काठमाडौं, १४ माघ । नेप्सेले त्रैमासिक रुपमा सूचीकृत कम्पनीको वर्गिकरण गरेको छ ।
नेप्सेले मंगलबार चालू आर्थिक वर्षको दोस्रो त्रैमासका लागि नयाँ वर्गिकरण सार्वजनिक गरेको हो । गत वर्ष देखि नेप्सेले त्रैमासिक रुपमा पनि सूचीकृत कम्पनीको वर्गिकरण गर्दै आएको छ ।
नयाँ वर्गिकरण अनुसार १२ वटा वाणिज्य बैंक ‘ए’ वर्गमा परेका छन् ।
वर्गिकरण अनुसार ‘ए’ वर्गमा पर्न सफल बैंकहरुमा बैंक अफ काठमाण्डू, सिटिजन इन्टरनेशनल बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माच्छापुछ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, सानिमा बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
नेप्सेको सूचीकरणमा हाल २११ कम्पनीहरु संलग्न छन्। सो मध्ये १७३ सूचीकृत कम्पनीहरु खराब कम्पनीको अर्थात वर्गीकरणको अन्तिम सूची जेड् समूहमा परेका छन्। ‘बी’ वर्गमा कुनै पनि कम्पनी परेका छैनन् भने ‘जी’ वर्गमा ३२ वटा कम्पनीहरु परेका छन्।
कम्पनीको वर्गिकरण सम्बन्धी विनियमावलीमा ‘ए’ वर्गमा पर्नका लागि क्रेडिट रेटिङ औसतभन्दा माथी हुनुपर्ने र क्रेडिट रेटिङको समय नसकिएको हुनुपर्ने छ ।
धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार ‘ए’ वर्गमा रहने संगठित संस्थाको कम्तीमा एक अर्ब चुक्ता पूँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रहि लाभांश बाँडेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरेको हुनुपर्ने व्यवस्था रहेको छ । त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्छ ।
यस्तै, ‘ए’ वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पूँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन बर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्छ ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) ग मा सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म ‘जी’ वर्गमा राखिने उल्लेख छ । ‘जी’ वर्गको वर्गिकरणमा पनि समावेश हुन नसक्ने कम्पनी ‘जेड’ वर्गमा पर्नेछन् ।
सूचीकृत कम्पनीहरुको दाेस्राे त्रैमासको संसोधित वर्गीकरण सूचीको पूर्ण विवरण यहाँ हेर्नुहोस् ।


























