६ अर्बको पश्मिना बजार, नक्कलीले छवि बिग्रियो

काठमाडौं, ६ बैशाख । नेपाली पश्मिनाको बजार ६ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ ।

सन् २०१८ मा नेपाली पश्मिना निर्यात करीब रु. ३ अर्ब रहेको र नेपाल भ्रमण आउने पर्यटकले फर्किंदा रु. २ अर्ब ५० कराेड भन्दा बढीको पश्मिनाजन्य उत्पादन किनेर लैजाने गरेकाले कुल बजार करीब रु. ६ अर्बको रहेको नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापाले बताए ।

संघको १८ औं वार्षिक साधारण सभामा बोल्दै उनले भने, ‘राम्रोसँग प्रचारप्रसार गर्ने हो भने हाम्रा उत्पादनको बजार धेरै माथि जाने पक्का छ । हामीसँग भएको वस्तुको गुणस्तर र ट्रेडमार्क बारे स्वदेशी तथा विदेशी उपभोक्तासमक्ष व्यापक प्रचारप्रसार गर्नु जरुरी छ ।’

उनका अनुसार संघले विश्वका विभिन्न ४७ मुलुकहरुमा च्याङ्ग्रा पश्मिनाको ट्रेडमार्क दर्ता गरेको र केही देशमा नवीकरणको प्रक्रिया थालिएको छ ।

गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालबाट च्याङ्ग्रा पश्मिनाको चीनमा निर्यात र प्रवद्र्धन गर्न त्यहाँको सीआईएमसीएमटी र ओबीओआरसँग वार्षिक ५ लाख थान नेपाली च्याङ्ग्रा पश्मिना निर्यात गर्न सकिने गरी भएको सम्झौता कार्यान्वयन हुने हो भने पश्मिनाको बजार अझै बढ्ने थापाले बताए ।

सो सम्झौता कार्यान्वयनका लागि प्रयास भइरहेको छ ।

हालै मात्र पश्मिानाको परिभाषामा पनि सहमति भएको छ भने नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिन्ह दिने व्यवस्था पनि शुरु भएको छ ।

तर, नक्कली लेबल लगाएका पश्मिनाका उत्पादनहरुका कारण गुणस्तरीय उत्पादन मर्कामा परेको व्यवसायीहरु बताउँछन् । हेर्दा उस्तै देखिने तर भिस्कोस र पोलिस्टरजस्ता धागोबाट बनाइएका शल, स्कार्फ आदिमा १०० प्रतिशत पश्मिना, मेड इन नेपाल लेखेर उपभोक्ता झुक्याउने काम भएको उनीहरुको भनाइ छ ।

‘नक्कली लेबल प्रयोग गरी उत्पाद बिक्रीवितरण हुनु र उपभोक्ता ठगिनु अहिलेको ठूलो समस्या हो,’ थापाले भने ।
पश्मिनाको मुख्य खुद्रा बिक्री केन्द्र काठमाडौंको ठमेल क्षेत्रमा गत कार्तिकमा संघ, नेपाल चेम्बर अफ कमर्श, वाणिज्य विभाग र व्यापार तथा निकासी प्रवर्ध्दन केन्द्र र नेपाल गुणस्तर तथा नापतौल विभागको सहभागितामा नक्कली उत्पादनमा पश्मिनाको लेबल प्रयोग नगर्न र स्वच्छ व्यवसाय गर्न एक दिने अभियान पनि गरिएको थियो ।

शुरुका केही दिन त्यसको प्रभाव देखिए पनि हाल आएर अवस्था उस्तै बनेको छ जसले हाम्रो गुणस्तर र छवि नै विगारेको छ, थापाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here