पाँच महिनामा सेयर कारोबारबाट ३ अर्ब १० करोड कर संकलन

काठमाडौं, १५ पुस । पछिल्लो समय सेयर कारोबार फस्टाएपछि कारोबारबाट आउने कर संकलन वृद्धि भएको छ ।

चालू आर्थिक वर्ष शुरू भए यता सेयर बजार निरन्तर उकालो लागेसँगै अघिल्लो वर्षको तुलनामा करिब १३ गुणा बढी कर संकलन भएको हो ।

सेयर कारोबार बढ्दा लगानीकर्ताले मात्र नभए ब्रोकर कम्पनी, नेप्से, सिडिएस एन्ड क्लियरिङ धितोपत्र बोर्ड तथा सरकारलाई पनि फाइदा भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सरकारले चालू आवको पाँच महिनाको अवधिमा सेयर कारोबारबाट ३ अर्ब १० करोड ४४ लाख रुपैयाँ कर संकलन गरेको छ ।

यसमध्ये करिब २ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ पुँजीगत लाभकरबाट र ३६ करोड ७७ लाख रुपैयाँ टीडीएसबाट संकलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १२६५ प्रतिशत बढी हो ।

यो सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर (सीजीटी) र अग्रिम कर कट्टी (टीडीएस) मार्फत संकलन भएको हो ।

गत आवको मंरिसम्ममा जम्मा २४ करोड ५१ लाख कर संकलन भएको थियो । जसमा पूँजीगत लाभकरबापत २० करोड ३२ लाख र अग्रिम कर कट्टीबापत ४ करोड १९ लाख कर संकलन भएको थियो ।

चालू आवको ५ महिनामा पूँजीगत लाभकर बापत २ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ र अग्रिम करकट्टी बापत ३६ करोड ७७ लाख रुपैयाँ कर संकलन भएको छ ।

चालू आवको ५ महिनामा सेयर कारोबारबाट सबैभन्दा धेरै कर मंसिरमा उठेको छ । यस महिनामा पूँजीगत लाभकर बापत १ अर्ब ३१ करोड र अग्रिम करकट्टी बापत १५ करोड गरी कुल १ अर्ब ४६ करोड रुपैयाँ कर संकलन भएको छ ।

यसैगरी, साउनमा २६ करोड ४५ लाख पूँजीगत लाभकर र ३ करोड ९२ लाख अग्रिम करकट्टी गरी ३० करोड ३७ लाख, भदौमा ३५ करोड ७२ लाख पूँजीगत लाभकर र ५ करोड ४९ लाख अग्रिम करकट्टी गरी ४१ करोड २१ लाख कर संकलन भएको छ ।

यस्तै, असोजमा ४९ करोड ७६ लाख पूँजीगत लाभकर र ७ करोड २६ लाख अग्रिम करकट्टी गरी ५७ करोड २ लाख, कात्तिकमा ३० करोड ७४ लाख पूँजीगत लाभकर र ५ करोड १० लाख अग्रिम करकट्टी गरी ३५ करोड ८४ लाख राजश्व उठेको छ ।

नेपालमा ५० वटा ब्रोकर कम्पनी रहेका छन् । यसवर्ष दैनिक ९ अर्ब रूपैयाँको हाराहारीमा समेत सेयर कारोबार भएको थियो । सेयर किन्ने र बेच्ने दुवै पक्षबाट ब्रोकर कम्पनीले कुल कारोबार रकममा ०.४ देखि ०.६ प्रतिशतसम्म कमिसन लिने गरेका छन् ।

तर पुस १२ गते देखि कमिसन रकमा ३३ प्रतिशत घटेको छ । बोर्डले शुक्रवार अधिकतम ०.४० प्रतिशत हुने गरी कमिशन घटाएको हो । यस अघि ब्रोकर कमिशन अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो । पहिलेदेखि नै सेयर ब्रोकरहरूले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए।

अब लगानीकर्ताहरुले रू.५० हजारसम्मको शेयर कारोबारमा शून्य दशमलव ४० प्रतिशत, रू. ५० हजारभन्दा माथि रू. ५ लाखसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, रू. ५ लाखभन्दा माथि रू. २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत, रू. २० लाखभन्दा माथि रू. १ करोडसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र रू. १ करोडभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत ब्रोकर कमिशन मात्र तिर्नुपर्ने छ ।

शून्य दशमलव २७ प्रतिशतदेखि शून्य दशमलव ४० प्रतिशत ब्रोकर कमिशन निर्धारण गरेको हो । यसअघि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार गर्दा शून्य दशमलव ४० प्रतिशतदेखि शून्य दशमलव ६० प्रतिशतसम्म कमिसन तिर्नुपर्ने व्यवस्था थियो ।

लगानीकर्ताहरुले रू. ५० हजारसम्मको शेयर खरीदविक्री गर्दा शून्य दशमलव ६० प्रतिशत र रू. ५० हजारदेखि रू. ५ लाख सम्मको कारोबारमा शून्य दशमलव ५५ प्रतिशत कमिसन तिर्नुपर्दथ्यो ।

त्यस्तै रू. ५ लाखदेखि रू. २० लाखासम्मको कारोबारमा शून्य दशमलव ५० प्रतिशत, रू. २० लाखदेखि रू. १ करोडसम्मको कारोबारमा शून्य दशमलव ४५ प्रतिशत र सोभन्दा माथीको कारोबारमा शून्य दशमलव ४० प्रतिशत कमिशन तिर्नुपर्ने व्यवस्था थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here