भृकुटीमण्डपका व्यावसायी भन्छन्ः सरकारले पैसामात्रै उठायो व्यवस्थापन गरेन

-जितेन्द्र खनाल

काठमाडौं, २३ बैशाख । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडि भद्रकाली पुलको छेवैमा निलो त्रिपालको छानोभएको लामो अव्यवस्थित टहराले सिंहदरबारलाई गिज्याइरहेको भान हुन्छ ।

समाजकल्याण परिषदको स्वामित्वमा रहेको जग्गामा बनेको भृकुटीमण्डप खुल्ला बजारको नामले चिनिने यो टहरा यति लामो र ठूलो छ कि हिँडेर वारपार गर्न नै करीब १५ मिनेट लाग्छ ।

भृकुटीमण्डपको प्रर्दशनी केन्द्र पछाडिको ३२ रोपनी जग्गामा फैलिएको यो टहरा फनपार्कको पछाडि हुँदै खसीबजार सम्म फैलिएको छ ।

सानाठूला गरी जम्मा १३ सय ३९ वटा पसलहरु टहराभित्र रहेका छन् । बाँसको भाँटा प्रयोग गरी बनाइएको टहरामा त्रिपालको छानो छ र छानो नउडाओस भनेर गाडीका पुराना टायरले चेपिएको छ ।

शहरलाई नै कुरुप देखाउने यो टहराले सिंहदरबारको शोभा मात्रै घटाएको छैन्, आगलागी वा अन्य विपत्ती आएमा धेरै ठूलो जनधनको क्षति हुने जोखिम पनि बढाएको छ ।

तीन महिनाको लागि भनी सारेको २७ वर्ष बित्यो

टहरामा त्रिपालको छानो हालेर भृकुटीमण्डपमा खुल्ला बजारको नाममा फेन्सी पसलहरु राखेर ब्यापार गर्न थालिएको २७ वर्ष बितिसकेको छ ।

चीनबाट आयात गरिएका विभिन्न खालका कपडाहरुको व्यापार गरिने यो बजारमा उपभोक्ताको चाप पनि ठूलो हुन्छ ।कपडाहरु तुलनात्मक रुपमा सस्तोमा पाइने भएकाले धेरैले किनमेलको लागि यो बजार रोज्ने गर्छन् ।

खासमा विक्रम सम्बत २०४९ मा खुल्ला मञ्चमा रहेका फुटपाथ व्यवसायीहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले तीन महिनाको लागि भनेर भृकुटीमण्डपमा टहरा बनाइ सारिएको थियो ।

तर, तीन महिनाको लागि मात्रै भनेर सुरु गरिएको भृकुटीमण्डपको खुल्ला बजार हालसम्म सञ्चालनमा रहेको छ ।

भृकुटीमण्डप व्यवस्थापन समितिका अध्यक्ष सञ्जय कुमार मल्लिक भन्छन्, ‘करिब २७ वर्ष बित्यो तर, व्यवस्थापन गरिने भनेको तिन महिना अहिलेसम्म आएन ।’

मल्लिकका अनुसार आगलागी वा अन्य कुनै प्रकारको विपत्तिहरु आएमा धेरै मात्रामा जनधनको क्षति हुने अवस्था रहेको छ ।

सरकारले आवश्यक सहयोग गरेमा भृकुटीमण्डपका पसल वा स्टलहरु व्यवस्थित हुने कुरा उनी बताउँछन् ।

‘सरकार व्यवस्थापन गर्छु त भन्छ तर, यसका लागि आवश्यक पुर्वाधारहरुको विकास गर्दैन,’ उनले भने ।

विभिन्न समयमा पक्की भवन बनाइ भृकुटीमण्डपको खुल्ला बजारलाई व्यवस्थापन गर्ने विषयमा चर्चा चल्ने गर्छ, हल्लाखल्ला हुन्छ अब त व्यवस्थापन हुने भयो भनेर व्यावसायीहरु खुसी हुन्छन् तर, केही समयपछि फेरी योजना त्यत्तिकै हराउँछ । यस्तो प्रक्रिया चलेको पनि धेरै वर्ष भैसक्यो ।

पैसामात्रै उठाइयो व्यवस्थापन गरिएन

बजार व्यवस्थापनको विषय हल्लामा मात्रै सीमित रहेको र यसका लागि आवश्क कुनैपनि पहलहरु नगरिएको कुरा व्यावसायीहरु बताउँछन् ।

भवन निर्माण गर्छु, व्यवस्थापन गर्छु भन्ने कुरा चर्चाको विषय मात्रै नबनाई तत्काल व्यवहारमा पनि लागु गरी छिटो व्यवस्थापन गर्नुपर्ने व्यावसायीहरुको माग छ ।

भृकुटीमण्डप खुल्ला बजारको भाडा प्रति स्क्वायर फिट मासिक १४ रुपैंया ६० पैसा उठाइन्छ । अन्य संरचनाहरुको समेत गरी समाजकल्याण परिषदले वार्षिक झण्डै ९ करोड रुपैयाँ उठाउने गरेको छ ।

सरकारले चासो नदेखाउँदा व्यवस्थापनमा ढिलो भएको गुनासो बजार व्यवस्थापन समितिको रहेको छ ।

पहिले कर्मचारी व्यवस्थापनको लागि वार्षिक २ करोड दिने रुपैयाँ दिने गरेकोमा यस आर्थिक वर्षबाट २५ लाख रुपैयाँ मात्रै दिन थालेको पनि अध्यक्ष मल्लिकले बताएका छन् ।

भृकुटीमण्डपबाट भाडाबापत उठ्ने रकम कम्तिमा ५ वर्षसम्म व्यवस्थापन समितिलाई नै जम्मा गरी प्रयोग गर्न दिएमा भृकुटीमण्डपको व्यवस्थापन समितिले नै गर्न सक्ने दाबी उनको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here