नेपालमा कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले के कुरामा ध्यान दिने ?

काठमाडौं । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ ।

चीनका अधिकारीहरुको अनुसार यसबाट चीनमा ४ हजार संक्रमित भएका छन् । संक्रमित मध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको छ ।

५१ जना निको भएर घर फर्किएका छन् । हुबेइ प्रान्तमा नोवेल कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् ।

चीन बाहिर जर्मनी, फ्रान्स, नेपाल, अमेरिका, अस्ट्रेलियासहितका देशमा गरी कम्तिमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण युरोप सहित १२ बटा देशमा पुगेको छ ।

यस्तो अवस्थामा नेपालले पनि कोरोना भाइरसको संक्रमणबाट बच्न यी उपायहरु अवलम्बन गर्नुपर्छ:

१. चीनबाट ज्वरो खोकी लिएर आउनेमा कोरोना भाइरसभन्दा इन्फ्लुएन्जा हुने सम्भावना बढी छ। फ्लुको जाँचमात्र छिटो हुँदा पनि धेरै सम्भावित केसको छिटै टुंगो लाग्थ्यो। तसर्थ फ्लु PCR राति/शनिबार नभनी जाँच गर्ने र तुरुन्त रिपोर्ट दिने व्यवस्था मिलाऔं।

२. सरकारले अस्पताल र स्वास्थ्यसंस्थालाई कसरी सम्भावित केसको proactive स्क्रिनिङ गर्ने भनेर निर्देशिका जारी गरोस्। मेरो बिचारमा वुहानबाट आउनेलाई मात्र हैन, पूरै चीनबाट आउनेलाई स्क्रिनिङ गर्नुपर्छ। चीनमै १३ सहरलाई बन्द गरिएको छ। चाँडै पूरै दक्षिण पूर्वी एसियाबाट आउनेको स्क्रिनिङ चाहिनसक्छ।

३. मुख्य नाका एअरपोर्टमा स्क्रिनिङ गर्न एउटा डेस्क राखेर मान्छे कुर्ने हैन, थर्मल बडी स्क्यानरको व्यवस्था तुरुन्त हुन सक्दैन भने चीनबाट आउने प्लेनका यात्रु ओर्लिनेबित्तिकै एकएकको तापक्रम नाप्ने र प्रश्नावली भर्न लगाएर स्क्रिनिङ गर्नुपर्ला।

४. नेपालमै कोरोना भाइरसको कन्फर्मेशन गर्ने जाँच २-३ दिनमै उपलब्ध गराउन हरसम्भव प्रयास गरियोस्। WHO ले पठाइदिन ढिलो गर्दैछ भनेर लाचार जवाफ सुन्नु नपरोस्। स्मरण रहोस्, अलि छुच्चो भएर भन्दा WHO को लागि नेपालमा मर्ने मान्छे केवल आँकडा हुन्। त्यसैले हतार हामीलाई नै हुनुपर्छ।

(फिजिसियन अनुप सुवेदीले फेसबुकमार्फत व्यक्त गरेको विचार)

कोरोना प्रकोप: मृतकको संख्या १ सय ६ पुग्यो, कुन देशमा कति संक्रमित ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here