‘सगरमाथा चढेर एचआईभी संक्रमितलाई कमजोर ठान्ने संसारलाई जितेँ’

-जितेन्द्र खनाल

काठमाडौं, १३ जेठ । अझै पनि हाम्रो समाजमा एचआईभी संक्रमितहरु खुलेर मलाई एड्स लागेको छ मैले नियमित औषधि खाइरहेको छु भन्न सक्दैनन् ।

एचआईभी संक्रमित भएकाे थाहा भएमा समाजले उनीहरुलाई तिरस्कार गर्छ । यस्तोमा धेरै संक्रमितका लागि बाँकी जीवन तिरस्कार सहँदै मृत्यु कुर्ने भन्दा अरु विकल्प हुँदैन ।

समाजमा एड्स रोगको यस्तो विकराल चित्रण गरिएको छ कि कतिपय मानिसहरु एचआईभी संक्रमितसँग बोल्न समेत डराउँछन् ।

मानिसले जीवनमा पहिचान बनाउने भनेकै चुनौतीपूर्ण काम गरेर हो । तर, उपचारै नहुने घातक रोग लागेपछि जोखिम मोल्ने संभावना त्यसै क्षीण हुँदै जाँदो रहेछ । यस्ता मानिसलाई कुनै साहसीक काम गर्न कसैले पनि सहयोग र हौसला दिँदैनन् ।

र, पनि केही यस्ता मानिस हुन्छन् जो जीवनसँग कहिल्यै हार खाँदैनन् । हाम्रै वरिपरि केहि यस्ता मानिसहरु छन् जसले आफ्नो जीवनको माया मारेरै भए पनि आफ्नो र आउने पुस्तालाई प्रेरणा दिने काम गरिरहेका छन् ।

तीनै मध्येका एक हुन्, गोपाल श्रेष्ठ । विगत २५ वर्षदेखि एचआईभीसँग जुधिरहेका ५६ वर्षीय यी पूर्व फुटबल खेलाडीले आफू जीवनमा हार्न नजन्मेको प्रमाणित गरेका छन् ।

एचआईभीकाे औषधि सेवन गरिरहेका उनी गत बुधवार विहान सवा ८ बजे विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न सफल भए ।

उनको यो चढाइ केवल एक आरोहण मात्र थिएन, त्यो आफैमा एक कीर्तिमान थियो । उनी सगरमाथाको चुचुरोमा पुग्ने विश्वकै पहिलो एचआईभी संक्रमित बनेका छन् । उनी अघि एचआईभी संक्रमित कोही पनि सगरमाथामा पुगेको थिएनन् ।

कुनै जमानामा नेपाली राष्ट्रिय फुटबल खेलाडी समेत रहेका उनी लागुऔषधको कारण एचआईभी संक्रमित भएका थिए ।

सगरमाथाको सफल आरोहण पछि शुक्रबार बेलुका सवा ६ बजे काठमाडौं अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका गोपालको अनुहारमा खुसी छचल्किरहेको थियो ।

आफैले आफैलाई प्रमाणित गर्ने यस्तो अवसर कमैले पाउने र पाउँदा पनि विरलैले सफलता हात पार्ने भएकाले उनको खुसीले ठूलै अर्थ बोकेको थियो ।

एचआईभी संक्रमित व्यक्ति कमजोर हुँदैनन्

सगरमाथाको सफल आरोहण गरेर एचआईभी संक्रमितहरुलाई तिरस्कार गर्ने र कमजोर ठान्ने संसारलाई जितेको श्रेष्ठ बताउँछन् ।

‘यो गोपाल श्रेष्ठको मात्रै सफलता होईन, यो सफलता एचआईभी संक्रमित व्यक्तिलाई कमजोर सम्झने व्यक्ति र सिंगो संसारको लागि हो’ उनले भने, ‘हामी कमजोर छैनौं अवसर पाए जे पनि गर्न सक्छौं, मात्र माया र सहयोग खाँचो छ ।’

एचआईभी संक्रमित भएका व्यक्तिहरु कमजोर हुन्छन्, उनीहरु केही गर्न सक्दैनन् भन्ने धारणाको अन्त्य गर्नकै लागि उनले सगरमाथा आरोहण गर्ने अठोट लिएका थिए ।

‘मेरो लागि मात्रै भएको भए मैले थुप्रै ससाना हिमालको आरोहण गरिसकेको थिएँ । म त्यसैमा सन्तुष्ट भएर बस्न पनि सक्थें, तर यो सारा नेपाली र विश्वभरका एचआईभी संक्रमित व्यक्तिहरुको सपना थियो । उनीहरु सबैको आशिर्वाद र प्रेरणाले नै मलाई सफल बनाएको हो,’ श्रेष्ठले भने ।

यो सफलतामा सबै नेपालीहरुलाई सामेल हुन उनले आग्रह समेत गरेका छन् ।

त्रसित थियो परिवार

आफ्ना मान्छेहरुले सफलता प्राप्त गर्दा को व्यक्ति खुसी नहोला र त्यसमा पनि विश्व रेकर्ड राख्दा त झन सबै खुसी नै हुने भए ।

गोपाल श्रेष्ठकी श्रीमती मिना कुमारी श्रेष्ठ हुन् । उनीहरुको विवाह भएको २८ वर्ष पुरा भइसकेको छ । मिनाका अनुसार कुलतमा फसेका कारण श्रेष्ठ एचआईभी संक्रमित भएका थिए ।

‘सुरुमा हामीलाई पनि कमजोर हुनुभयो, धेरै समय बाँच्नु हुन्न जस्तो लागेको थियो तर, जब उहाँको मनमा एउटा अठोट र प्रतिज्ञा आयो त्यसपछि हाम्रो विचार पनि परिवर्तन भयो’, उनले भनिन् ।

गोपालको मनमा सन् २००९ मा हिमाल आरोहण सोच आयो । त्यसपछि उनले घरका सदस्यलाई यो कुरा सुनाए । त्यतिखेर सबै डराएको मिना बताउँछिन् । विस्तारै उनले केहि कम उचाइ भएका हिमालहरु सफतापूर्वक आरोहण गरे त्यसपछि परिवारको डर हरायो ।

यता, गोपाललाई हिमाल आरोहणको चस्का लागिसकेको थियो, उनमा सर्वोच्च शिखर सगरमा नै आरोहण गर्ने आँट पलायो । मिना भन्छिन्, उहाँले साना साना हिमालहरु आरोहण गर्दा हामी खुसी नै थियौं, तर जब सन् २०१३ मा सगरमाथा आरोहण गर्ने कुरा गर्नुभयो हामी सबैको होस उड्यो ।’

अहिले श्रीमानको सफलताले आफू अत्यन्त खुसी भएको र सबै कुराहरु सपना जस्तै लागेको उनी बताउँछिन् ।

‘अहिले त सबै कुरा सपना जस्तै लागेको छ, पहिले म धेरै डराएको थिए तर, आज गौरवान्वित महशुस गरेको छु’ उनी भन्छिन् ‘उहाँ सगरमाथा आरोहणको लागि दोस्रो पटक गएपछि मैले सफलताको कामना गर्दै हरेक बिहान पुजा र साँझमा आरती गरिरहेकी छु ।’

घरपरिवारमा पनि सबै जना अत्यन्त खुसी रहेको उनले बताइन् । ‘आमा बुबा पनि खुसी हुनुहुन्छ, छोरी पनि खुसी छ हाम्रो लागि यो एउटा अत्यन्त गौरवको कुरा हो । हाम्रो लागि यो क्षण अविश्मरणिय रहने छ ।’

असफलताबाट कहिल्यै हार मानेनन्

श्रेष्ठको सगरमाथा आरोहणको यो यात्रालाई ‘स्टेप अफ क्याम्पेनः सेकेण्ड फेज’ नाम दिएको थियो । पोखरामा जन्मिएका श्रेष्ठ वि.स. २०७२ मा पनि सगरमाथा आरोहणको लागि गएका थिए ।

उनी सगरमाथाको आधार शिविरमा भएको बेलामै विनाशकारी भुकम्प गएको थियो । भुकम्प पछि आएको हिमपहिरोमा परी गम्भिर घाईते भएका श्रेष्ठलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

त्यस समयमा आएको हिम पहिरोमा परी उनीसँगै आरोहणमा गएका डेढ दर्जन आरोहीको ज्यान समेत गएको थियो ।

‘स्टेप अफ क्याम्पेनः सेकेण्ड फेज’ का संयोजक पदमराज पहारीले श्रेष्ठको सफलताले एचआईभी संक्रमित व्यक्तिहरुको परिभाषा नै परिवर्तन भएको बताए ।

‘श्रेष्ठको सफलताले एचआईभी संक्रमितहरु कमजोर हुन्छन्, केहि गर्न सक्दैनन्, छिटो मर्छन् भन्ने परिभाषालाई नै परिवर्तन गरिदिएको छ’, उनले भने ‘यो विश्व समुदायलाई नै एउटा राम्रो उदाहरण हो अवसर दिनुपर्छ सबैले केहि न केहि राम्रो काम गर्न सक्छन् ।’

नेपालमा ३१ हजार एचआईभी संक्रमित

राष्ट्रिय एचआईभी तथा एड्स महासंघका कोषाध्यक्ष खगेन्द्र खड्काका अनुसार हाल नेपालमा ३१ हजार २० जना पहिचान खुलेका एचआईभी संक्रमित व्यक्तिहरु रहेका छन् ।

यो सफल आरोहणको कारण यी सम्पुर्ण संक्रमित व्यक्तिहरुलाई हेर्ने नजरमा पनि फरक पर्ने उनी बताउँछन् ।

‘यो सफलताले सिङ्गो समाजको नजरलाई नै परिवर्तन गर्ने छ, र उनीहरुलाई पनि मौका दिनुपर्छ भन्ने भावनाको विकास हुन्छ’, उनले भने ।

सफलताले सबैको मनमा एउटा नयाँ उर्जाको विकास गरेको बताउँदै उनी भन्छन्, ‘साच्चै यो काम सोचे जस्तो सजिलो छैन्, यो सफल आरोहणले एक प्रकारको नयाँ उर्जाको विकास गरेको छ ।’

‘स्टेप अफ क्याम्पेनः सेकेण्ड फेज’की सचिव जमुना शर्माले यो सफलताले राम्रो अनुभव प्रदान गरेको र आगामी दिनमा अझै राम्रो र समाजलाई सन्देश दिने कामहरु गर्दै जाने बताइन् ।

‘यो सफलताले हामीलाई हौसला प्राप्त भएको छ, हाम्रो यात्रा यहि समाप्त हुदैन्’, उनले भनिन्, ‘हामीमा झन धेरै जिम्मेवारी थपिएको छ, अबको दिनमा हामी बालबालिकालाई जनचेतना फैलाउने, शिक्षा दिने जस्ता कामहरु गर्ने गर्नेछौं ।’

अभियानका संयोजक पहारीका अनुसार विश्व रेकर्डको प्रमाणपत्र प्राप्त गर्नको लागि अभियानले तयारी थालिसकेको छ । यसको लागि एसिया र विश्व एचआइभी महासंघको सिफारिस चाहिने छ ।

सगरमाथा चढ्ने कार्यमा सरकारले कुनै सहयोग नगरेपनि विश्व रेर्कडका लागि सिफारिस दिन भने सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको सहयोग प्राप्त भएमा प्रमाणपत्र प्राप्त गर्न सहज हुने उनको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here