोभन्दा चाँडो सम्पन्न गर्ने कार्यतालिका बनाएर कार्य गर्न प्राधिकरणलाई निर्देश गर्दछ,’ समितिकी सभापति कल्याणी खड्काले भनिन् ।

त्यसैगरी, भुकम्पपछिको पुनर्निर्माणको क्रममा रहेका ग्रामीण सडक, रणनीतिक सडक र खानेपानी आयोजनाहरु प्राधिकरणले नै निर्माण सम्पन्न गरेर मात्र सरोकारवाला संस्थालाई हस्तान्तरण गर्न पनि समितिले निर्देशन दिएको छ ।

यसका साथै, पुरातात्विक एवम् सांस्कृतिक सम्पदा तथा परम्परागत वस्तीहरुको पुनर्निर्माण गर्दा साविकमा केन्द्रित रहेर साँस्कृतिक सम्पदा नबिग्रने गरी पुनर्निर्माण गर्न र रेट्रोफिटिङ प्रविधिबाट निर्माण गर्न सकिनेलाई सोही अनुरुप सुधार गरी लैजान पनि समितिको निर्देशन छ । रेट्रोफिटिङ प्रविधिबाट निर्माण गरिएका संरचना दीर्घकालीन नहुने स्थिति भएमा भने नयाँ निर्माण गर्न उसले सुझाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here