वर्ल्डलिङ्कको २५ वर्ष पुरा, ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउने योजना

काठमाडौं, ३० भदौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स लिमिटेडलेले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको छ । सन् १९९५ मा ईमेल सेवासँगै सुरु भएको वर्ल्डलिङ्कको यात्राले मंगलबार २५ औं बसन्त पार गरेको हो ।

एफटीटीएच प्रविधि सहित वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ । नेपालमा प्रयोग हुने कूल इन्टरनेट ब्याण्डविथ मध्ये ४३ प्रतिशत ब्याण्डविथ वर्ल्डलिङ्कबाट नै खपत भइरहेको छ ।

कम्पनीका अध्यक्ष दिलिप अग्रवालले हरेक तीन जना प्रयोगकर्तामा एक जना प्रयोगकर्ता वर्ल्डलिङ्कको हुनु आफ्ना लागि गर्वको विषय भएको बताए ।

कम्पनीले ३५ सयभन्दा बढी दक्ष कर्मचारीलाई रोजगारी समेत प्रदान गरिरहेको छ ।
वर्ल्डलिङ्क अहिले समग्र दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भइसकेको छ ।

वर्ल्डलिङ्क नेपाल सरकारलाई धेरै भ्याट तिर्ने दशौं तथा सूचना प्रविधि क्षेत्रबाट आयकरमा पहिलो ठूलो कम्पनीको हो । हाल चार लाख घरायसीका साथै दश हजार कर्पोरेट तथा सरकारी ग्राहक छन् ।

सन् २०१४ मा सय करोड लगानी गर्ने योजनाका साथ सुरु गरिएको एफटीटीएच पूर्वाधारले कम्पनीलाई नयाँ उचाईमा पुर्‍याएको हो । सन् २०१७ मा ग्रामीण दूरसञ्चार विकास परियोजना हात पारेको कम्पनीले २०१९ मा उक्त आयोजना सफलतापूर्वक सम्पन्न गरी कर्णाली जस्तो विकट क्षेत्रमा समेत आफ्नो इन्टरनेट सेवा दिँदै आएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०५४ सालमा अनुमतिपत्र जारी भएसँगै वर्ल्डलिङ्कसँग प्राधिकरणको सम्बन्ध जोडिएको स्मरण गरे । ‘कर्णालीलाई विकासबाट सधैं पछाडि पारियो भन्ने आवाजलाई सम्बोधन गर्न लागि हामीले टेण्डर आह्वान गरेका थियौं,’ उनले भने, ‘त्यो परियोजना वर्ल्डलिङ्कले प्राप्त गरेर सफलतापूर्वक जिम्मेवारी पुरा गरेको छ । अन्य ठाउँबाट प्रयोगकर्ताको गुनासो आए पनि कर्णालीका प्रयोगकर्ताको गुनासो सुनिएको छैन ।’

फ्री वाईफाई, सेफ्टी नेट, इन्टरनेट सेवामा पहिलो विदेशी लगानी भित्र्याएर वर्ल्डलिङ्कले छुट्टै पहिचान बनाएको भन्दै अध्यक्ष खनालले वर्ल्डलिङ्कको प्रसंसा गरे ।
आफू वर्ल्डलिङ्कको १७ औं ग्राहक बनेको सम्झिँदै वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले आफू नै नेपालमा ईमेल सेवा प्रयोग गर्ने पहिलो वकिल समेत भएको बताए ।

‘वर्ल्डलिङ्क नै मेरो लागि पहिलो र अन्तिम इन्टरनेट सेवा प्रदायकको रुपमा रहेको छ,’ उनले भने, ‘हामी जस्ता मध्यम वर्गीयदेखि सबै निम्न मध्यम वर्गमा समेत इन्टरनेट सेवाको पहुँच पुर्‍याउँदै जान सकोस्, शुभकामना दिन चाहन्छु ।’

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले वर्ल्डलिङ्ककै कारण कर्णाली जस्तो ग्रामीण क्षेत्रका जनताले विदेशमा रहेका आफ्ना आफन्तसँग जोडिने मौका पाएको बताए । ‘वर्ल्डलिङ्कले गर्दा नै यहाँका जता धेरै खुशी महसुस गरिरहेका छन्,’ उनले भने ।

गुल्मीका सञ्जीव कक्षपतिले मोबाइल नेटवर्क नभएको स्थानमा समेत वर्ल्डलिङ्कले इन्टरनेट सेवाको पहुँच उपलब्ध गराएकोमा खुशी व्यक्त गरे । भिडियो कन्फ्रेन्सबाट जोडिएका उनले भने, ‘हामी यस्तो विकट स्थानमा वायरलेस माध्यमबाट भए पनि इन्टरनेटको सेवा पाइरहेका छौं,’ उनले भने, ‘हाम्रो जस्तो ठाउँहरुमा समेत कम्पनीले चाँडै फाइबर नेटवर्क समेत विस्तार गर्न सकोस्, शुभकामना छ ।’

सम्बन्धितः

एनआईसी एशिया बैंक र वर्ल्डलिङ्कबीच सहकार्यको सम्झौता

धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक,क-कसले तिरे बढी कर ?

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट

इन्टरनेट प्रयोगकर्ता २ करोड १५ लाख नाघे, टेलिकमको हिस्सा ४९ प्रतिशत

लकडाउनमा मनोरञ्जनको लागि इन्टरनेटको प्रयोग धेरै, युट्यूब प्रयोगकर्ता ७५.६ प्रतिशत वृद्धि

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here