मोटरसाईकल दुर्घटनाबाट बच्नको लागि यी कुरामा ध्यान दिनुहोस्

File

काठमाडौं । आजको व्यस्त जीवनशैलीमा मोटरबाइक एक अपरिहार्य साधन बनेको छ । शहर होस् वा गाँउ, हरेक क्षेत्रमा बाइकको क्रेज बढेको बढ्यै छ । युवा वर्ग बाइकमा धेरै आकर्षित हुने गरेका छन् । तर, जुन मात्रामा बाइकको संख्या बढिरहेको छ, त्यहि मात्रामा दुर्घटनाहरु पनि बढ्दै गएको हामी देख्न सक्छौं ।

मानिसहरु कार वा अन्य कुनै प्रकारका गाडिहरु चलाउनको लागि ड्राइभिङ सेण्टरहरुमा गएर नै सिक्ने गर्दछन् तर बाइकको लागि धेरै मानिसहरु यस्तो गर्दैनन् । धेरै मानिसहरु दाई, बुवा, काका तथा साथीहरुसंग मागेर अलिअलि जानेको अवस्थामा नै बाईक लिएर बाहिर जाने गर्दछन् । बाइक सिक्ने बेलामा खुला चौरमा अभ्यास गर्ने मानिसहरु रोडमा आएपछि त्यहाँको नियम थाहा नभएर नै दुर्घटनाबाट ज्यान जाने गर्दछ । त्यसैले बाइक चलाउँदा हेलचेक्र्याईंबाट सदैव बच्नु पर्छ ।

यदि तपाईं पनि बाईकको सौखिन हुनुहुन्छ, दैनिक रुपमा बाईक चलाउनुहुनछ वा बाईक सिक्दै हुनुहुन्छ भने तल उल्लेख भएका टिप्सहरुमा ध्यान दिनुस् । त्यसले तपाईंलाई सम्भावित जोखिमबाट जोगाउने छ ।

१. हेलमेट लगाउनुस्

हाम्रो शरीरको सबैभन्दा संवेदनशील अंगमध्ये टाउको एक हो । हालसम्म भएका दुर्घटनालाई हेर्दा टाउकोमा लागेको चोटको कारण धेरै मानिसहरुको मृत्यु हुने गरेको छ । त्यसैले टाउकोलाई बचाउन अत्यन्त आवश्यक हुन्छ । त्यसकारण यात्रा लामो होस् वा छोटो, हरेक अवसरमा राम्रो गुणस्तरको हेलमेट लगाउनु पर्छ ।

सरकारले हालैमात्र बाईक चालकले मात्र नभएर पछाडी बस्नेले पनि हेलमेट लगाउन पर्ने नियम ल्याउने निर्णय गरेको छ । यस विषयमा जस्तोसुकै टिकाटिप्पणी भए तापनि नागरिकको सुरक्षाका हिसावले यो राम्रो हो ।

२. रोडको बायाँ भागबाट बाईक चलाउनुस्

बाइक चलाउने क्रममा कहिलेकाही बाटो खाली पनि भएको हुन्छ । यस्तो अबस्थामा बाईक जहाँ मन लाग्यो त्यही साइडमा लानु हुँदैन् । सन्तुलित गतिमा एक साईडबाट मात्र चलाउनु पर्छ ।

सडकको जुनसुकै साईड खाली भएपनि बाईक सधैं बायाँ तर्फ नै चलाउने गर्नुपर्दछ । अचानक अर्को लेनमा जाँदा वा गलत साइडमा चलाउँदा कतिपय अवस्थामा पछाडिबाट आएको गाडि वा बाईकले ठक्कर दिन सक्छ ।

३. बायाँ तर्फबाट ओभरटेक नगर्नुस्

ओभरटेक गर्नको लागि कहिल्यै पनि बायाँ साईडको प्रयोग गर्नु हुँदैन् । यस्तो अवस्थामा तपाई जुन सवारी साधनलाई ओभरटेक गर्न लाग्नुभएको छ, त्यो साधन पनि आफ्नो तर्फ मोड्नको लागि स्वतन्त्र हुन्छ र तपाई दुर्घटनामा पर्न सक्नुहुन्छ । सार्वजनिक सवारीले मानिस चढाउन र ओह्राल्न पनि बायाँ साइड नै च्याप्नु पर्ने भएकाले पनि त्यो साइडमा खतरा बढी हुन्छ ।

४. प्रतिस्पर्धा नगर्नुस्

कतिपय अवस्थामा हामी हाम्रो अगाडि भएका कार वा बाईकलाई देखेर हामी उत्साहित हुन्छौं र उनीहरुसंग प्रतिस्पर्धा गर्ने गर्छौं । यस्तो गर्दा कतिपय अवस्थामा हामी दुर्घटनामा पर्न सक्छौं ।

५. साइड इन्डिकेटर

आफु जुन साईडमा जान लागेको हो त्यो साईडको इन्डिकेटर बाल्नुपर्दछ । यस्तो गर्दा तपाईं भन्दा पछाडी रहेको व्यक्तिलाई पनि तपाईं कुन साईडतर्फ जान वा मोडिन लाग्नु भएको हो भन्ने कुरा थाहा हुन्छ र उ पनि सर्तक हुन्छ । यसले तपाईं र अरुलाई पनि दुर्घटनाबाट जोगाउँछ ।

६. तनाव भएको अवस्थामा बाईक नचलाउनुस्

यदि तपाईं कुनै प्रकारको चिन्ता वा तनावमा हुनुहुन्छ भने यस्तो अवस्थामा कुनैपनि प्रकारको सवारी साधन चलाउनु हँुदैन् । यस्तो अवस्थामा आफ्नो ध्यान पूर्णरुपमा बाईकमा दिन सकिंदैन र दुर्घटना हुन सक्छ ।

७. फोनको प्रयोग नगर्नुस्

ड्राईभिङ गर्दा मोवाइल फोनको प्रयोग गर्नु ट्राफिक नियमको विपरित हो । बाईक चलाईरहेको अवस्थामा मोवाईलमा कुरा गरेमा ध्यान पूर्णरुपमा बाईकमा हुँदैन् र विभिन्न प्रकारका दुर्घटना हुन सक्छन् ।

यदि कुरा गर्न आवश्यक नै छ भने बाईक रोकेर कुरा गर्नुपर्दछ । केही समय कुरा गर्नको लागि आफ्नो ज्यान जोखिममा पार्नु हुँदैन् ।

८. दुवै ब्रेक सँगै लगाउनुस्

बाईक चलाइरहेको अवस्थामा दुवै ब्रेक अर्थात हातको ब्रेक र खुट्टाको ब्रेक सँगै लगाउनु राम्रो हुन्छ । यस्तो गर्दा बाईक स्लाईड हुँदैन् ।

९. नियमको पालना गर्नुस्

प्रायः धेरै दुर्घटनाहरु नियम उल्लंघन गरेको कारण हुने गरेको पाईन्छ । बाईक चलाएको अवस्थामा ट्राफिक नियमहरुको पालना मात्रै गर्दा पनि धेरै प्रकारको घटनाहरुबाट बँच्न सकिन्छ ।

१०. विस्तारै चलाउनुस्

सडकमा तपाईंको वा तपाईं चढेको बाईकको स्पिड ट्राफिक नियम भन्दा धेरै जान दिनु हुँदैन् । विस्तारै चलाउनु पनि सडक दुर्घटनाबाट बच्ने एक राम्रो उपाय हो । धेरै दुर्घटनाहरु स्पिड धेरै भएको कारण हुने गर्दछन ।

११. बाईकको सर्भिसिङ गरिरहनुपर्छ

चलाउनु भन्दा पहिले बाईकको सबै पाट्सहरु ठिक अवस्थामा छन् वा छैनन् भन्ने कुराको जाँच गर्दु पर्छ । लामो यात्रामा जानु पूर्व एक पटक मेकानिकसँग बाईकको अवस्थाबारे जानकारी लिनु राम्रो हुन्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here