खाद्य कम्पनीले फेरि बेच्न थाल्यो इन्डक्शन चुल्हो, मूल्य कति ?

काठमाडौं, ८ असार । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पुनः इन्डक्शन चुल्हो बेच्न शुरु गरेको छ । कम्पनीले गत आइतबारदेखि वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुल्हो र जडीबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा सानिटाइजर विक्रीमा राखेको हो ।

स्थानीय बजारबाटै किनेको भएपनि कम्पनीले खरिद गरेका चुल्हो भारतमा बनेका हुन् । यसअघि चीनबाट सहायता स्वरुप प्राप्त चुल्हो प्रति गोटा ४ हजार रुपैयाँमा बेचेको कम्पनीले अहिले पनि सोही मूल्यमा बेच्न शुरु गरिएको जनाएको छ ।

बन्दाबन्दीमा कम्पनीसँग भएको चिनियाँ इन्फ्रारेड चुल्हो सकिएपछि कम्पनीले वाल्ट्रा कम्पनीसँग समन्वय गरेर ४ हजार रुपैयाँमा चुल्हो विक्रीमा राखेको छ ।

बजारमूल्यभन्दा सस्तोमा चुल्हो विक्रीमा राखिएको कम्पनीले जनाएको छ । यसैगरी खाद्यले साल्ट ट्रेडिङ लिमिटेडसँग समन्वय गरी गहुँको पीठो र आयो नून, डिडिसीसँग समन्वय गरी शुद्ध घ्यू विक्री गर्दै आएको छ ।

कम्पनीसँग भएको रञ्जित स्टिम चामल, सोना चामल, जापानिज चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत विक्री वितरण हुँदै आएको छ ।

अनलाइन विक्री वितरणबाहेक काठमाडौं उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक गरी पाँच स्थानबाट सेवा प्रदान गर्दै आएको छ ।

चक्रपथ बाहिर होम डेलिभरीका लागि खाद्यले सो कम्पनीसँग व्यापार साझेदारी गरी सेवा प्रवाह गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार उक्त कम्पनीले गत आइतबारदेखि निःशुल्क (डेलिभरी चार्ज नलिई) रुपमा खाद्य पदार्थको डेलिभरी गर्दै आएको छ ।

‘बन्दाबन्दीमा चक्रपथभित्र डेलिभरी गरिएको थियो, चक्रपथ बाहिर डेलिभरीको शुरुआती चरण हुँदा खासै अनलाइन अडर आएको छैन्,’ उनले भने, ‘दिनमा पाँचदेखि १० स्थानबाट आएको अडर सस्तो डिलले डेलिभरी गर्दै आएको छ ।’ बन्दाबन्दीको समयमा निःशुल्क रुपमा डेलिभरी र कम्पनीले खाद्य पदार्थ खरिदमा १० प्रतिशत छुट दिइएको छ ।

उपभोक्ताले माग गरेको दुई दिनभित्रमा डेलिभरी गरिएको सस्तो डिलले जनाएको छ । नारायणस्थान, पेप्सीकोला, भक्तपुर, भैँसीपाटी, हात्तीवन लगायतका स्थानबाट आएको माग अनुसार हेलिभरी गरिएको सस्तो डिलका प्रमुख वाणिज्य आधिकृत (पीसीओ) अमीतेश राईले जानकारी दिए । उनका अनुसार खाद्यसँग सडक सुविधा भएका स्थानमा डेलिभरी गरिने गरी सम्झौता भएको छ ।

सस्तोडिलबाहेक खाद्यले हाम्रो किरानासँग पनि व्यवसायी साझेदारीको तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिए। उनका अनुसार उपभोक्तालाई सहज र सुलभ रुपमा सेवा प्रवाह गर्न माग अनुसारका विभिन्न खाद्य पदार्थहरु विस्तारै थप गर्दै लगिनेछ ।

शुरुआती चरणमा चामल, दाल, केराउ र कर्णालीको सिमी अनलाइनमार्फत बिक्री गरिएकामा विस्तारै विभिन्न कम्पनीसँगको समन्वयमा अन्य सामग्रीहरु थप गरिएको छ ।

प्रतिव्यक्ति २ हजारदेखि ५ हजारसम्मको खरीदमा १० प्रतिशत छुट दिँदै आएको छ । अनलाइनमार्फत अडर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा ई-सेवामार्फत ‘ई-पेमेन्ट’ गरेर सामान माग गर्नसकिने व्यवस्था गरेको छ ।

नेपालमा बिजुलीको उत्पादन बढ्दो क्रममा रहेको र उपभोक्तालाई बिजुली चुल्हो चलाउन पोख्त बनाउने उदेश्यले यसको प्रयोग बढाउने लक्ष्य लिईएको कम्पनीले जनाएको छ ।

लकडाउन सुरु भएकै बेला विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाना पकाउन ग्याको सट्टा बिजुलीकै प्रयोग गर्न अनुरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here