‘बुक बिल्डिङ’ मा आईपीओ, आवेदकलाई न्यूनतम नै ५० कित्ता

काठमाडौं, २९ साउन । अंकित मूल्यभन्दा बढी (प्रिमियम) मा साधारण सेयर निष्कासन (आईपीओ) गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ ।

धितोपत्र बोर्डले बुक बिल्डिङ विधि लागू गरेसँगै उक्त व्यवस्था कार्यान्वयनमा आएको हो ।

यो विधिमा आवेदन दिने र बाँडफाँड हुने धितोपत्रको न्यूनतम संख्या समेत ५० हुनेछ । संगठित संस्थाले अब बोल कबोलमार्फत आईपीओ जारी गर्ने सक्नेछन् ।

बोर्ड सञ्चालक समितिको साउन २२ गतेको निर्णयअनुसार बुधबारदेखि त्यस्तो निर्देशिका जारी गरिएको बोर्डले जनाएको छ ।

‘बुक बिल्डिङ’मा आईपीओ जारी गर्ने संगठित संस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको परामर्शमा धितोपत्रको अनुमानित मुल्य र मुल्यांकनकोआधार औचित्य खुलाइ विवरणपत्र तयार गरी योग्य लगानिकर्तासँग छलफल गर्नुपर्ने बोर्डले जनाएको छ ।

यो निर्देशिकासँगै वर्षौंदेखि सञ्चालनमा रहेका तथा ठूलो सिञ्चित कोष भएका पब्लिक कम्पनीहरुका लागि प्रिमियम मूल्य राखेर आईपीओ निष्कासन गर्ने बाटो खुला भएको छ । यसले त्यस्ता कम्पनीहरु दोस्रो बजारको पहुँचमा आउने अपेक्षा बोर्डले गरेको छ ।

बुक विल्डिङ विधिबाट सेयर बिक्री गर्नका लागि सेयरको अनुमानित मूल्य तथा मूल्यांकनका आधार र औचित्य खुलाइएको प्रारम्भिक विवरणपत्र तयार पारेर योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (रोड शो) सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम सेयर संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने भएको छ ।

एउटा संस्थागत लगानीकर्ताले कुल निष्कासित सेयरको २० प्रतिशत भन्दा बढीका लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाउने भएको छ ।

संस्थागत लगानीकर्ताका लागि बिक्री गर्दा कायम भएको कट अफ मूल्यका आधारमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिनेछ । जसमा संस्थागतमा कायम कट अफको १० प्रतिशत छुटमा बिक्री गरिनेछ ।

के हो बुक बिल्डिङ ?

बुक बिल्डिङ सार्वजनिक निष्कासन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो । यस विधिबाट आइपीओ जारी गर्दा बोलकबोल विधिबाट गरिन्छ ।

यस पद्धतिमा बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले सार्वजनिक निष्कासनका बेला विभिन्न सम्भाव्य लगानीकर्ताबाट बोलपत्र आह्वान गर्छन् । लगानीकर्ताले निष्कासनकर्ता कम्पनीले निर्धारण गरेको मूल्य सीमाभित्र रही आफ्नो बोलपत्र पेस गर्छन् ।

लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको वित्तीय विवरण, साख, कार्यसम्पादन मूल्यांकन आदिका आधारमा धितोपत्रको मूल्य तय गरी बोलपत्र पेस गर्दछन् ।

अख्तियार प्राप्त संस्थाहरुले आइपीओ ल्याउने कम्पनीको सेयरमा कतिसम्म मूल्य कबुल्ने भनी विशेषज्ञबाट अध्ययन गराई निर्णय गर्छन र प्रतिस्पर्धामा सहभागी हुन्छन् । उनीहरुले जुन माथिल्लो बिन्दुमा मूल्य कबुल्छन्, त्यही मूल्यमा आइपीओको मूल्य निधारण हुन्छ ।

बुक बिल्डिङ सार्वजनिक निष्काशन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो जसमा सार्वजनिक निष्काशनमा आवेदन दिन आग्रह नगरी वित्तीय संस्थाहरु, कर्पोरेसन वा उच्च नेटवर्थ भएका व्यक्तिहरु मार्फत आवेदन स्वीकार गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here