१६ कम्पनीको सवा २ अर्बको सेयर आउँदै, जलविद्युत क्षेत्रको बढी

काठमाडौं २७, चैत । सेयर बजारमा नयाँ सेयर थपिने क्रम तिब्र बन्दै गएको छ । यही क्रममा डेढ दर्जन कम्पनी प्राथमिक सेयर निष्काशनको तयारीमा छन् । अवको केही महिना भित्रै ती कम्पनीले सर्वसाधारणका लागि सेयर बजारमा ल्याउन लागेका हुन् ।

ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन । बोर्डबाट अनुमति पाएको ४० दिनभित्र ती कम्पनीको सेयर बजारमा आउनेछन् ।

गत सातासम्म बोर्डमा परेको आवेदनका आधारमा १६ कम्पनीले प्राथमिक निष्कासन (आइपीओ) बजारमा ल्याउन लागेका हुन । जसमध्ये ९ वटा जलविद्युत, ६ वटा लघुवित्त र एउटा मर्चेण्ट बैकिङ कम्पनी छ । आवेदन दिएका कम्पनीमा अधिकांशको प्रक्रिया प्राथमिक चरणमा छ भने, तीन वटा कम्पनीको प्रक्रिया अन्तिम चरणमा छ ।

सबै कम्पनीले निष्कासन अनुमति पाएपछि करिब २ अर्ब २६ करोड रुपैयाँ बराबरको २ करोड २८ लाख २७ लाख ५ सय ७५ कित्ता सेयरमा सर्वसाधारणले लगनाी गर्न सक्नेछन् । प्रतिसेयर अंकित मूल्य १ सयका दरले ती कम्पनीको सेयर बजारमा आउने छ ।

परेका आवेदनमध्ये ६ वटा कम्पनीको आवेदनउपर प्रारम्भिक अध्ययन भइरहेको, एउटाको अध्ययन पछि प्रतिक्रिया (कमेन्ट) पठाइएको, ६ वटाको प्रतिक्रिया अध्ययनको काम भइरहेको र तीनवटाको आवेदन प्रतिक्रियाको पर्खाइमा रहेको बोर्डले जनाएको छ ।

निष्कासनको तयारीमा रहेका जलविद्युत कम्पनीमा लफिङ बुद्ध पावर नेपाल, सीईडीबी हाइड्रो फन्ड, गर्जङ उपत्यका हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, मैलुङखोला जलविद्युत कम्पनी, शुभम पावर, शिवश्री हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल र हिमाल दोलखा हाइड्रोपावर छन् ।

तीमध्ये लफिङ बुद्ध, गर्जङ उपत्यका, रुरु, शिवम पावरले आयोजना प्रभावित स्थानीयबासी र बाँकीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेका छन् ।

बोर्डमा आवेदन दिएका लघुवित्त कम्पनीमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, गोडीघोडा लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, गुरास लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्न लागेका हुन ।

हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ सय ३ वटा संस्था सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये १ सय ४९ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका छन् । बाँकी १८ वटा उत्पादन र प्रशोधन, २४ वटा जलविद्युत् कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेको नेप्सेले जनाएको छ ।

सेयर बजारमा वित्तीय क्षेत्रको प्रभुत्व रहदै आएको छ । कुल सूचीकृत कम्पनीमध्ये ८० देखि ८५ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको छ ।

यसकारण राष्ट्र बैंक र बिमा समितिका स–साना निर्देशनले पनि सेयर बजार नराम्ररी प्रभावित हुदै आएको जानकारहरु बताउँछन् । जलविद्युत कम्पनीको संख्या बढेसँगै सेयर बजारमा वित्तीय क्षेत्रका कम्पनीको प्रभुत्व घटने उनीहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here