कुखुरा व्यवसायीलाई दैनिक २२ करोड नोक्सान, ४२ लाख चल्ला खाल्डोमा

चितवन,२७ चैत । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी ।

गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् । तर व्यवसायी भने महामारी रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का कारण उत्पन्न यो अवस्था टुलुटुलु हेरेर बस्नु बाहेकको अर्को विकल्प पाएका छैनन् ।

२ साताको लकडाउनले मात्र नभएर विगत २ वर्ष यता नै कुखुरापालन व्यवसायमा देखिएको उतारचढावका कारण धेरै कृषक विस्थापित पनि भइसकेका छन् ।

बैंक सारेर ऋण थपेका कृषक मात्र टिकेको व्यवसायीहरुले बताउँदै आएका छन् । तर यतिखेरको यो महामारीले त झन् कति व्यवसायी र यससँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएका किसान विस्थापित हुने हुन् भन्ने कुराको आँकलन अहिले नै गर्न गाह्रो भएको छ ।

चितवन कुखुरापालन व्यवसायको प्रमुख जिल्ला हो । कुखुरापालक कृषक एवं व्यवसायीहरुरुको छाता संस्था नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्र्रेल लकडाउन शुरु भएदेखि नै दैनिक कम्तीमा पनि २२ करोड ४० लाख ६० हजार रुपैयाँ यो व्यवसायमा घाटा भइरहेको बताउँछन् ।

पोख्रेलको भनाइमा चल्लामा ३ करोड ४५ लाख ७० हजार, ब्रोईलर तयारी कुखुरामा १५ करोड, अण्डामा ३ करोड ४५ लाख ९० हजार र अन्यमा ५० लाख दैनिक नोक्सान व्यहोर्नु परेको छ । ‘यो आजसम्मको अवस्था हो, यो लकडाउन अझै लम्बिँदै जाने हो भने यो नोक्सानीले कुन रुप लिने हो अहिले नै भन्न अझै गाह्रो छ’ उनी भन्छन् ।

पोख्रेल व्यवसायी टिक्नै मुस्किल हुने अवस्थामा पुगेको बताउँछन् । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष समेत रहेका पोख्रेल अनुसार देशभरमा ८ वटा लेयर्स् चल्ला उत्पादन गर्ने ह्याचरी छन् । तीनले सातामा २ लाख चल्ला उत्पादन गर्दछन् ।

प्रतिगोटा चल्लाको लागत मूल्य ९० रुपैयाँ पर्दछ । हाल ती खोरहरुमा १ लाख माउ छन् । अमेरीका, जर्मन, हल्याण्ड र फ्रान्सबाट ल्याइएका ती माउको प्रतिगोटा १ हजार रुपैयाँ पर्ने पोख्रेलले बताए।

ब्रोइलर चल्ला उत्पादन गर्ने ३२२ ह्याचरी छन् । ती ह्याचरीले सातामा ३५ लाख चल्ला उत्पादन गर्ने उनको भनाइ छ । नेपालसँगै थाईल्याण्ड, मलेसिया, फिलिपिन्स, अमेरीका, बेलायत र भातबाट ब्रोईलर प्यारेन्ट ल्याउने गरिन्छ । ती माउ पतिगोटा ६५० पर्दछ । ब्रोइलर चल्लाको लागत मूल्य ५७.४५ रुपैयाँ पर्ने पोख्रेल बताउँछन् ।

उनका अनुसार कोईलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने ह्याचरी १४ वटा छन् । जसले सातामा ४ लाख चल्ला उत्पादन गर्दै आएका छन् । कलर ब्रोइलर र कोईलर भारत र युरोपबाट ल्याइएका हुन् । कलर ब्रोईलरको माउ (प्यारेन्ट) १ हजार र कोईलर ३ सयमा ल्याइएका हुन् र तिनको लागत मूल्य ४० रुपैयाँ पर्ने गर्दछ । हाल देशभरका ह्याचरीमा १ लाख ४० हजार माउ रहेका छन् ।

नेपालमा कुखुरापान क्षेत्रमा १ खर्ब २० अर्ब लगानी भएको व्यवसायीहरु बताउँछन् । जसमध्ये ह्याचरीमा मात्र २० अर्ब भन्दा बढी लगानी भएको पोख्रेलको अनुमान छ ।

नेपाल अण्डा उत्पादक संघका केन्द्र्रीय अध्यक्ष शिवराम केसीले कृषक टिक्ने अवस्था घट्दै गएको बताए । धेरै कृषक यस अघिनै विस्थापित भइसकेको उनले बताए । अण्डा उत्पादन गर्ने कृषकले विगत २ वर्षयता निरन्तर घाटा व्यहोर्नु परेको छ ।

केसीका अनुसार अहिले कृषकले उत्पादन गरेको अण्डा भण्डारण गरेर राखिएको छ । बिकेको अण्डा प्रतिगोटा ७ रुपैयाँमा बिक्री भएको छ । लागत मूल्य मात्र प्रतिगोटा ११.५० रुपैयाँ भन्दाबढी पर्दछ । एउटै अण्डामा ४.५० रुपैयाँ नोक्सान छ । केही अण्डा बिक्री भएको भए पनि अन्य गोदाममै छ । गर्मी बढेकालेले अब त अण्डा नष्ट गर्नुको अर्को विकल्प पनि नभएको उनको भनाइ छ ।

देशभरमा २ हजार २०० भन्दाबढी कृषक प्रत्यक्ष रुपमा यस पेशामा संलग्न छन् । जसले १ लाख जनशक्तिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको केसीको भनाइ छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here