अस्पतालले बिरामी फर्काउन नपाउने, बीपी, त्रिवि शिक्षण र नेपालगञ्ज शिक्षणमा सघन कोरोना उपचार

काठमाडौं, १ बैशाख । सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, त्रिवि शिक्षण अस्पताल, काठमाडौं र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई विशिष्टिकृत तथा बहुविज्ञ सेवा सहितको कोभिड अस्पताल घोषणा गरेको छ ।

सोमबार कोभिड–१९ तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी गर्दै यी तीन अस्पताललाई कोरोनाभाइरसको उपचार गर्ने लेभल ३ अस्पताल घोषणा गरेको हो ।

निर्देशिकाले तीन तहका कोभिड अस्पताल निर्माणको खाका तयार गरेको छ र त्यसका लागि अस्पतालको सूची पनि तयार गरेको छ ।

हरेक प्रदेशमा कोरोना अस्पताल तोकिएको छ । लेभल २ मा १२ ओटा अस्पताल सूचीकृत गरिएका छन् । त्यसमा बागमतीमा शुक्रराज सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र भरतपुर अस्पताल छन् ।

त्यसैगरी, प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी र जनकपुर अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ मा लुम्बिनी अस्पताल, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत अस्पताल र सुदूरपश्चिममा सेती अस्पताल रहेका छन् ।

लेभल १ अस्पतालमध्ये बागमतीमा कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, काठमाण्डौं कलेज र भरतपुर अस्पतालस्थित अस्थायी कोरोना अस्पताल छन् । प्रदेश १ मा कोशी अस्पतालस्थित अस्थायी कोरोना अस्पताल, प्रदेश २ मा जानकी अस्पताल, गण्डकीमा बाग्लुङ अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित अस्थायी कोभिड अस्पताल छन् ।

त्यसैगरी, प्रदेश ५ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल (केन्द्रीय आयुर्वेद विद्यापिठ), लुम्बिनी अस्पतालस्थित अस्थायी कोरोना अस्पताल र भीम अस्पताल छन् भने कर्णालीमा सुर्खेत अस्पतालस्थित अस्थायी कोरोना अस्पताल र सुदूरपश्चिममा अछाम अस्पताल छन् ।

सरकारले मुुलुकभर १ सय ११ अस्पताललाई उपचारमा आएका विरामीलाई नफर्काउन र उपचार गर्न निर्देशन दिएको छ । कोभिड–१९ को पहिचान नभएसम्म ती अस्पतालले बिरामीलाई अन्त रिफर गर्न पाउने छैनन् ।

प्राथमिकदेखि विशिष्टिकृत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरुमा कोभिड–१९ का शंकास्पद, सम्भावित र पुष्टी भएका केसहरुको व्यवस्थापनलाई सरल र सहज बनाउने तथा कोरोनाभाइरसबाहेकका अन्य स्वास्थ्य सेवाहरुलाई निरन्तरता दिई जनस्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्ने उद्देश्यले अन्तरिम निर्देशिका ल्याइएको हो ।

पूरा निर्देशिका हेर्नुस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here