रक्षा रेग्मी
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियरिङ ! धेरैलाई यो नाम नौलो त छ नै, निरस पनि । इलेक्ट्रोनिक्स सुन्नासाथ झट्ट जटिल प्रकारका विद्युतीय सामग्रीको झल्को आउँछ । अझ त्यसमा कम्युनिकेशन इञ्जिनियरिङ । सेमिकण्डक्टर र डायोडजस्ता आममानिसलाई अनौठो लाग्ने सामग्रीसँग खेल्न र सञ्चार डिजाइन गर्न सिकाउने विधा ।
यस्ता विधामा लागेका मानिसको ध्यान र विचार पनि यान्त्रिक हुँदो हो, उठ्दावस्दा पनि मस्तिष्कमा इलेक्ट्रोनिक सर्किटको ढाँचा बन्दो हो । अनि कविता र गीतसँग त उनीहरुको साइनो पनि हुन्न होला !
होइन रहेछ, कर्म यान्त्रिक भए पनि मन भने यान्त्रिक हुन मान्दो रहेनछ । मन त निस्फिक्रीसँग उड्दो रहेछ अनि आफुले चाहेको कुरामा टक्क अडिने रहेछ । त्यसैले होला , इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियर आनन्दराज खनालको मन गीत कवितामा लहसिएको । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक उनले लेखेका गीतले अवार्ड समेत दिलाइसकेका छन् ।
अत्याधुनिक प्रविधिको क्षेत्रमा दशकौं विताइसकेको र राष्ट्रिय तथा अन्तरराष्ट्रिय मन्चमा सूूचना प्रविधिका बारेमा घण्टौं गम्भीर बहस गर्न सक्ने व्यक्तिबाट प्रेममा चुर्लुम्म डुबेको भावसहितका गीत सृजना हुँदा उनकै दौंतरीहरुले समेत आश्चर्यले जिब्रो टोकेका छन् । काम पो प्रविधि हो, मन कहाँ प्राविधिक हुन्छ र ? नत्र त संसारका आधा मानिसहरु रोबोट भएर घुमिरहेका हुने थिए ।
अचानक जागेको रुची
खनालले जीवनमा गीत वा कविता लेख्न सक्छुभन्ने कल्पना पनि गरेका थिएनन् । नत गीत लेखनमा रुची नै थियो । करीब चार वर्ष प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा पुगेका बेला उनको आँखा साहित्यकार कृष्णहरि बरालको पुस्तकमा पुग्यो । त्यो पुस्तकमा बरालले गीत लेख्ने तरिका सिकाएका थिए । कौतुहलताबश उनले त्यो पुस्तक किनेर घरमा ल्याए र अध्ययन थाले ।
नयाँ पुराना गीत सुन्ने गुन्गुनाउने त गर्थें तर ती गीतको संरचना, लय आदिमा कहिल्यै ध्यान गएको थिएन । तर बरालको किताब पढे पछि एक्कासी म पनि गीत लेख्न सक्छु भन्ने लाग्यो र दुई चार हरफ कोरिहालें, खनालले आफ्नो उत्साह अभिव्यक्त गरे ।
आफूले लेखेका रचनाउनले चिनजानका एकसंगीतकारलाई देखाए । अनि जन्मियो –‘तिमीलाई मन पराएँ’ । तर उनको त्यो ‘मेडन’ प्रयासले रेकर्ड भएर बजारमा पुगेपछि नसोचेको प्रतिक्रिया पायो । लौ राम्रो गीत लेखिछस् भन्ने धेरै भए । श्रोताले गीत मन पराए । मलाई लाग्यो मेरा शब्दलाई संगीतमय बनाउन त सकिंदो रैछ । त्यसपछी म फर्किन, अघि बढींरहें, उनले हौसिंदै सुनाए ।
त्यसअघि लामो समयदेखी विभिन्न पत्रपत्रिकामा खनालका लेख रचना छापिइरहन्थे ।साहित्य सिर्जना कुनै विशेष विषयको अध्ययन गरेका वा क्षेत्रमा लागेका मानिसहरुको मात्र होइन, विचारलाई नयाँ स्वरुपमा व्यक्त गर्न सक्ने जोकोहीले पनि नयाँ सिर्जना गर्न सक्छन् ।
जो सँग शब्दसँग खेल्न सक्ने खुबी छ र त्यसलाई आकार दिने चाहना छ, साहित्य उसका लागिउर्वर भुमी हो, खनाल भन्छन् । उनका अनुसार साहित्य सिर्जनाको एउटा असाध्यै राम्रो पक्ष छ – यसका लागि अन्य प्राविधिक विषयमा जस्तो लेख्नका लागि लामो अनुसन्धान तथा धेरै साधनस्रोतको आवश्यकता पर्दैन । बस्, इच्छाशक्ति हुनुपर्यो भावनाले त बाटो खोजीहाल्छ नि !
प्रविधि र साहित्य
जुन विधामा आफनो दक्षता छ त्यसको असर साहित्यमा देखिनसक्छ वा त्यसलाई बेवास्ता गरेर र अन्य विषयवस्तुलाई अंगालेर पनि साहित्य सृजना गर्न सकिन्छ । विज्ञान र प्रविधिको ज्ञान भएका मानिसहरुले साइन्स फिक्सनजस्ता विधामा कलम चलाउन सक्छन् ।
तर, खनालको विचारमा भने प्रविधिसँग साहित्यको कुनै साइनो छैन । ‘यद्यपि मेरो अर्को रुचीको क्षेत्र अध्यात्ममा भने प्रविधि प्रतिविम्बित हुन्छ,’ साहित्य रचनासँगै अध्यात्ममा समेत डुबेका उनले भने ।
उनी अरुबाट सजिलै प्रभावित हुने मान्छे होइनन् । आफूलाई एकदम अप्ठ्यारो मान्छे ठान्छन् उनी । आफ्नै विधा वा साहित्य, राजनीती र अध्यात्ममाधेरै कम मान्छेले मात्र उनलाई प्रभावित पारेका छन् ।
तर बरालको पुस्तकले भने उनलाई गीत लेखनमा मार्गनिर्देशन राम्रैसँग गर्यो । ‘मैले वहाँलाई प्रत्यक्ष नभेटे पनी उहाँले मलाई गीत लेखनमा मार्गदर्शन गर्नुभएको छ । त्यसैले मैले उहाँलाई गीतलेखनको गुरु मानेको छु,’ उनी भन्छन् । तर उनी कसैको गीत वा कविता लेखनबाट प्रभावित भएर सिर्जनामा लागेका भने होइनन् ।
खासमा उनी लेखनमा खगेन्द्र संग्रौलाको लेखन शैलीका फ्यान हुन् । संग्रौलाको शब्द चयन र भाषिक प्रस्तुतिले उनलाई बेसरी आकर्षित गरेको हो । संग्रौलाले शब्द चयन कसरी गर्नुहुन्छ भन्ने जान्न म उहाँलाई पढ्थें । त्यस्तै छोटो मिठो वाक्यका लागी नारायण वाग्लेको पुस्तक तथा लेख मलाई मन पथ्र्यो ।
उनलाई मनपर्ने अन्य लेखकमा अन्तरमनको यात्रा, सककका लेखक जगदीश घिमिरे हुन् । दर्शनलाई साहित्यमा मिसाउने घिमिरेको शैली प्रभावकारी मान्छन् उनी । ‘तर वहाँहरुको लेखनबाट प्रभावित भएको चैं भन्न मिल्दैन । म आफ्नो क्षेत्रप्रविधिमा पनी अरुको केही नहेरी लेख्छु, उनले भने ।
तर पाँच दशकको अवधिमा उनले पढेका अनेकौं विधा र शैलीले उनको अनुभव र विचारलाई प्रभावित गरेको हुनसक्ने भने उनी स्वीकार्छन् । ५० बर्ष मैले यती धेरै पढें, अनुभव गरें किअव म अरुबाट प्रभावित हुनै पर्छ जस्तो लाग्दैन ।
मलाई लाग्छ साहित्यमा कसैबाट प्रभाबित हुन जरुरी छैन, खनाल भन्छन् । स्वतन्त्र भएर आफ्नै तरिकाले लेख्छु। प्राज्ञिक लेख्ने भए प्रभावित हुनु पर्ने पनी हुन्थ्यो होला । पेशागत विषयसँग सम्बन्धित विभिन्न नीतिनियम तथा प्रतिवेदनहरु पनि उनको अध्ययन प्राथमिकतामा पर्छन् । अध्यात्ममा उनको रुची बढ्दै गएकाले उनीसँग अनेकौं अध्यात्मिक पुस्तकहरुको संग्रह छ ।
सृजनाको साइत
उनका लागि सृजनामाव्यस्त छु भन्नु अहंकार मात्र हो ।सृजना गर्न निश्चित समय वा स्थान नचाहिने उनको धारणा छ । साहित्य त जस्तो अवस्थामा जहिले पनि रचना गर्न सकिन्छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय सभा सम्मेलन, बैठकमा सहभागी हुँदा, साथीहरु तथा नयाँ मान्छे भेट्दा मनमा अनेकौ विचार खेल्छ । इन्द्रियहरुले पन अनेकौं सूचना लिन्छन् । अनिनयाँ रचना फुर्छ ।
‘मेरो त सृजना फुर्ने नै बाहिर हिंड्दाहो,’ उनी सुनाउँछन् ‘मेरा जति पनि गीत छन् मर्निङ वाकबाट फर्केपछि नुहाउनुअघि सृजना भएका हुन्,।’म नियमित मर्निङ वाक जान्छु, त्यहाँ अनेकौं मान्छे भेट्छु, उनीहरुका कुरा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सुन्छु।सुनेका कुरालाई मनन गरेर प्लट बनाउँदै लेख्छुु । कहीलेकाँहीभने उनी राती १२ बजे उठेर पनि गीत लेख्ने गरेका छन् ।
कृष्ण मेरी प्रेमिका
प्रेमिल सृजनाका सर्जक उनी आफूभने भौतिक प्रेममा विश्वास राख्दैनन् । त्यसो त प्रेम विनाको जीवन चल्छ भन्न उनको मनले दिंदैन । ‘ममा प्रेम छैन वा प्रेमबाट प्रभावित छैन भनेर कसरी भन्न सक्छु र ?प्रेम छ तर म व्यक्तिको प्रेममा विश्वास राख्दिन ।’
अध्यात्ममा चुर्लुम्म डुवेका उनले प्रेम गर्छन् तर भगवानलाई । अध्यात्ममा ध्यान गर्दा कुनै कुरालाई प्रतिक बनाइन्छ जुन भगवानको सवैभन्दा नजिकको हुन्छ । उनले कृष्णलाई प्रतिक बनाउने गरेका छन् ।
कृष्णको नाम लिएपछि डर लाग्दैन, शक्ति आउँछ, भक्तिश्रद्धाको भाव आउँछ । ‘मैले लौकिक गीत लेख्छु त्यसमा कृष्णको नाम राख्दा मजा आउँदैन । त्यसैले गीतमा मैले कृष्णलाई प्रेमिका बनाउँछु । मैले तिमीलाई मन पराएँभनेर भजन नै लेखेको थिएँ । पछि गीत बन्यो,’ उनी सुनाउँछन् ।
लौकिक जीवनमा कसैलाई मन पराएर उसमा हराउन सम्भव हुदैन । आफुुलाई त्यसमा विलय गर्ने भन्ने कुरे सम्भव छैन । मानवीय प्रेममा विश्वास छैन उनको । मान्छेले गर्ने प्रेममा स्वार्थ हुन्छ । प्रेमको मेरो आफ्नै परिभाषा छ । स्वार्थ विनाको प्रेम छैन । भगवानले मानिसलाई गर्ने प्रेम बाहे सबै स्वार्थ हुुन्छ । नित्य निरन्तर अनन्त हुनपर्छ प्रेम – खनाल यसो भन्छन् ।
गीतियात्राको लय
दुई सयभन्दा बढी गीत सृजना गरेका उनको गीतलेखनको पहिलो खुड्किलो ‘तिमीलाई मन पराएँ’ हो । आशीष अविरलले संगीत दिएको सो गीत सफल भएसँगै उनको गीति यात्राले लय समातेको हो । गीति सृजना यात्रा शुरु भएको दोस्रो वर्षमै उनको सिर्जना ‘मनै लोभ्याउने’का लागि गायिका बानिका प्रधानले विन्दबासिनी म्युजिक अवार्डमा उत्कृष्ट गायिकाको अवार्ड हात पारिन् ।
त्यस्तै आशीष अविरलले ‘संझनामा नआउ तिमी’का लागि उत्कृष्ट आधुनिक संगीतकारको अवार्ड थापे भने सोही गीतका लागि गत वर्ष नै गायिका संगीता राना प्रधानले रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड जितिन् ।
मलाई पुरस्कारले आफैमाथी विश्वास भयो । मैले लेखेका गीत राम्रो स्तरीय नै रैछ भन्ने लाग्यो । अव बनाउँदा यो स्तर कायम गरेर बनाउन पर्छ भन्ने अनुभव भयो, उनी भन्छन् ।
मेरी आमा (संगीत र आवाज चण्डीप्रसाद काफ्ले), कस्तो रहेछ तिम्रो मन (संगीत तथा आवाज मनोज सिवाकोटी) र तिमीविनाको लामो बाटो (संगीत दीपक जंगम, आवाज निशा देसार र अजर जंगम) लगायतका गीत छिट्टै आउँदैछन् ।
तनहुँको दमौलीमा जन्मिएका खनालले इलेक्ट्रोनिक्स कम्युनिकेशन इञ्जिनियरिङमा स्नातकसँगै अप्टिकल इञ्जिनियरिङमा स्नातकोत्तर र एलएलबीसमेत गरेका छन् । सन् २०१४ मा अन्तरराष्ट्रिय दूरसञ्चार संघको विकास व्युरोअन्तर्गतको अध्ययन समूहको उपाध्यक्ष चुनिएका उनी सन् २०१४ मा सो पदमा पुनः छानिएका छन् । गत वर्ष संयुक्त राष्ट्र संघका महासचिवले उनलाई इन्टरनेट गभर्नेन्स फोरमको बहुसरोकारवाला समूहको सदस्यमा नियुक्त गरेका छन् ।