नेपाललाई मर्यादित महीनावारीको देश बनाइने

काठमाडौं, १४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाललाई विश्वसामू मर्यादित महीनावारीको देशको रूपमा स्थापित गराउने घोषणा गरेका गरेका छन् ।

छाउगोठ जस्तो सामाजिक कलंकको रूपमा चित्रण गरिएको नेपाललाई मर्यादित महीनावारीको देशको रूपमा स्थापित गराउन सरकारले आवश्यक ऐन, नियम, निर्देशिका र नियमावली निर्माणको कामलाई तीव्रता दिएको मन्त्री गुरुङले बताएका छन् ।

‘छाउगोठ जस्तो सामाजिक कलंकको रूपमा रहेका कूरीति र अन्धविश्वासको अन्त्यका लागि मर्यादित महीनावारीको मान्यता विश्वमाझ स्थापित गराउन लाग्नुपरेको हो,’ दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर र काठमाडौंमा आयोजित ‘लैंगिक हिसा र मर्यादित महीनावारी’ को भूमिका विषयक अन्तरराष्ट्रिय स्तरको भर्चुअल बैठकमा मन्त्री गुरुङले भने, ‘सरकारले मर्यादित महीनावारीसँगै जोडेर महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन आगामी आथिक वर्र्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा ‘महिला उद्यमी सहजीकरण केन्द्र’ स्थापना गर्ने योजना ल्याएको हो ।’

समाजमा विद्यमान छाउगोठ जस्ता सामाजिक विकृति र विसंगतिको अन्त्यका लागि प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नीतिगत, कानूनी र कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउने मन्त्री गुरुङको भनाइ छ ।

उनले कोरोना भाइरसका कारण जेठ १३, १४ र १५ गतेका लागि तय गरिएको ‘मर्यादित महीनावारीसम्बन्धी अन्तरराष्ट्रिय कार्यशाला गोष्ठी’ स्थगित गर्नुपरेको जानकारी दिए । समाजमा विद्यमान सबै खालको विभेद, विकृति र विसंगतिको अन्त्यका लागि सरकारले स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरेर सामाजिक अभियान सञ्चालन गर्ने पनि बताएका छन् ।

उक्त भर्चुअल बैठकमा बोल्दै संघीय संसदको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले सरकारले छाउपडी प्रथाजस्तो सामाजिक कलंकको अन्त्यका लागि मर्यादित महीनावारी जस्तो अवधारणा अघि सारेर सामाजिक कूरीति र अन्धविश्वास अन्त्यका लागि महत्वपूर्ण पहल थालेको भन्दै खुशी व्यक्त गरिन् ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महीनावारीलाई मर्यादित बनाउन सरकारले महिलाहरूकै अग्रसरतामा खुला बहसको थालनी गर्नुपर्ने आवश्यक्ता औंल्याए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले महीनावारीलाई मर्यादित बनाउन मन्त्रालयले प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । सो बैठकमा अभियन्ता राधा पौडेलले मर्यादित महीनावारीको अवधारणाबारे प्रकाश पारेकी थिईन् ।
a

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here