लकडाउनमा विद्युतीय कारोबार बढ्यो, एटिएममार्फत ५४ अर्ब २७ करोडको कारोबार

काठमाडौं, ५ असार । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा विद्युतीय कारोवार उल्लेख्य रुपमा बढाएको छ ।

लकडाउनको समयमा विद्युतीय भुक्तानी प्रणालीमार्फत ४२ खर्ब ४४ अर्ब ५१ करोड रुपैयाँको ३१ लाख रुपैयाँको विद्युतीय कारोबार भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत ११ गतेदेखि वैशाख र जेठ महिनामा भएको ३ करोड ७८ लाख १२ हजार ९ सय ९५ कारोबारबाट सो रकमको कारोबार भएको छ ।

लकडाउनको समयमा कारोबारको लागि धेरै प्रयोग गरिनेमा मोबाइल बैंकिङ्ग र एटिएम सबैभन्दा अगाडि रहेको छ।

लकडाउनमा मोबाइल बैंकिङ्ग मार्फत १ करोड २४ लाख पटकमा २७ अर्ब ३७ करोड रुपैयाँ कारोबार भएको छ। यो विद्युतिय माध्यमबाट भएको कारोबारमध्येमा सबैभन्दा धेरै पटक हो।

त्यसैगरी, एटिएम मार्फत पनि ६५ लाख ७८ हजार पटक ५४ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ।

विद्युतिय चेक क्लियरिङ, कनेक्ट आइपीएस, क्युआर कोड, इन्टरनेट बैंकिङ, आइपीएस, पिओएस, इ-कमर्श, वालेट र आरटिजिएस प्रणाली विद्युतिय कारोबारको लागि प्रयोग हुने माध्यमको क्रमशः तेस्रोदेखि एघारै स्थानमा पर्छन्।

एटीएम, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, आरटीजीएस, इसीसी, आइपीएस, कनेक्ट आइपीएस, इ–कमर्स, पिओएस, क्युआर कोड र वालेट विद्युतीय उपकरणबाट चैत ११ देखि बाँकी महिनामा १२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको हो । सो अवधिमा १ करोड ४ लाख तीन हजारभन्दा बढी विद्युतीय कारोबार भएको छ ।

वैशाखमा १५ खर्ब २ अर्ब ३८ करोड र जेठमा १४ खर्ब ९३ अर्ब ८६ करोडको विद्युतीय भुक्तानी प्रणालीमार्फत बैकिङ कारोबार भएको छ । वैशाखमा १ करोड ६२ लाख २७ हजार ७ सय ३० र जेठमा १ करोड ११ लाख ८२ हअजार १ सय ७४ वटा विद्युतीय भुक्तानीको कारोबार भएको छ ।

लकडाउनको सो अवधिमध्य आरटीजीएस प्रणालीमार्फत जेठमा ११ खर्ब ७७ अर्ब ६० करोड रुपैयाँ भुक्तानी भएको छ भने वैशाखमा १० खर्ब ६८ अर्ब ९१ करोड र चैतमा ७ खर्ब ७२ अर्ब ५८ करोड भुक्तान भएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

इसीसी प्रणालीमार्फत चैतमा ३ खर्ब ४५ अर्ब ३७ करोड, वैशाखमा २ खर्ब ६० अर्ब २५ करोड र जेठमा १ खर्ब ९१ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ ।

विद्युतीय कारोबारमा एटीएम र मोबाइल बैकिङ कारोबार बढी भएपनि रकमका हिसावले आरटीजीएस र इसीसीको कारोबार रकम बढी देखिएको छ ।

चैतमा विभिन्न बैंक तथा वित्तीय संस्थाको एटीएमबाट ९ अर्ब ४ करोड ६१ लाख रुपैयाँ निकालिएको छ भने वैशाखमा २३ अर्ब १५ करोड ७३ लाख रुपैयाँ र जेठमा २२ अर्ब ७ करोड रुपैयाँ निकालिएको छ ।

मोबाइल बैंकिङबाट चैतमा ५ अर्ब ३९ करोड, वैशाखमा ९ अर्ब ६९ करोड र जेठमा १२ अर्ब २७ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय माध्यमबाट गरिने कारोबारलाई थप प्रोत्साहन गर्न आग्रह गरिरहेको छ भने बैंकहरुले पनि विद्युतीय माध्यमबाट गरिने कारोबारलाई प्रोत्साहन गर्दै आएका छन्।

लकडाउनको समयमा घरमै थुनिएर रहेकाहरुले वस्तु तथा सामान गरिद गर्न तथा अन्य कारोबारको भुक्तानीको लागि समेत विद्युतिय माध्यम प्रयोग गर्ने गरेका छन्।

केहि समय अघिसम्म बैंक तथा वित्तीय संस्थाको सबै कार्यालय खुलेको थिएन। जसले गर्दा पनि विद्युतिय माध्यमबाट कारोबार गर्न बढेका हुन्।

नगद कारोबार गर्दा कोरोेना संक्रमणको जोखिम बढ्ने भएकाले अहिले बैंकहरुले पनि डिजिटल माध्यमबाट कारोबार गर्न आग्रह गरिरहेका छन्।

उनीहरुले डिजीटल बैंकिङ्ग सेवालाई प्रोत्साहन गर्न अनलाईन नगद प्रवाहको सीमा बढाएका छन् भने अन्तर बैंकिङ्ग शुल्क समेत हटाएका छन्।

त्यसैगरी, डिजिटल नगद कारोबार गर्ने खल्ति, वालेट, इ-सेवा लगायतका कम्पनीहरुले इन्टरनेटमार्फत हुने भुक्तानीलाई प्राथमिकता दिएका छन्। उनीहरुले भुक्तानी गर्दा क्यास ब्याकको सुविधा समेत दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here