धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताले के कुरामा ध्यान दिने ?

काठमाडौं । पछिल्लो समय नेपाली शेयर बजारमा लागानी गर्नेको संख्या बढ्दै गएको छ । शेयर बजार बुझेर मात्रै नभई अरुको लहलहैमा लागेर शेयरमा लगानी गर्नेहरुको संख्या उल्लेख्य हुँदा सही समयमा सही निर्णय गर्न नसक्ने लगानीकर्ताको संख्या पनि उतिकै रहेको छ ।

बजार घट्नेवितिकै आत्तिहाल्ने र बजार बढ्नेवित्तीकै उत्साहित हुने प्रवृत्ति रहेको पाइन्छ ।

बजार बुलिस टेन्ड्रतर्फ उन्मुख हुदा प्रायः लगानीकर्ता अझै नाफा कमाइन्छ भनेर छिर्ने गर्छन् । जुन स्वाभाविक पनि हो । तर आफूले लगानी गरेको शेयरमा राम्रो प्रतिफल प्राप्त गरेको अवस्थामा बजारबाट नाफा बुक गर्दै निस्कनु नै बुद्धिमानी हुन्छ ।

थोरै बढी कमाउने लोभमा परेर नाफा भइसकेको कुनै सेयर च्यापेर राख्नु वा सो शेयरप्रतिको आशक्ति राख्नु गलत निर्णय हुन सक्छ ।

हरेक लगानीकर्ताहरूले आफ्नो लगानीबाट निश्चित प्रतिफलको अपेक्षा गरेको हुन्छन् । तर प्रतिफल र जोखिम एक अर्कासँग अन्तरसम्वन्धित हुने भएकोले लगानीकर्ताले विशेष सर्तकता अपनाउनु पर्दछ ।

धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु

-धितोपत्रको दोस्रो बजार सूचनासँग संवेदनशील बजार हो । यसले लगानी कार्यमा चुनौति थपेको हुन्छ । प्रतिफल र जोखिम लगानीसँग अन्तरसम्बन्धित विषय भएकोले लगानीकर्ताले विवेकशिल लगानी निणर्य गरी जोखिमलाई न्यूनीकरण गर्न विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।

-धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भएर मात्र लगानीको निर्णय लिने ।

-धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको बास्तविक बस्तुस्थिति बुझेर आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्ने । साथै आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याकंन समेत गर्ने ।

-नेप्सेमा सूचीकृत धितोपत्रमा लगानी गर्दा सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्नसक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद शेयरको घोषणा, व्यबस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु (Earning Per Share, Dividend Per Share, Price/Earning Ratio, Net Worth Per Share), पूँजीकोष अनुपात, निस्क्रिय कर्जा अनुपात आदी), धितोपत्रको मूल्य प्रबृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) जस्ता महत्वपूर्ण कुराहरुको अध्ययन गर्ने ।

यस्ता सूचना तथा गतिविधिहरु निरन्तररुपमा नेप्सेको वेबसाईट(www.nepalstock.com.np)सम्बन्धित कम्पनीको वेबसाइट तथा विभिन्न आर्थिक पत्रपत्रिकाहरुमा प्रकाशित हुने गरेको छ । साथै कम्पनीसंग सम्बन्धित उद्योग/ क्षेत्रको समेत अवस्थाको अध्ययन गर्ने ।

-धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनैतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहने ।

-प्राथमिक बजारलाई प्रविधिमैत्री, व्यवस्थित र पारदर्शी बनाउनको लागि धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धी कार्य संचालन निर्देशिका, २०७४लागू गरिएकोमा सि–आस्वा रजिष्ट्रशन नं लिने सम्बन्धमा जानकारी राख्ने ।

-धितोपत्र कारोवार गर्दा रकमको लेनदेन गर्दा बैंकमार्फत मात्र गर्ने । धितोपत्र करोवार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा धितोपत्र व्यवसायी नियमावली हेरी जानकारी राख्ने ।

-लगानी विविधिकरणले (Investment Diversification) लगानीमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाउ पु-याउने हुँदा लगानी विविधिकरणमा ध्यान दिने ।

-दीर्घकालीन रुपमा गरिने लगानीले जोखिमको संभावनालाई न्युन गराउने कुरालाई ध्यान दिने ।

-लगानीकर्ताको अधिकार तथा जिम्मेवारी सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐन नियमहरुको साथै सेबोनले गरेका व्यवस्थाहरुबारे जानकारी राख्ने ।

धितोपत्र सम्बन्धी ऐन नियमहरु र अन्य व्यवस्थाको जानकारी बोर्डको वेबसाइट (www.sebon.gov.np) तथा बोर्डको सम्बन्धित प्रकाशनमार्फत समेत हेर्न सकिने ।

-धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा बोर्डबाट इजाजत प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायीमार्फतमात्र गर्ने ।

-पूँजीबजार सम्बन्धी नीति, नियम तथा निर्देशनहरुले धितोपत्रको मूल्यमा असर पार्ने भएकाले सुसूचित निर्णयका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्ने ।

-धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी, सिडिएससि, नेप्से वा बोर्डमा सम्पर्क राख्ने ।

साधारण शेयरमा गरिने लगानीलाई किन बढी जोखिमपूर्ण मानिन्छ ?

शेयर कारोबार गर्न टीएमएस खोल्ने प्रक्रिया पूरा भईसकेपछि इमेल नआए के गर्ने ?

शेयर बजारमा लगानी गर्दा के-के कुरामा ध्यान दिने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here