सरकारले लक्ष्य अनुसार आन्तरिक ऋण उठाउन सकेन, सोमबारसम्म ४२ अर्ब ८८ करोडमात्र

काठमाडौं, १४ जेठ । चालू आर्थिक वर्ष सकिन डेढ महिनामात्र बाँकी रहदा सरकारले ८६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाए पनि लक्ष्य भन्दा कम मात्र उठाउन सकेको छ ।

वैशाख ३० देखि ऋण उठाउन सुरु गरेपनि सोमबारसम्म ४२ अर्ब ८८ करोड रुपैयाँ मात्र उठेको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले चासो नदिँदा लक्ष्य अनुसार आन्तरिक ऋण उठन नसकेको राष्ट्र बैंकको भनाइ छ ।

मंगलबारसम्म उठाइएको सबै ऋण जोड्दा कुल आन्तरिक ऋण करिब साढे ५३ अर्ब पुग्ने राष्ट्र बैंकले जनाएको छ । यो वर्ष सरकारले १ खर्ब ७२ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको थियो । त्यसको ५० प्रतिशत अहिले उठाउन चाहेको थियो ।

आर्थिक वर्षका १० महिनासम्म ऋण उठाइएन र ११ महिनामा एकै पटक ५० प्रतिशत ऋण उठाइएको हो । सरकारले बजेटमै व्यवस्था गरेको रकम खर्च गर्न नसक्दा सुरुका महिनामा ऋण लिनुपर्ने आवश्यकता नपरेको बताइएको छ । गत वर्ष सरकारले त्रैमासिक रुपमा आन्तरिक ऋण उठाउदै आएको थियो ।

सरकारले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा आन्तरिक ऋण नलिएको बताइएको छ । सर्वेक्षण ८ महिनाको तथ्यांकमा आधारित छ । त्यतिबेलासम्म सरकारले ऋण उठाएको थिएन । यसकारण सर्वेक्षणमा ऋण नउठाएको देखिएको हो ।

आव २०७३/७४ मा सरकारले कुल गार्हस्थ उत्पादन (जीडीपी) को ३.३ प्रतिशत आन्तरिक ऋण उठाएको थियो भने गत आवमा त्यस भन्दा बढी जीडीपीको ४.८ प्रतिशत ऋण लिएको थियो ।

चालु आवको पहिलो आठ महिनामा सरकारको चालु खर्च ७५.५ प्रतिशत पुगेको छ भने विकास खर्च र वित्तीय व्यवस्थाको अवस्था दयनीय देखिन्छ । विकास खर्च र वित्तीय व्यवस्थाअन्तर्गत सरकारले १६.७ र ७.८ प्रतिशत मात्र खर्च गरेको छ ।

गत आवमा सरकारकोे चालु खर्च ७६.२ प्रतिशत, विकास खर्च १७.८ प्रतिशत र वित्तीय व्यवस्था ६ प्रतिशत थियो । तर, सरकारले तिर्ने आन्तरिक तथा वाह्य ऋाणको साँवा भुक्तानी भने गत आवको तुलनामा ३१ प्रतिशतले घटेको छ ।

गत वर्ष सरकारले ५५ अर्ब ६७ करोड रुपैयाँ ऋणको सावाँ भुक्तानी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here