चैतमा मुद्रास्फीति साढे ४ प्रतिशत

काठमाडौं १५, वैशाख । चालू आर्थिक वर्षको चैत महिनामा मुद्रास्फीति (मूल्यवृद्धिदर) वृद्धिदर साढे ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ५.३ प्रतिशत थियो ।

०७४ चैतको तुलनामा मुद्रास्फीति दरमा सुधार देखिए पनि गत फागुनको तुलनामा सामान्य दरले बढेको छ । ०७५ फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.२ प्रतिशत रहेको थियो ।

आयात उच्च भए पनि पछिल्ला वर्षहरुमा बजारमा मूल्यवृद्धिदर नियन्त्रित अवस्थामा रहेको राष्ट्र बैंकले बताएको छ । ‘विभिन्न नीतिगत सुधारका कारणले यो वर्ष मुद्रास्फीति दर नियन्त्रित सीमा भित्रै छ,’ राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तमणी सिवाकोटीले बताए । राष्ट्र बैंकको ६४औं वार्षिकोत्सवको अवसरमा डेपुटी गभर्नर सिवाकोटीले यस्तो बताएका हुन ।

राष्ट्र बैंकका अनुसार गत चैतसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.८ प्रतिशत बढेको छ । सोही अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दर ५.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

क्षेत्रगत रुपमा विश्लेषण गर्दा सबैभन्दा धेरै मूल्यवृद्धि तराईमा रहेको देखिन्छ । गत फागुनसम्मको तथ्यांक अनुसार तराईमा ३.६ प्रतिशत छ । त्यसपछि काठमाडौं उपत्यका र पहाडमा समान दर ४.६ प्रतिशत छ । यस्तै, हिमालमा सबैभन्दा धेरै ५.५ प्रतिशत मूल्यवृद्धि रहेको देखिन्छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति हिमालमा ६ प्रतिशत, पहाडमा ५.६ प्रतिशत, काठमाडौं उपत्यकामा ४.५ प्रतिशत र तराईमा ६.३ प्रतिशत रहेको थियो ।

गत फागुनमा थोक मुद्रास्फीति ५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यो २.३ प्रतिशत थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, यातायात तथा उपकरण र पार्टस्लगायतका वस्तुको मूल्यमा भएको वृद्धिले थोक मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here