आनन्द ढकाल
-भगवान श्रीराम जब सम्पुर्ण राक्षस सहित रावणको बध गर्दै पृथ्वी माताको भार हरण पश्चात् अयोध्या फर्कनुभयो.. वहाँको राज्याभिषेक भयो ।जगज्जननी माता जानकीको ब्राम्हण ,ऋषिमुनी प्रति अपार श्रद्धा थियो । वहाँले आफ्नै हातले भोजन तयार गरेर आमन्त्रित ब्राह्मण ,ऋषिमुनी सहित राजप्रासादका सवै सदस्यलाई खुवाउनुहुन्थ्यो ।
एक दिन माता जानकी अलि उदास देखिनुहुन्थ्यो ,अन्तर्यामी भगवान ले प्रश्नसुचक नेत्रले हेर्नुभयो अनि माता सीता ले भगवान श्रीरामलाई निवेदन गर्नुभयो- “हे नाथ ! हजुरबाट छुपेको त यो ब्रह्माण्ड मै के छ र ?
बडो प्रेममय तवर ले श्रद्धाका साथ भोजन वनाउँछु ,तर आमन्त्रण गरिएका जो ब्राह्मण देवताहरू आउनुहुन्छ ,थोरै मात्र खाएर उठ्नुहुन्छ ,कसैलेपनि ठिक तरिकाले भोजन गरेजस्तो लाग्दैन । त्यसैले हे स्वामी ! यस्तो ब्राम्हणलाई आमन्त्रण गर्नुहोस् ,जसलाई पेटभर भोजन खुवाएर म आफु संतुष्ट हुनसकुँ” ।
प्रभु श्रीराम भन्नुहुन्छ … “त्यसो नभन देवी ..! कुनैदिन त्यस्तो ब्राह्मणदेव आउनुभयो भने त तिमी भोजन बनाउदा बनाउदा थाक्छ्यौ । तिमीले असली ब्राह्मण त देखेकै छैनौ ।ठीक छ …म कुनै दिव्य ब्राम्हणलाई आमन्त्रित गर्छु “।
भगवान श्रीराम समाधि लगाएर अगस्त्य मुनि को स्मरण गर्दै ध्यानमा जानुभयो … अगस्त्य मुनि तिनै हुन् , जो तीन अंजुलीमा पूरै समुद्रलाई पिउनुहुन्थ्यो …! मुनि ले भन्नुभयो …”मेरो लागि के आज्ञा छ प्रभु…?”
भगवान श्रीराम भन्नुहुन्छ …” हे मुनिवर ! सीताजी ब्राम्हण भोजन गराउनु पर्यो भनेर बडो हठ गर्दैछिन् ।त्यसैले आज आफ्नो असली रुप देखाउनुहोला “।
अगस्त्य मुनि मन्द मुस्कानका साथ आउनुभयो,माता सीताले प्रणाम गर्नुभयो ,चरण धोएर आसनमा राख्नुभयो ।
श्रीराम भन्नुहुन्छ …”हे मुनिवर ! आज तपाइँ यतै भोजन गरेर सीता जी को आतिथ्य स्वीकार गर्नुहोस् …!”
अगस्त्यजी भन्नुहुन्छ …” प्रभो भोजन गर्ने इच्छा त छैन,र पनि हजुरको आज्ञा अनि माता जानकीको संत सेवा गर्ने दृढ चाहनालाई नजरअन्दाज गर्न सक्दिन, हे रघुनन्दन ! त्यसैले जे जति रुच्छ थोर वहुत भोजन ग्रहण गर्छु।
जानकीजी भन्नुहुन्छ …”हे ऋषिवर ! मेरो इच्छा छ कि ,आफ्नै हातले भोजन बनाएर हजुरको सेवा गरुँ” ।
-“हुन्छ…हुन्छ देवी किन नहुनु ……!”
माता सीता ले अगस्त्य मुनिलाई यसो नियालेर हेर्नुभयो …. दुब्लो-पातलो,ख्याउटे ब्राह्मण हुनुहुन्छ , कति नै पो खानुहोला र…? भान्साको द्वार नजिकै ऋषिवरको आसन तयार भयो स्वर्ण थालमा अनेक प्रकारका व्यंजन पस्किएर अगस्त्य मुनिको सामुन्ने राखियो ।मुनिले यसो छ्ड्के नजरले भगवान श्रीरामलाई हेर्नुभयो । श्रीरामले मन्द मुस्कानका साथ इशारा गर्नुभयो ,”महर्षी ! अब सुरु गर्नुहोस् ” ।
मुनिवरले पुन: माता जानकी तर्फ हेर्नुभयो अनि सीताजी बाट पनि भोजन ग्रहण गर्न अनुरोध गर्नुभयो । जो आज्ञा देवी … भन्दै पुन: भोजनको थालीमा हेरेर हाँस्नुभयो ।
अगस्त्यजी हाँसेको देखेर पुरुषोत्तम भगवान अनि माता जानकी प्रश्नसुचक दृष्टिले ऋषिलाई हेर्न लाग्नुभयो । ऋषि भन्नुहुन्छ.. देवी ! यति भोजन त म कहाँ राखुँ? आँखा,कान, नाक….
माता हात जोड्दै भन्नुहुन्छ-“किन महाराज”?
-” देवी ! भोजन गराउनु नै हुन्छ भने ठिक ढंगले गराउनुहोस् ,परन्तु…, जे जस्तो हुन्छ त्यसैमा चित्त बुझाउनुपर्ला ।
-“महाराज ! हजुर भोजन ग्रहण गर्न सुरु गर्नुहोस् ,म तयार गर्दै हजुरलाई यथेष्ट भोजन गराउँछु ”
मध्यान्ह समयबाट भोजन शुरु भयो…संन्ध्याकालिन समय हुनलाग्यो ऋषिवरलाई डकार समेत आएको थिएन, सीताजी ले पच्चिसौँ पटक भोजन बनाउदै खुवाउदै हुनुहुन्थ्यो । जब सँन्ध्याकाल भयो ,मुनि जी लाई सोध्नुभयो … “अरु चाहियो ऋषिवर” ?
अगस्त्यजी भन्नुहुन्छ …”अझै ठिक ढंगले सुरुवात नै भएको छैन माता , अहिल्यै देखि नै सोध्न लाग्नुभयो “?
“होइन गुरुदेव ! यस्तो कुरा होइन, हजुर श्रद्धापुर्वक भोजन गर्नुहोस् म लेराउँछु “।
जानकीजी ले गणेशजी का दुवै पत्नी ऋद्धि-सिद्धि लाई आव्हान गर्नुभयो… देवीहरू हाजिर हुनुभयो र भन्नुभयो …”आज्ञा माते !”
जानकीजी भन्नुहुन्छ …”हेर देवी हो…!
महाराज अगस्त्य मुनि भोजन गर्दै हुनुहुन्छ ,जसरी हुन्छ वहाँ यथेष्ट भोजन गरि उठेको हुनुपर्छ , सारा भण्डार खुला गर, तर महात्मा भोकै रहनु हुँदैन” । ऋद्धि-सिद्धि जहाँ बस्छन् त्यस ठाउँमा त के कमि हुन्थ्यो र ? ऋद्धि-सिद्धि भोजन तयार गर्दै पस्किदै रहनुभएको छ … , महाराज बडो श्रद्धासाथ खाँदै रहनुभएको छ …..!
सात दिन भयो, महात्माजी को अखण्ड भोजन चलिरहेको छ, …ऋद्धि-सिद्धि पनि छट्पटीमा पर्नुभयो। माता जानकीले श्रीहनुमानजी लाई आव्हान गर्नुभयो …हनुमानजी आएर हलवाई को काम गर्न थाल्नुभयो…र भन्नुहुन्छ…”अब म हेर्छु कि कसरी नभरिदो रहेछ ऋषि को पेट ? तर हनुमानजी को पनि केही जोडचल्नेवाला थिएन ..। फेरि नव निधिलाई आव्हान भयो,स्वयं माता जानकी, ऋद्धि सिद्धि,नवनिधि,हनुमानजी सबैजना मिलेर भोजन तयार गर्दै अगस्त्य ऋषिलाई खुवाउन भ्याइनभ्याई भइरहेको थियो ।
पन्ध्र दिन पूरा भयो, अखण्ड भोजन चलिरहेको छ। सोह्रौ दिन व्यतित भयो तैपनि अगस्त्य मुनिको अनुहारमा लाजको कुनै पनि चिन्ह छैनन् ।उहाँ निर्वाध रुपले भोजन खानमा व्यस्त हुनुहुन्छ । सत्रौँ दिन जानकीजी आउनुभयो र महाराजलाई प्रणाम गर्नुभयो ..!
-“सौभाग्यवती भव: देवी…! तर पुत्री…! म अहिले कुनै कुरा गर्न असमर्थ छु, किनकि भोक अति लागेको हुँदा म भोजन खान मै व्यस्त छु । त्यसैले म पछि कुरा गरुँला “।
-“म अहिले कुनै कुरा गर्न आएकी होइन मुनिवर , हजुरको भोजन आधा भएपछि पानी पिउनु होला भनेर सम्झाउन आएकी ।
-“देवी ! चिन्ता गर्नु पर्दैन …जब आधा भोजन हुन्छ तब पानी पनि पिउँला … …”
“हे भगवान् ! यिनी कस्ता महात्मा हुन् …? अझै आधा भोजन भएको छैन रे.. …!” मन मनमनै सोच्नुभयो माता जानकीले …!
महाराजजी को भोजन चलिरहेको थियो …अठारौं दिन भगवान श्रीराघवेन्द्र आउनुभयो …श्रीरामजी ले देख्नुभयो कि माता जानकीजी चिन्तित हुनुहुन्छ … हनुमानजी पनि चिंता मै हुनुहुन्छ …ऋद्धि-सिद्धि र नवनिधि सबैजना ले हार मानिसक्नु भएको छ …श्रीरामजी ले माता जानकीजी संग सोध्नुभयो …”के भयो देवी…? ब्राह्मण भोजन त चलिरहेको छ नि होइन” ……? जानकीजी भन्नुहुन्छ …”हे प्रभु…!यस्ता ब्राम्हणलाई अब उप्रान्त मेरो घरमा कहिल्यै आमन्त्रण नगर्नु होला …!”
-“किन…?”
-“यो पनि कुनै तरिका हो भगवन् …? मेरो आस्था अनि श्रद्धा नै धर्मरायो …अठार दिन पूरा हुन लाग्यो … ऋषिवर् भन्नुहुन्छ ,अझै आधा भोजन पनि खाएको छैन भनेर …!”
-” तर तिमी सधैं भन्थ्यौ नि त …भरपेट भोजन गर्ने ब्राह्मण लाई आमन्त्रित गर्नु भनेर, अब गराउ ब्राम्हण देवतालाई भोजन, कृतार्थ बनाउ …!”
सीताजी भन्नुहुन्छ …”अब आइन्दा भुलेर पनि हजुलाई भन्दिन प्रभो .. … बरु यस्तो कृपा गर्नुहोस् कि,यी ऋषिवर् मेरो आतिथ्य सत्कारमा कतै भोकै परेर नजाउन् …!”
तब प्रभु श्रीराम भान्साघरको द्वारमा पुग्नुभयो र बिस्तारै सीताजीलाई भन्नुभयो “बस् अब भोजन बनाउन छोड …!”
ब्रम्हाण्ड नायक भगवान श्रीरामजी को इशारा मै त सबै काम भइरहेको थियो…!अठारौं दिनको साँझमा महर्षिलाई पानी पिउन मन लाग्यो । …”पुत्री जल लेराउ त ,भोजन बल्ल आधा भयो…
श्रीरामजी भन्नुहुन्छ …”देवी ! ऋषिवर् को लागि जल लेराउ …!”
सीताजी भन्नुहुन्छ …” हाम्रो साथमा यति धेरै जल को व्यवस्था त छैन, २/४ घडा जल ले काम त चल्दैन होला प्रभु….”।
अगस्त्यजी भन्नुहुन्छ …” म पानी नै पिउने भएपनि ठिक तरिकाले पिउँछु देवी , दैनिक पिउँदिन, दुई /चार युगमा एकपटक पिउँछु “।
श्रीरामजी भन्नुहुन्छ ..”हे मुनिवर् ! तत्कालै यहाँको लागि यथेष्ट पानीको व्यवस्था हुन नसक्ला …एउटा काम गर्नुहोला ब्राम्हण देव .. तपाईं त महायोगी हुनुहुन्छ , कयौ बर्षसम्म भोक प्याष रोक्न सक्नुहुन्छ … एक युगमा भोजन र अर्को युगमा पानी पिउने गर्नुहुन्छ ।
त्यसैले द्वापर युग आउँदैछ… द्वापर युगमा म गोबर्धन पर्वतलाई उठाउँछु ,.. इन्द्रजी ले क्रोधित भएर जति जल बर्षा गराउँछन् त्यो सबै पिउँनुहोला….. ।”
अगस्त्यजी मुस्कुराउँदै भगवान श्रीराम र माता सीतालाई प्रणाम गरेर विदा हुनुभयो ….।
द्वापर युगमा …जब भगवान श्रीकृष्ण को अवतार भयो, वहाँको वाललिलाबाट मोहित नहुने कोहि भएनन् ।गोपिनी,ग्वाला सवैजना कन्हैयालालको लिलामा मन्त्रमुग्ध हुन्थे।कुनैपनि विपद् होस् या शुभकार्यमा मा पनि साक्षात् परब्रम्ह परमेश्वर श्रीकृष्णलाई हरपल स्मरण गर्थे आह्वान गर्थे। ब्रम्हाण्ड नायक भगवान तत्काल आफ्ना सखाहरूको मद्धत गर्नुहुन्थ्यो ।
यस्तैमा ब्रजधाममा पट्टल खडेरी पर्यो ,चारैतिर सुख्खा हुनगयो । हरियाली कहिँ कतै थिएन ,पानीको हाहाकार हुनथाल्यो । छिटै पानी पारेर पुन:हरियाली बनाउन ब्रजवासीले आफ्नो आशाको केन्द्रविन्दु आराध्य भगवान श्रीकृष्ण को सल्लाह अनुसार गोवर्धन पर्वतको पुजा गर्न लागे .. ।
उनिहरूको यस्तो कार्यबाट आफुलाई अपमान गरेको महसुस गर्दै मेघहरूका राजा ईन्द्रले ब्रजवासी तथा भगवान श्रीकृष्ण को सेखी झार्न अत्यन्त क्रोधित हुँदै मुसलधारे वर्षा गराउन थाले ।
अब पानीको प्रकोपले पुन: त्यहा हाहाकार मच्चिन लाग्यो । सबैजनाले फेरि भगवान श्रीकृष्णलाई मद्धतको लागि पुकार्न लागे । आफ्ना सखा तथा भक्तहरूको आर्तनाद सुनेर बालकृष्णले आफ्नो हातको कान्छी औँला ले गोवर्धन पर्वतलाई उठाउनु भयो र सबैजनालाई पानीको प्रकोपबाट बचाउनु भयो ।
यत्तिकैमा बालसखाहरूलाई लाग्यो कि भगवान ले त्यत्रो पर्वत उठाउँदा थाक्नुभयो होला र मद्धत हेतु भन्नलागे कि हे सखा ! यो पर्वतलाई उठाउन हामीपनि लौरो टेकाएर सहयोग गर्न चाहन्छौ भन्दै आ-आफ्ना लौरोले टेका लगाउन थाले ।
जब टेका लाग्यो कन्हैयालालले सखाहरूको अनुरोधमा आफ्नो हात झार्न के खोज्नुभएको थियो ,पर्वत बस्न लाग्यो । तब फेरि सखाहरूले भगवानलाई मद्दतको लागि पुकारे । पुन:श्रीकृष्ण ले पर्वतलाई उठाउनु भयो ।
यसरी उठाउदा गोवर्धन पर्वत केही कोल्टे पर्न गयो र त्यतैबाट पानीको बिशाल तिब्रधारा वहन लाग्यो । आफुले त्रेतायुगमा भगवान श्रीराम तथा माता जानकीको ब्राह्मण भोजन पश्चात् यथेष्ट पानी को अभावले पिउन नपाएको र भगवान श्रीरामको आज्ञा स्मरण गर्दै महर्षी अगस्त्यले मुनिले त्यही गोवर्धन पर्वतबाट झरेको बर्षाको धाराबाट लगातार ७ दिनसम्म पुरै पानी पिएर प्याष मेट्नुभयो ।
हाम्रो बुझाइ
हाम्रो सन्दर्भमा भन्नुपर्दा तिनै ब्रम्हनिष्ठ ,महातपस्वी महर्षि अगस्त्यजीको जस्तै अतृप्त क्षुधा भएका हाम्रो समाजमा यस्ता कलियुगी मनुवाहरूको कुनै कमि छैन ।
महर्षिको त्यो दिव्य भोक र प्याष जगत् कल्याणको लागि थियो भने अहिलेका भोकाहरूले आफ्नो निहित स्वार्थको लागि यो धर्तिमा उत्पन्न भएका जुनसुकै कुरालाई पनि कत्तिपनि संकोच नमानीकन खाइरहेका छन् निरन्तर ।
हाम्रो समाजमा कुनचाहिँ क्षेत्र छ ?यो प्रवृत्तिबाट अछुतो रहेको । जब राष्ट्रमा असहज र प्रतिकुल अवस्था सिर्जना हुन्छ तब त्यो भोक सकृय हुन थाल्दछ ।यस्ता कुनै कुरा छैनन् जो अघोर भोकको गाँस नभएको ।
धर्म, संस्कृति ,परम्परा, चल अचल सम्पत्ती के छैन विकराल भोकको चपेटामा नपरेको ।सेवा प्रदायकमा दरिएका संघसँस्था समेत पनि हुँडारहरूको त्यही प्रचण्ड भोकमा आहुती भइरहेका छन् ।
व्यक्तिमा चाडै धनी र समृद्धि हुने भोकले जुनसुकै वर्ग,समाज , जाति ,धर्म, राजनैतिक क्षेत्र ,जतापनि आफ्नो वर्चस्व राख्नै पर्ने तिव्र लालसाको भोकलाई अमुक स्वार्थी वैदेशिक अभिष्ट रुपि भोकको गाँस बनि सिकार भएको पत्तै पाँउदैनन् बत्तिमा पुतली झोसिए जस्तै भएर ।
खाँचो छ त हामी सबै नेपाल आमाका सन्तानहरूले.. वैदिक सनातन धर्मलाई अनुसरण गर्दै सारा जगतको कल्याण हेतु आफ्ना भोकहरूलाई उत्सर्ग गर्ने आराध्य, मर्यादा पुरुषोत्तम भगवान श्रीरामको शालीन ,सौम्य ,पितृभक्ति तथा कर्तव्य पालनाको अनुशरण गर्नु अनि आफू भित्र सल्बलाउने अहंकार रुपि रावणलाई वध गरेर भगवान श्रीराम रुपि सत्चरित्रलाई जन्म दिनु । यहि नै आजको समयले चाहेको माग पनि हो ।
रामचंद्र के भजन बिनु ,जो चह पद निर्बान ।
ग्यानवंत अपि सो नर ,पसु बिनु पुँछ समान ।।
लरिकाईँ जहँ जहँ फिरहि, तहँ तहँ संग उडाउँ।
जूठनि परइ अजिर महँ, सो उठाइ करि खाउँ ।।
कामिही नारी पिआरि जिमि ,लोभिहि प्रिय जिमि दाम ।
तिमि रघुनाथ निरंतर , प्रिय लागहु मोहि राम ।।…
हे राम….! हे राम…! ! हे राम…!!!
मर्यादा पुरुषोत्तम भगवान श्रीरामको पवित्र प्राकट्य दिवसको पावन अवसरमा सबै श्रद्धेय मनहरूमा हार्दिक मंगलमय शुभकामना…..समर्पण …
जय श्रीसीताराम…..
जय श्रीसद्गुरुदेव…