मौरीबाट विष उत्पादन गर्ने लक्ष्य, प्रतिकिलो ३० लाखसम्म बेच्न सकिने

तनहुँ, १३ जेठ । तनहुँको व्यास नगरपालिका–१ गल्बुबेँसी निवासी ५४ वर्षीय रामनाथ मिश्र व्यावसायिकरुपमा मौरीपालन गरेर विदेश जाने युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् ।

गाउँघरमै बसेर पशुपालन, तरकारी खेती, माछापालन, मौरीपालनलगायत कार्य गरेर घर परिवारका साथमा बसेर राम्रै पैसा कमाउन सकिने बताए । शुरुमा वनबाट खोजेर ल्याएका दुई तीन मुढे घारबाट शुरु गरेका मिश्र अहिले व्यावसायिक रुपमै लागेका छन् ।

उनले विसं २०७४/७५ मा श्रीकृष्ण मौरी फार्म दर्ता गरी आधुनिक मौरी घार राखेर व्यावसायिकरुपमा मौरीपालन कार्य थालेका हुन् ।

कृषक मिश्रले सेराना जातका करिब ६० मौरीका घार राखेर वार्षिक न्यूनतम ५र६ लाख सजिलै कमाउन सकिने बताए ।

विसं २०७१ देखि मौरी व्यवसायमा लाग्नुभएका उनले भने, ‘यो ५ वर्षको अवधिमा ३ वर्ष लगानी र व्यवस्थापन गर्दैमा मुनाफा लिन नसके पनि २ वर्षको अवधिमा राम्रै आम्दानी गर्न सफल भएको छु ।’

उनले भने, ‘शुरुमा १७ वटासम्म मौरी घार राख्दा पनि मौरी बसेनन्, तर पनि कत्ति पनि बिचल्ली भइँ, निरन्तर लागिरहेँ ।’ एक रोपनी क्षेत्रफल जग्गामा तारबार गरी करिब ६ लाख खर्च गरेर व्यवस्थितरुपमा मौरीपालन गरिएको छ ।

मौरी पाल्नुभन्दा अघि ट्र्याक्टर, बस र इँटा उद्योगसमेत सञ्चालन गर्दै आए पनि अहिले ती सबै पेशा व्यवसाय छाडेर मौरीपालनमा रमाउन थालेको कृषक मिश्रले बताए।

मह प्रतिकिलो १ हजार २०० मा बिक्री गर्ने गरेको उनले बताए । मह विक्रीका लागि बोकेर अन्यत्र लैजानु नपर्ने बताउँदै उनले भने, ‘घरमै मह लिन मानिस आउने गर्छन्, मागअनुरुप पुर्याउन समेत सकिएको छैन ।’ घारसहितको मौरी प्रतिघार ८ हजारमा विक्री गर्ने गरेको र कसैले घार ल्याए मौरीको मात्रै ५ हजारमा विक्री गर्ने गरेको उनले बताए ।

स्थानीय तथा प्रदेश सरकारले तालीम तथा औजार प्रदान गरेमा मौरीबाट विष तथा कुट उत्पादन गर्ने अन्तिम लक्ष्य रहेको उनको भनाइ छ । मौरीबाट विष उत्पादन गर्न सके प्रतिकिलो ३० लाखसम्म विक्री गर्न सकिने उनले जानकारी दिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here