परम्परागत स्वास्थ्यको प्रतिलिपी गुम्ने डर, स्वास्थ्यकर्मीलाई स्थानीय तहमा दर्ता गर्न आग्रह

काठमाडौं, ११ माघ । परम्परागत स्वास्थ्य नेपालको मौलिक स्वास्थ्य पद्धति भए पनि यसको जगेर्ना, सम्वद्र्धन र प्रवद्र्धन गर्न नसक्दा यसको प्रतिलिपि अधिकार गुम्ने चिन्ता सरोकारवालाहरुले गरेका छन् ।

परम्परागत स्वास्थ्य र स्वास्थ्यकर्मीलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्नुको सट्टा निरुत्साहन गरेको उनीहरुको भनाइ छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक)ले राजधानीमा आयोजना गरेको परम्परागत स्वास्थ्यसम्वन्धी राष्ट्रिय परामर्श वैठकमा बोल्दै उनीहरुले राज्यले मौलिक स्वास्थ्य पद्धतिलाई उपेक्षा गरेकोमा आक्रोश व्यक्त गरे ।

रेस्फेकका अध्यक्ष शरदराज वन्तले परम्परागत स्वास्थ्य टुँग्याउन नसकिने मुद्दाको रुपमा रहिरहेको बताए ।

परम्परागत स्वास्थ्यको क्षेत्र धेरै रहेकाले यसको मापदण्ड बनाउन गाह्रो भएको र यसमा परम्परागत स्वास्थ्यकर्मी आफैले यसप्रति विश्वास जगाउनुपर्नेमा पनि उनले जोड दिए ।

‘सहश्राव्दी विकास लक्ष्य र दीगो विकास लक्ष्यमा परम्परागत स्वास्थ्यका कुरा नहुनु बिडम्बनापूर्ण छ । राष्ट्रिय योजना आयोगका दस्तावेजहरुमा पनि यस्ता विषय अटाउन सको छैनन् त्यसैले हामीले संगठितरुपमा आवाज उठाउन आवश्यक छ,’ वन्तले भने ।

आयुर्वेद स्वास्थ्य विभागका महानिर्देशक वासुदेव उपाध्यायले आयुर्वेदिक स्वास्थ्य विभागले परम्परागत स्वास्थ्यकर्मीको परिचय खोल्ने प्रयास गरिरहेको बताए । स्वास्थ्यकर्मी दर्ता हुनुपर्ने नियम बनाउनु पर्छ, उनले भने ।

स्थानीय तहमा दर्ता भएपछि परम्परागत स्वास्थ्यकर्मीको डाटावेस बनाउन सकिने र सोही अनुसार स्क्रिनिङ्ग गर्न सकिने उनल जानकारी दिए ।

उनले भने, ‘अहिले गाँजा र धतुरोबाट औषधी बनाउन सकिन्छ त भनेको छ तर कसरी र कसले केको आधारमा बनाउँछ भनेर भन्न सकेको छैन । यदि प्रमाणित भएको भए निश्चित ठाउँमा गाँजाको खेती गर्न सकिन्थ्यो ।’

परम्परागत स्वास्थ्यकर्मीहरु नेपालको गहना भएको र नेपालका ५० प्रतिशत जनताहरुको पहिलो स्वास्थ्य सेवाको आधार रहेको सरोकारवालाहरुको भनाइ छ ।
रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले अहिले पनि केही रोग लाग्यो कि परम्परागत स्वास्थ्यकर्मी पहिलो सम्पर्क व्यक्ति हुने गरेको र उनीहरुको क्षमता अभिवृद्धि गर्न सके सवैको लागि स्वास्थ्यको पहुँच हुने बताए ।

वनस्पति विभागका महानिर्देशक धनञ्जय पौडेलले परम्परागत स्वास्थ्य विश्वाससँगै संस्कृति पनि रहेको र यसैको आधारमा वनस्पतिको संरक्षण गर्न सकिने बताए । अहिले परम्परागत स्वास्थ्यलाई वैज्ञानिक आधारसँग जोडिनु आवश्यक रहेकोमा उनले जोड दिंदै नेपालमा परम्परागत स्वास्थ्यकै कारण वनस्पतिको उपयोगका बारेमा लिपिवद्ध गर्न सकिने उनले जानकारी दिए ।

डा.बामदेव सुवेदीले नेपालमा ४ लाख परम्परागत स्वास्थ्यकर्मी रहेको जानकारी दिंदै उनीहरुले औपचारिक र विकसित प्रणालीबाट जोडिनुपर्ने धारणा राखे ।

नेपालमा ५–६ हजार वर्षदेखि परम्परागत स्वास्थ्यको अभ्यास भइरहेको र प्राचीनकालमा अस्पताल नै भएको हस्तलिखित पुस्तक राष्ट्रिय अभिलेखालयमा छ । यी ज्ञानको प्रतिलिपि अधिकार विकसित मुलुकले लिन लागिरहेको र सुत्केरी मसला, ज्वानोको समेत अन्यले लिन लागेको अवस्था छ ।

सरकारले परम्परागत स्वास्थ्यको सम्वद्र्धन र प्रवद्र्धनका लागि राजनैतिक प्रतिवद्धता गरी यसको लिपिवद्ध गरी प्रयोगमा ल्याउन प्रचारात्मक अभियान चलाउनुपर्ने विज्ञहरुको माग छ ।
नेपालमा जडिबुटी निर्यात गर्ने १५२ ओटा कम्पनी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here