राष्ट्र बैंकले ल्यायो कोरोनालक्षित वित्तीय प्याकेज : चैतमा तिर्नुपर्ने किस्ताको म्याद असारसम्म सर्यो

काठमाडौं, १६ चैत । सरकारले चैतमा तिर्नुपर्ने बैंकको किस्ताको म्याद असारसम्म सारेको छ । कोरोनाभाइरससँग देश जुधिरहेका बेला आर्थिक क्रियाकलाप करीव ठप्प छ ।

यस्तो अवस्थामा बैंकबाट लिएको कर्जा तिर्न सम्भव थिएन । बैंकका ऋणीले अब चैतमा तिर्नुपर्ने किस्ता असार मसान्तसम्म तिर्न सकिने गरी व्यवस्था मिलाउन राष्ट्र बैंकले सबै वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

कुनै व्यवसायी वा व्यक्तिले चैतमै भुक्तानी गर्न चाहेमा भने मासिक वा त्रैमासिक ब्याज रकममा १० प्रतिशत छूट पाउने भएका छन् ।

यसरी ब्याज छूट दिँदा आधार दरभन्दा कम गर्न नपाइने निर्णय समेत राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थालाई उपलब्ध गराइने कर्जाको ब्याजदर भने ५ प्रतिशत कायम गरिएको छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर ५ प्रतिशत, नीतिगत दरको रुपमा रिपो दरलाई ३.५ प्रतिशत र तल्लो सीमाको निक्षेप संकलन दरलाई २ प्रतिशत कायम गर्ने निर्णय समेत राष्ट्र बैंकले गरेको छ ।

चैत महिनामा नविकरण गर्नुपर्ने कर्जा नविकरण नभएको आधारमा चैत मसान्तमा सुक्ष्म निगरानी वर्गमा वर्गिकरण गर्न समेत अनिवार्य नगरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

चैत महिनामा भुक्तानी अवधि तोकिएका सम्पूर्ण चालुपूँजि प्रकृतिका अल्पकालिन कर्जाहरुको भुक्तानी अवधी ६० दिन सम्म थप गरिएको छ ।

पर्यटन र यातायात व्यवसायीलाई थप सुविधा

२०७६ पुस मसान्तसम्म ब्याज तथा साँवा नियमित भुत्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणीले अल्पकालिन कर्जा माग गरेमा साँवा तथा ब्याज बक्यौता रहेता पनि निश्चित सीमासम्म सक्षिप्त प्रक्रिया अपनाई ५ दिन भित्र कर्जा प्रवाह गर्नु पर्ने भएको छ ।

यस्तो स्वीकृति गर्दा ०.२५ प्रतिशतभन्दा बढी शूल्क लिन नपाइने भएको छ । स्वास्थ्य सामग्री किन्ने प्रयोजनका लागि कर्जा माग भएमा पनि बढीमा ५ दिन भित्र कर्जा उपलब्ध गराउनु पर्ने भएको छ ।

विद्यूतीय कारोबारवालाई प्रोत्साहन गरी असार मसान्तसम्म कुनै शुल्क नलाग्ने व्यवस्था गर्न समेत निर्देशन दिइएको छ । राष्ट्र बैंकबाट प्रदान गरिने पुनर्कर्जा सुविधा कोरोनाबाट प्रभावित साना तथा मझौता उद्यमीलाई प्राथमिकता दिइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here